केही समयअघिसम्म माइक्रोफाइनान्स कम्पनीले आइपीओ निष्कासन गर्ने लहर नै चलेको थियो । त्यो लहर अब विस्तारै घट्न थालेको छ । नेपाल राष्ट्र बैंकले बैंक र बीमा कम्पनी खोल्नका लागि नयाँ लाइसेन्स दिन बन्द गरेपछि आइपीओ निष्कासन गर्ने कम्पनीहरु घट्न थालेका हुन् । धितोपत्र बोर्डमा अहिले बीमा र बैंकको लाइसेन्स बन्द गरिएकाले आईपीओ निष्कासन गर्न अनुमति माग्ने कम्पनी घटेका छन् । विगतमा सधैं औसतमा पाँच अर्बभन्दा बढीको आईपीओ पाइपलाइनमा हुने गरेको थियो ।
केन्द्रीय बैंकले माइक्रोफाइनान्सको पनि नयाँ लाइसेन्स रोकेको छ । पाइपलाइनमा रहेका केही माइक्रोफाइनान्स कम्पनीले मात्र अब आईपीओ ल्याउने छैनन् । राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीको दर्ता रोकेकाले अब नयाँ बैंकको आईपीओ (साधारण सेयर) आउने अवस्था नभएको हो । बीमा कम्पनीको पनि नयाँ लाइसेन्स बन्द छ । नयाँ कम्पनीलाई खुला नगरेसम्म बीमाको पनि आइपीओ आउने छैन ।
सरकारले जलविद्युत् कम्पनीलाई भने भटाभट लाइसेन्स दिइरहेको छ । ऊर्जा उत्पादन बढाउन नयाँ कम्पनी खुल्नेक्रम जारी छ । पुँजी बजार नियामक धितोपत्र बोर्डमा पनि आईपीओ ल्याउन आवेदन दिने सबै जलविद्युत् कम्पनीमात्रै छन् । बोर्डका अनुसार हाल ६ वटा जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएका छन् ।
कुल ७० करोड ८५ लाख ४१ हजार सात सय रुपैयाँको ७० लाख ८५ हजार चार सय १७ कित्ता आईपीओ निष्कासन गर्न आवेदन परेको छ । आईपीओ निष्कासन गर्न अनुमति माग्नेमा हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर, युनाइटेड मोदी हाइड्रोपावर, आँखु खोला हाइड्रोपावर, अरूण काबेली र छ्याङदी हाइड्रोपावर छन् ।
यी कम्पनीमध्ये अरूण काबेलीबाहके बाँकी सबैले स्थानीयका लागि आईपीओ ल्याउन लागेका हुन् । स्थानीयबासिन्दालाई बिक्री गरेपछि फेरि सर्वसाधारणमा सेयर बिक्री गर्न यी कम्पनीले आवेदन दिनेछन् ।
पछिल्लो समय सर्वसाधाणमा सेयरप्रति आकर्षण बढ्दो छ । दोस्रो बजारमा सेयरको भाउ निकै माथि पुगिसकेकाले पनि फाइदा हुन्छ भन्ने सन्देश सर्वसाधारणमा प्रवाहित हुँदा यसअघि आईपीओ निष्कासन गरेका कम्पनीमा एक सय गुणाभन्दा बढीको आईपीओ आवेदन पर्दैआएको छ ।