विगत केही महिनादेखि नेपालमा अवैध सुन अत्याधिक भित्रिरहेको पाइएको छ । यसले गर्दा ४ सय किलो वैध सुन बैंकमा थन्किइरहेको छ । तथ्यांक हेर्ने हो भने चार महिनायता नियमित बाटोबाट सुन आयात अत्यन्तै न्यून छ । तैपनि मुलुकभर दैनिक औसतमा २० किलोभन्दा बढी सुन बिक्री भइरहेको बताइन्छ । बैंकमा अहिले ३ सय ७१ किलो सुन थन्किएको छ ।
बजारमा सुन पर्याप्त छ, अनि कारोबार पनि घटेको छैन । तर आपूर्ति कतैबाट भएको देखिँदैन । व्यवसायी भने सुन बेच्ने सर्वसाधारण बढेकाले अभाव नभएको बताउँछन् । बजारमा सुन आयात नै नभई बैंकको सुन बिक्री नभएको र आयात रोकिएको अवस्थामा पनि बजारमा अभाव नदेखिएपछि भन्सार विभाग र राजस्व अनुसन्धान विभागका अधिकारीले सुन आपूर्तिबारे केही दिनअघि व्यवसायीसँग छलफल गरेका थिए । उक्त छलफलमा व्यवसायीले सुन बेच्न आएका सर्वसाधारणबाटै आपूर्ति धानिएको बताएका थिए । तर, अनुसन्धान विभाग भने सर्वसाधारणले बेचेकै भरमा मात्र बजार नधानिने बताउँछ । भन्सार, राजस्व अनुसन्धान विभागलगायत निकाय मिलेर व्यवसायीको कारोबारमाथि निगरानी बढाएको बताइएको छ । मुलुकभर दुई हजारभन्दा बढी सुन पसल छन् ।
गत आर्थिक वर्षमा अनुसन्धान विभागले अवैध रूपमा भित्रिएको ३६ किलो सुन नियन्त्रणमा लिएको थियो । पहिले तातोपानी नाकाबाट अवैध सुन अत्याधिक मात्रामा भित्रिने गरेको थियो । तातोपानी नाका भुकम्पका कारण बन्द भएर रसुवा नाका खुलेपछि सोही नाकाबाट अवैध सुन आयात हुने गरेको छ । गत चैतमा रसुवाबाट १० किलो सुन बरामद भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि अवैध सुन बरामद हुने गरेको छ । तर, नेपालमा भित्रिने धेरैजसो सुन चीनबाट नै आउने गरेको पाइन्छ ।
सरकारले प्रति दस ग्राम सुनको भन्सार अहिले ४ हजार २ सय रुपैयाँ लाग्ने व्यवस्था गरेको छ । यसअघि सुनको अवैध कारोबार नथामिएपछि सरकारले आयातका लागि बैंकहरूलाई मात्र इजाजत दिने व्यवस्था गरेको छ । जसअनुसार कुनै पनि व्यापारीले आफूखुसी सुन ल्याउन पाउँदैन । गत वर्षसम्म विदेशबाट आउने व्यक्तिले ५० ग्रामसम्म सुन ल्याउँदा भन्सार छुट पाउने व्यवस्था रहेकामा सरकारले चालु आवदेखि यसलाई हटाएको छ । अहिले ५ तोलासम्मका गहनामात्र ल्याउन पाउने व्यवस्था छ ।
केही सातादेखि नै सुनको मूल्य स्थिरजस्तै छ । मंगलबार नेपाली बजारमा छापावाल सुन तोलाको ५९ हजार रुपैयाँका किनबेच भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ७ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ ।


