२०७३ भाद्र ८ गते

एकआपसमा गाभिँदै भिबोर र सोसाइटी, सबैभन्दा धेरै पुँजी भएको विकास बैंक बन्दै

mergerभिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंकले मर्जरका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्विकृत पाएका छन् । गत पुस ९ गते मर्जरमा जाने निर्णय गरेका २ वटै विकास बैंकलाई राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको हो । बुधबार राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको पत्र दुवै बैंकले बुझेका छन् । भदौ अन्तिमबाट भिवोर सोसाईटी डेभलपमेन्ट बैंकको नामबाट एकीकृत कारोबार थालिने बैंकको चुक्तापुँजी १ अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । यससँगै भिबोर सोसाइटी डेभलपमेन्ट बैंक चुक्ता पूँजीका आधारमा धेरै पूँजी भएको पहिलो विकास बैंक बन्नेछ । 

अब बन्ने नयाँ बैंकको अध्यक्षमा हाल सोसाइटी डेभलपमेन्ट बैंकका अध्यक्ष रहेका शुशीलराज पराजुली रहने छन् भने प्रमुख कार्यकारी अधिकृतमा हाल भिबोर विकास बैंकका प्रमुख कार्यकारी झलकप्रसाद खनालले जिम्मेवारी सम्हाल्ने छन् ।

राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रिय स्तरको विकास बैंकले २०७४ असार मसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्नेछ । यसका लागि नपुगेको ६८ करोड ५० लाख रुपैयाँ पुँजी वृद्धि गर्न अर्को कुनै विकास बैंक तथा वित्त कम्पनीसँग मर्ज गर्न समेत दुबै बैंकले यस अघि नै सहमति गरिसकेका छन् ।