May 11th, 2021

बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ जारी


बैंकिङ खबर । बीमा समितिले ‘बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका २०७७’ जारी गरेको छ । बीमा कम्पनीको संस्थापक शेयर कारोबारका लागि सामान्य निर्देशन मात्रै रहेको अवस्थामा समितिले निर्देशिका ल्याएको हो । निर्देशिकामा बीमा कम्पनीहरुको संस्थापक शेयर कारोबारका लागि रहदै आएका निर्देशन तथा नियमलाई स्पष्ट पारिएको समितिले जनाएको छ । निर्देशिकामा एक संस्थापकले अर्को संस्थापकलाई चुक्ता पूँजीको १ प्रतिशत भन्दा कम शेयर खरिद बिक्रीको अवस्थामा बीमा समितिसँग स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको छ । कानून बमोजिम रितपुर्व भएको यस्तो कारोबारको विवरण १५ दिन भित्रमा बीमा समितिलाई जानकारी गराउनुपर्नेछ ।
बिक्री कर्ताको शेयर एक प्रतिशत भन्दा बढि रहेको वा खरिद कर्ताको खरिद पश्चात एक प्रतिशत भन्दा बढि हुने अवस्थामा भने बीमा समितिबाट पुर्व स्वीकृति लिनु पर्नेछ । चुक्ता पूँजीको एक प्रतिशत भन्दा बढि संस्थापक शेयर धारण गरेको अवस्थामा त्यस्तो शेयर टुक्रा टुक्रा गरि वा एकमुष्ठ रुपमा संस्थापक समुहमा नरहेको व्यक्तिलाई शेयर बिक्री वा नामसारी वा हस्तान्तरण गर्न समितिको स्वीकृति लिनु पर्नेछ ।

घरायसी नामसारी, पारिवारिक अंशबण्डा तथा मृत्यु पछिको नामसारीको हकमा पनि एक प्रतिशत भन्दा कम शेयर कारोबार हुँदा समितिको स्वीकृति लिनु पर्दैन तर एक प्रतिशत भन्दा माथिको हकमा भने समितिको पुर्व स्वीकृति लिनुपर्नेछ ।

संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तनका लागि ५ वर्षको लकिङ परियड तोकिएको छ । बीमा व्यवसाय सञ्चालन गर्न ईजाजत प्राप्त गरेको मितिले ५ वर्ष पूरा भएको हुनपर्छ । साथै शेयर संरचना संस्थापकतर्फ ५१ प्रतिशत भन्दा घटाउन नपाउने भनिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]