May 7th, 2021

सबैको लघुवित्तको सिइओमा पुनः केशव कुमार पौडेल


बैंकिङ खबर/  सबैको लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः केशव कुमार पौडेल नियुक्त हुनुभएको छ । सीईओ पौडेलको कार्यकाल बैशाख ३१ गतेदेखि सकिँदैछ । शुक्रबार बसेको सचालक समितिको ८६ औँ बैठकले पुनः पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ पौडेलको दोश्रो कार्यकाल आगामी जेठ १ गतेदेखि लागू हुनेछ । उहाँले आगामी ४ वर्षसम्म संस्थाको सीईओ पदको कार्यभार सम्हाल्नु हुनेछ ।

२०४९ सालमा निर्धन लघुवित्त वित्तीय संस्थाबाट सेवा प्रवेश गरेका पौडेलसँग विभिन्न लघुवित्त वित्तीय संस्थाहरुमा विभिन्न पद हुँदै सीईओ पदमा रहेर कार्य गरेको अनुभव छ । उहाँले २०७४ साल जेठ १ गतेदेखि सबैको लघुवित्त वित्तीय संस्थामा सीईओको जिम्मेवारी वहन गर्नुभएको हो । उहाँको वित्तीय अनुभव र कार्यकुशलताको सम्मान गर्दै बोर्डले आगामी ४ वर्षका लागी पुनः सीईओको जिम्मेवारी प्रदान गरेको बताएको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा कम्पनी कानून तथा अन्य प्रचलित कानूनको अधिनमा रही तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड मिति २०७४ बैशाख २५ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०७४ असार २५ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तर कार्यक्षेत्रमा वित्तीय कारोवार सञ्चालन गर्न “घ” वर्गको इजाजतपत्र प्राप्त गरी मिति २०७४ असार ३० गतेबाट विधिवत रुपमा सञ्चालनमा आएको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।

संस्थाले ०७८ चैत मसान्तसम्म ७ वटै प्रदेशका ३७ जिल्लामा ६९ शाखा कार्यालय, ४ अनुगमन मुकाम र केन्द्रीय कार्यालय गरी ७४ वटा कार्यालयको संजाल बिस्तार गरेको छ । सोही अवधी सम्ममा करिब ५० हजार घरधुरीमा सेवा विस्तार गरेको छ भने संस्थाको लगानीमा रहिरहेको कर्जा ३ अर्ब १४ करोड ६४ लाख रहेको छ भने बचतमा ८१ करोड ८९ लाख रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]