मनिसले जीवनभर कमाएको पैसाबाट आधारभुत आवश्यकता पुरा गरेपछिको मिठो सपना भनेको सुबिधायुक्त र सुन्दर घर नै हो । फरक यतिमात्र हो कसैका लागि सहज रुपमा यो सपना साकार हुन्छ भने कसैका लागि घर बनाउने सपना सपनामै सिमित रहन्छ । अझ गत वर्षको विनाशकारी भुकम्पपश्चात् त कयौं नेपाली जनताहरु घरविहिन भएका छन् । त्यसमध्ये कतिले त सरकारले दिएको सुबिधाको स्वाद चाखेसँगै बस्नका लागि घर बनाइसकेका छन् तर कतिपय सर्वसाधारण घर निर्माणका लागि आवश्यक रकम जुटाउन नसकेर संकटमा परिरहेका छन् । पछिल्लो दिनहरुमा भने आफुसँग पर्याप्त रकम नभएकै कारण घर बनाउन पछि हट्नुपर्ने सर्वसाधारणको मर्कालाई धेरै बैंकहरुले सम्बोधन गरिरहेका छन् । राष्ट्रियस्तरका बैंकहरुले सर्वसाधारणका लागि सहुलियत ब्याजदरमै घर÷जग्गा कर्जा उपलब्ध गराइरहेका छन् ।
राजधानीको भृकुटिमण्डपमा आयोजित घर तथा घर÷भवन निर्माण सामग्री र प्रविधिहरुको वृहत प्रदर्शनी मेलाको अवसर पारेर सर्वसाधारणलाई विभिन्न राष्ट्रियस्तरका बैंकहरुले आकर्षक ब्याजदरमा घर कर्जा उपलब्ध गराउने उद्देश्य अनुरुप बैंक स्टलहरु राखेका थिए । भुकम्प प्रतिरोधात्मक घर तथा घर निर्माण सामग्री प्रदर्शनी मेलामा सहभागी सर्वसाधारणहरुलाई आफ्नो बैंकले प्रवाह गर्ने घर तथा जग्गा कर्जासम्बन्धि जानकारी उपलब्ध गराउन र यससम्बन्धि सेवा उपलब्ध गराउन स्ट्यान्डर्ड चाटर्ड बैंक, हिमालयन बैंक, एनआइसी एसिया बैंक र एनएमबी बैंकले बैंकिङ स्टलहरु राखेका हुन् । यसरी बैंकिङ स्टल राखेका बैंकहरुले आफ्नो बैंकको प्राबधानअनुसारका ब्याजदरहरुमा सर्वसाधारणलाई कर्जा प्रवाहको सेवासम्बन्धि जानकारी दिए । कुनै बैंकहरुले मेला अवधिभरका लगि छुटसहितको ब्याजदर व्यवस्था गरे भने कुनै बैंकहरुले बैंकमा चलिरहेको ब्याजदर र कर्जाका बारेमै मेलामा सहभागि सर्वसाधारणलाई जानकारी दिए ।
ग्राहक सेवा लाई आफ्नो मुल मन्त्र बनाएर स्थापना भएको प्रतिष्ठित बैंक हिमालयन बैंकले मेला अवधिभरका लागि भनेर घरजग्गा कर्जाका लागि १ प्रतिशत ब्याजदर घटाएर ६.५ प्रतिशत लागु गरेको थियो । यसबाहेकका समयमा भने ७.५ प्रतिशत ब्याजदर घरजग्गा कर्जाका लागि रहेको छ । त्यस्तै अन्य समयमा ०.५ प्रतिशत सेवा शूल्क लिँदै आएको हिमालयन बैंकले मेला अवधिभरमा घरजग्गा कर्जा लिएबापत असुल गर्ने प्रतिशतमा ५० प्रतिशतको छुटसँगै ०.२५ प्रतिशत मात्र असुल गर्ने व्यवस्था गर्यो । यसबाहेकका स्टलमा रहेका ३ ओटै बैंकहरुले आफ्नो बैंकमा पहिलेदेखि नै लागु भइरहेको ब्याजदर राखे । जसमा एनआईसी एसिया बैंकको ७.४९ प्रतिशत, एनएमबी बैंकको १५ वर्षसम्मका लागि कर्जा लिनेका लागि ७.६६ प्रतिशत र १६ वर्षदेखि २५ वर्षसम्मका लागि कर्जा लिनेका लगि ८ प्रतिशत र स्ट्यान्डर्ड चाटर्ड बैंकको ७ प्रतिशत ब्याजदर थियो । त्यस्तै, स्ट्याडर्ड चाटर्ड बैंकले न्युनतम ५० हजारदेखि साडे २ करोडसम्म, एनएमबी बैंकले न्युनतम ५ लाख देखि आम्दानी अनुसार र एनआइसी एसिया र हिमालयन बैंकले क्राइटेरिया अनुरुपको कर्जा रकम उपलब्ध गराएका थिए ।
बैंकबाट स्टलमा खटाइएका कर्मचारीहरुले स्टलमा सहभागि सर्वसाधारण जसले घरका लागि कर्जा लिन चाहन्छन्, उनीहरुको आम्दानीको स्रोत, कुन स्थानमा घर बनाउने हो त्यसका बारेमा जानकारी र व्यक्तिगत बारमा जानकारी संकलन गरे । स्टलमा बसेका बैंकका कर्मचारीहरुका अनुसार दिनमा २५ देखि ३० जना सम्मका व्यक्तिहरुले कर्जाका बारेमा जानकारी लिए । बैंकहरुले प्रवाह गर्ने कर्जा र यसको ब्याजदरका बारेमा सहज रुपमै जानकारी गराउनमा र सेवा प्राप्त गर्न चाहेको खण्डमा पनि सहज र सुलभ ब्याजदरमा कर्जा सेवा लिन सक्ने प्रावधान सहित बैंक स्टलहरु राखिनु आफुहरुको लागि सुविधाको विषय भएको प्रतिक्रिया मेलामा सहभागि सर्वसाधारणको थियो । गत शुक्रबारदेखि सुरु भएको घर तथा घर निर्माणसम्बन्धि यस मेला सोमबारदेखि सकिएको छ ।
वित्तीय साक्षारताको विकास र बैंकहरुले अपनाउँदै आएको नयाँ नयाँ कार्ययोजनाबाट भुकम्पबाट प्रभावित र सामान्य स्तरका सर्वसाधारणका लागि रकमकै अभावमा कसैका लगि बस्ने बास र कसैका लागि सपनाको घर निमार्ण गर्नबाट पछि हट्नुपर्ने अवस्थाको विस्तारै न्युनिकरण हुँदै गईरहेको देखिन्छ ।



