नेपाल राष्ट्र बैंकले बैंकहरुलाई नगद लाभांश शेयर लगानीकर्ताको खातामा नै हालीदिन निर्देशन दिएको छ । राष्ट्र बैंकले बुधबार एक सर्कुलर जारी गर्दै नेप्सेमा सुचिकृत वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुलाई अनिवार्य रुपमा लगानीकर्ताले पाउने नगद लाभांस बैंक खातामा जम्मा गर्न निर्देशन दिएको हो । लाभांस पूर्जा संकलन गर्न बोलाउने सुचना प्रकाशित हुन थाले पछि राष्ट्र बैंकले धितोपत्र बोर्डको आग्रहमा यस्तो सर्कुलर जारी गरेको हो ।
बुधबारबाट नेपाल क्लियरिङ हाउस लिमिटेडको अन्तर बैंक भुक्तानी प्रणाली शुरु भएको छ । यसै विषयलाई ध्यानमा राखेर राष्ट्र बैंकले आइपीओ र एफपीओ भर्दा नपरेको रकम फिर्ता दिन पनि यही प्रणाली प्रयोग गर्न बैंक तथा फाइनान्स कम्पनीहरुलाई निर्देशन दिएको छ । ‘बैंक तथा वित्तीय संस्थाले आफ्ना शेयरधनीहरुलाई प्रदान गर्ने नगद लाभांस शेयरधनीको खातामा जम्मा हुने व्यवस्था गर्नु पर्नेछ । साथै सार्वजनिक निष्काशनहरु प्राथमिक तथा नयाँ शेयर निष्काशनको क्रममा धितोपत्र बाँडफाँड पश्चात लगानीकर्ताले माग गरे बमोजिम शेयर प्राप्त गर्न नसकेको खण्डमा त्यस्तो रकम फिर्ता गर्दा समेत लगानीकर्ताले दरखास्त फारममा उल्लेख गरेको बैंक खातामा रकम जम्मा हुने व्यवस्था मिलाउनु पर्नेछ,’ बोर्डद्धारा वारी सर्कलरमा भनिएको छ ।
हाल बाट नेपाल क्लियरिङ हाउस लिमिटेडमा ५७ वटा बैंक र २ वटा रेमिट कम्पनी आबद्ध छन् । सञ्जालमा नभएका बैंक तथा वित्तीय संस्थाले पनि आफै सञ्जालमा दर्ता भएर वा सञ्जालमा भएका बैंकमार्फत् यो सुविधा दिन सक्छन् ।
