हरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साताको बुधबारदेखि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली लागू भयो । त्यस्तै, बीमा समितिले सीईओ नियुक्तिसम्बन्धि व्यवस्थालाई परिमार्जन गर्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ ;
बीमा कम्पनीको सीईओ नियुक्तिसम्बन्धि नयाँ व्यवस्था
बीमा समितिले प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तिसम्बन्धी व्यवस्थामा परिमार्जन गर्यो । जसअनुसार अब बीमा कम्पनीको सीईओ बन्नका लागि ५ वर्षको अनुभव भए पुग्ने भएको छ । यसअघि १० वर्षको अनुभव हुनुपर्ने व्यवस्था थियो ।
विद्युतीय भुक्तानी प्रणालीमा बैंकहरु
यसै साताको बुधबार अर्थात् भदौ १ गतेदेखि नेपाल क्लियरिङ हाउस लिमिटेडले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सुरु गर्यो । क्लियरिङ हाउसको यस प्रणालीमा हालसम्म ६२ सदस्यहरु आवद्ध भएका छन् । आगामी दिनहरुमा सदस्य संख्या थप्दै जाने र सबै बैंक तथा वित्तीय संस्थालाई यस प्रणालीमा आवद्ध गराउने योजना कम्पनीको छ ।
राष्ट्र बैंकसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरु
साताको आइतबार व्यवस्थापिका संसद बैठकमा अर्थ समितिले नेपाल राष्ट्र बैंक दोस्रो संशोधन विधेयकसहितका तीन वटा विधेयकमाथिका प्रतिवेदन पेश गर्यो । ठूला परियोजना निर्माण गर्न सरकारले परियोजना ऋणपत्र (प्रोजेक्ट बन्ड) र विदेशी मुद्रामा ऋणपत्र बिक्री गर्ने अवधारणा अघि सार्यो । नेपाल राष्ट्र बैंकले सोमबार ४ सय २७ करोडको ट्रेजरी बिल जारी गर्यो । नेपाल राष्ट्र बैंकले बुधबार एक सर्कुलर जारी गर्दै नेप्सेमा सुचिकृत वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुलाई अनिवार्य रुपमा लगानीकर्ताले पाउने नगद लाभांस बैंक खातामा जम्मा गरिदिन निर्देशन दियो ।
शाखा, सेवा तथा प्रविधि विस्तार
आरम्भ माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडले बुधबारदेखि सिन्धुलीको खुर्कोट र सिन्धुपाल्चोकको सुकुटेमा आफ्ना शाखा कार्यालयहरु विस्तार गर्यो । सिभिल बैंक लिमिटेडले “सिभिल बैंक नयाँखाता योजना”ल्यायो । सिद्धार्थ बैंकले आफनो ग्राहकहरुलाई थप सुविधा दिने उद्देश्यले ग्राण्डी इन्टरनेशनल हस्पिटलसंग सम्झौता गर्यो । हिमालयन बैंक र एल.आई.सी. नेपालबिच इन्स्योरेन्स सम्झौता सम्पन्न भयो । सनराईज बैंक लिमिटेडले कैलालीको मसुरिया बजारमा सोमबारबाट शाखारहित बैकिङ्ग सेवा सुरु गर्यो । सिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो महाबौद्ध र मानभवनका शाखाहरुबाट ए.टि.एम सेवा र यु. के. एडको लगानीमा संचालित सक्षम – एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा बैंकले नुवाकोट जिल्लाको देउराली गा.वि.स. मा थप एक वटा शाखारहित बैंकिङ्ग सेवा विस्तार गर्यो । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले ज्योति विकास बैंक लिमिटेडसंग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवासम्बन्धि सम्झौतामा हस्ताक्षर गर्यो । नविल बैंकले पनि यसै सातादेखि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवासम्बन्धि सम्झौता गर्यो । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले समीक्षा गोष्ठी तथा क्षमता अभिबृद्धि तालिम यसै साताको आइतबारदेखि सुरु गर्यो । हिमालयन बैंक लि. र जापानको रेमिट्यान्स कम्पनी एन एण्ड पी १००४ कं.लि.(क्युएस रेमिट) बीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भई रेमिट्यान्स कारोबार शुरु भयो । पाल्पा जिल्लाको महत्वपूर्ण व्यापारिक केन्द्र हार्थोकमा राष्ट्रिय वाणिज्य बैकले आफ्नो १६८ औं शाखा कार्यालय स्थापना गर्यो ।
शेयर निष्काशन, विक्रि तथा वितरण
सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले निष्काशन गरेको ७ लाख कित्ता साधारण शेयर (आईपीओ) मा कम आवेदन परेपछि शेयर निष्काशन अवधि भदौ १८ गतेसम्मका लागि थप गरियो । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति पायो । पूर्णिमा विकास बैंक लिमिटेडको १० लाख ८ हजार ५ सय ४३ कित्ता हकप्रद शेयर यसै सातादेखि खुल्यो । एभरेष्ट फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई १४ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गर्यो । कन्ट्री डेभलपेन्ट बैंकले ७.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३८१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गर्यो । राष्ट्रियस्तरको विकास बैंक टुरिजम डेभलपमेन्ट बैंक लिमिटेड शतप्रतिशत शेयर निष्काशन गर्ने निर्णय गर्यो । युनिक फाइनान्सले आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गर्यो । त्यस्तै, स्वरोजगार लघुवित्त विकास बैङ्कले ३०.४ प्रतिशत बोनस शेयर दिने निर्णय गर्यो भने कैलाश विकास बैंकले चुक्ता पुँजीको २० प्रतिशत(पाँच बराबर एक) हकप्रद शेयर निष्काशन गर्ने जानकारी गरायो । यता, कृषि विकास बैंकले पनि १ अर्ब ९६ करोड ८८ लाख रुपैयाँ बराबरको हकप्रद साधारण शेयर जारी गर्ने निर्णय सुनायो ।
सामाजिक उत्तरदायित्व पूरा गर्दै बैंकहरु
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाल विकास समाजलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्लिनिक सञ्चालनको लागि ५० हजार रुपैयाँ सहयोग गर्यो । त्रिवेणी विकास बैँकको १३ औँ बार्षिकोत्सवको अबसरमा बैँकको हेटौँडा शाखाले रक्तदान कार्यक्रम सम्पन्न गर्यो । ग्लोबल आइएमई बैंकले कालीकोटका विभिन्न सरकारी विद्यालयहरुलाई १२ थान कम्प्युटर सहयोग गर्यो ।
मर्जर तथा एक्विजिसन
ज्योति विकास बैंक र झिमरुक विकास बैंक एआपसमा मर्ज भई यसै सातादेखि एकीकृत कारोबार सुरु गरे ।




