April 26th, 2021

निषेधाज्ञामा पनि बैंकिङ सेवा सुचारु रहने

बैंकिङ खबर/  कोभिड १९ महामारीको दोस्रो लहरले राजधानीसहित विभिन्न जिल्लालाई चपेटामा लिएसँगै काठमाडौं उपत्यकामा प्रशासनले बिहीबार (१६ वैशाख) बिहान ६ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ  । उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरूको सोमबार बसेको बैठकले लकडाउन नगरेर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । हालका लागि निषेधाज्ञा २२ वैशाख राति १२ बजेसम्म रहनेछ ।

निषेधाज्ञाको समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुको सेवा भने सुचारु रहनेछ । बैंक तथा वित्तीय संस्थाहरुले स्वास्थ्य मापदण्डको पालना गरेर सेवाप्रवाह गर्नुपर्नेछ ।

कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले लकडाउन गर्न सिफारिस गरेपछि सरकारले यसको जिम्मा स्थानीय प्रशासनलाई दिएको थियो । यसपटक देशभर एकैपटक लकडाउन नभई जिल्ला प्रशासन कार्यालयहरूले आफ्नो जिल्ला वा जिल्लाका कुनै क्षेत्रमा कोरोना संक्रमणको अवस्थाअनुसार बन्दाबन्दी वा निषेधाज्ञाको निर्णय लिने व्यवस्था गरिएको हो । स्थानीय प्रशासन ऐन २०२८ ले जिल्लाभित्र निषेधाज्ञा वा अन्य प्रतिबन्धको अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

निषेधाज्ञाको समयमा बैंकिङ क्षेत्रलाई कसरी सञ्चालन गराउने भन्ने विषयमा नियामक निकायले हालसम्म कुनै मापदण्ड तय गरिनसकेको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता तथा सूचना अधिकारी नारायणप्रसाद पोखरेलले बताउनुभयो ।

‘निषेधाज्ञापछिको बैंकिङ सेवाको स्वरूपबारे हालसम्म हाम्रो आन्तरिक निर्णय भएको छैन,’ सहप्रवक्ता पोखरेलले बैंकिङ खबरलाई भन्नुभयो, ‘भोलि हाम्रो वार्षिकोत्सव छ, त्यसपछि मात्र यस विषयमा कुनै निर्णय आउला ।’

स्थानीय प्रशासनले पनि हालसम्म यस विषयमा राष्ट्र बैंकसित कुनै छलफल नगरेको सहप्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

लकडाउन र निषेधाज्ञामा के फरक छ ?
लकडाउनमा प्रायः सम्पूर्ण रूपमा बन्द गरिन्छ । कोरोनाको पहिलो लहरका क्रममा विश्वभर अभ्यास गरिएको लकडाउनमा अत्यावश्यकका रूपमा सूचीकृत गरिएका समेत केही सेवाहरू बन्द गरिएका थिए । लडकडाउनको सुरुको अवधिमा बैंक तथा वित्तीय संस्थाहरू पनि बन्द थिए । स्वास्थ्य, सुरक्षा, सरकारी काम, प्रेस र अत्यावश्यक ढुवानीका बहेक सबैजसो निजी तथा सार्वजनिक यातायातमा रोक लागइएको थियो । त्यस्तै मानिसको हिँडडुल प्रतिबन्धित थियो । औषधि र खाद्यान्न पसलबाहेक सबैखाले व्यापार–व्यवसाय सञ्चालनमा रोक लागाइएको थियो । समग्रमा लकडाउनमा करिब–करिब निरपेक्ष बन्दको अवस्था थियो ।

निषेधाज्ञामा भने के खोल्न वा गर्न पाइने र के खोल्न वा गर्न नपाइने भनेर तोक्ने गरिन्छ । स्थानीय प्रशासनले आवश्यकताअनुसार गर्न पाइने र नपाइने कामको मापदण्ड तय गर्दछ र त्यसको कार्यान्वयन गराउँछ । निषेधाज्ञाको प्रभाव विश्लेषण गरी आवश्यकताअनुसार प्रशासनले खुकुलो बनाउने तथा थप कडाइ गर्ने काम गर्छ ।

के–केमा रोक ?
बिहीबारदेखि जारी गर्न लागिएको निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ । सबै प्रकारका सभा-सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिएको छ । सार्वजनिक तथा निजी सवारीसाधनहरू बन्द गर्ने तर एम्बुलेन्स, शववाहन, दमकल, कूटनीतिक नियोग, प्रेस, खाद्यान्न, अत्यावश्यक तथा विकासनिर्माणका सामान ढुवानी, सरकारीलगायत सवारीसाधन चल्ने दिने प्रशासनको निर्णय छ । सामान्य अवस्थामा हिँडडुलमा प्रतिबन्ध लगाइने तर अत्यावश्यक काम परेमा अनुमति दिइने बताइएको छ । निषेधाज्ञा जारी गर्नुअघि घर जानका लागि मंगलबार र बुधबार दुई दिन समय दिइएको छ । 

के-के खुला ? 

खाद्य सामग्रीको पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला रहनेछ । डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवत-जावत गर्न सक्नेछन् ।

विवाह ब्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी हुन पाइनेछ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधन चल्न पाउनेछन् । एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायत ढुवानीका साधन पनि चल्न पाउनेछन् ।

सरकारी कार्यालयका गाडी सम्बन्धित विभागबाट अनुमति लिएर सञ्चालन हुन पाउनेछन् । विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका गाडी चलाउने पास सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले दिनेछन् ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुले हवाई टिकट, पासपोर्ट, भिसा देखाएमा एयरपोर्ट जाने गाडी चलाउन पाइनेछ ।

यस्तो छ काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश :

Prohibitary_Order_From_CDO_KTM

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]