April 26th, 2021

आरम्भ चौतारीका अध्यक्ष पोखरेलद्वारा सपथ ग्रहण


बैंकिङ खबर/आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाका पुनः नवनिर्वाचित अध्यक्ष जगत पोखरेलले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । उहाँलाई राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बैंककै केन्द्रीय कार्यालय बालुवाटारमा सपथ ग्रहण गराउनुभएको हो ।

उहाँले अब नवनिर्वाचित अन्य सदस्यहरुलाई सपथ गराउने व्यवस्था रहेको छ । गत चैत ३१ गते भएको संस्थाको पाँचौ वार्षिक साधारण सभाले संस्थापक समूह ‘क’ बाट प्रतिनिधित्व हुने सञ्चालक चार जना र सर्वसाधारण समूह ‘ख’ बाट प्रतिनिधित्व हुने गरी संचालक दुई जनाको पदावधि समाप्त भएकाले ती पदहरुमा नयाँ पदाधिकारी चयन गरेको थियो ।

निर्वाचनबाट संस्थापक समूह ‘क’ बाट जगत बहादुर पोखरेल, दिपक तिवारी, पुष्पराज ढकाल र सन्तोष पोखरेल सञ्चालक समितिमा निर्वाचित हुनुभएको हो भने सर्वसाधारण समूह ‘ख’ बाट केशवराज पन्थी र विमल आचार्य चयन हुनुभएको हो ।

संचालकहरुको पहिलो बैठकले संस्थाका संस्थापक अध्यक्ष जगत बहादुर पोखरेललाई नै चार वर्षका लागि फेरि अध्यक्षमा चयन गरेको थियो ।

देशभरका लघुवित्त वित्तिय संस्थाहरुको साझा संस्था लघुवित्त संघ नेपालका केन्द्रीय अध्यक्ष समेत रहनु भएका पोखरेलले आफुले नेतृत्व गरेको लघुवित्त वित्तिय संस्थालाई लघुवित्त क्षेत्रका लागि उदाहरणीय संस्थाको रुपमा स्थापित गर्नुपर्ने दायित्व समेत आफुसँग रहेको बताउनुभएको छ ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त र बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ लघुवित्त मर्ज भएर आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था बनेको हो । एकिकृत संस्थाले गत असार २२ देखि एकीकृत कारोबार शुरु गरेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]