नेपाल धितोपत्र बोर्डले नगद लाभांस तथा शेयर नपरेको रकम फिर्ता भुक्तानी बैंक खाता मार्फत गर्ने सम्बन्धमा सम्पूर्ण शेयर रजिष्ट्रार, निष्काशन तथा विक्री प्रबन्धक तथा सुचिकृत कम्पनीहरुलाई कडा निर्देशन जारी गरेको छ । गत आर्थिक वर्षको लाभांस घोषणा गर्ने क्रम सुरु भएसंगै बोर्डले सबै सुचिकृत कम्पनीहरुलाई नगद लाभांस अनिवार्य रुपमा लगानीकर्ताले उपलब्ध गराएको बैंक खातामा जम्मा गराउन निर्देशन दिएको हो ।
धितोपत्र बोर्डले राष्ट्र बैंकले आफु मातहतका वित्तीय कारोबार गर्ने कम्पनीहरुलाई नगद लाभांस वितरणका सम्बन्धमा आएका काम अनिवार्य रुपमा गर्न निर्देशन जारी भएको भन्दै सबै सुचिकृत कम्पनीले अनिवार्य रुपमा लाभांस बैंक खातामा जम्मा गराउनुपर्ने व्यवस्थालाई अनिवार्य गरिएको जनाएको छ ।

धितोपत्र बोर्डद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण सूचिकृत कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई प्रदान गर्ने नगद लाभांश तथा सार्वजनिक निष्काशनको क्रममा धितोपत्र बाँडफाट पश्चात लगानीकर्ताले माग गरे बमोजिम शेयर प्राप्त गर्न नसकेको खण्डमा त्यस्तो रकम फिर्ता गर्दा समेत लगानीकर्ताले दरखास्त फाराममा उल्लेख गरेको नेपाल क्लियरिङ्ग हाउसको सदस्य भएको बैंक तथा वित्तीय संस्थामा रहेको लगानीकर्ताको आफ्नो खातामा नै जम्मा हुने व्यवस्था गर्नरगराउनका लागि सम्पूर्ण अनुमति पत्र प्राप्त सेयर रजिष्ट्रार, निष्काशन तथा विक्री प्रबन्धकहरु र सम्पूर्ण सूचिकृत कम्पनीहरुलाई निर्देशन दिइएको छ ।’
बजार सुधारमा बोर्ड अग्रसर रहेको भन्दै लगानीकर्ताको हीतमा राखेर गरिएको पछिल्लो व्यवस्थाले लगानीकर्ताले सहज रुपमा बजारबाट लाभ लिन सक्ने बोर्डले अपेक्षा लिएको छ । उसले समयको बचत गराउँदै लगानीकर्तालाई सहज रुपमा शेयर कारोबार, बोनस तथा नगद लाभांस संकलन, शेयर नपरेको पैसा फिर्ता गराउन गरिएको पहललाई सम्बद्ध कुनै पनि निकायलाई अटेर नगर्न पनि निर्देशन दिएको छ ।
यस अघि बोर्डले नेपाल राष्ट्र बैंकलाई सो व्यवस्था अनिवार्य गराउनका लागि सकुर्लर जारी गर्न समन्वय गरेको थियो । बोर्डसंगको समन्वयमा राष्ट्र बैंकले ’क’ ’ख’ र ’ग’ वर्गका वित्तीय संस्थाका नाममा अनिवार्य रुपमा नगद लाभांस र शेयर नपरेको पैसा बैंक खातामा जम्मा गराउन निर्देशन दिइएको थियो ।