बैंकिङ दृष्टिले नियाल्दा वर्ष २०७७

२०७७ लाई बिदाइ गर्दै आजबाट नयाँ वर्ष २०७८ सुरु भएको छ । अन्य वर्षहरूजस्तै २०७७ मा बैंकिङ क्षेत्रमा केही उल्लास र उपलब्धि भए भने केही चुनौती पनि थपिए । २०७७ सालमा कोरोना संक्रमणले बैंकिङ क्षेत्र पनि अछुतो रहन सकेन । यी चुनौतीका बाबजुद पनि बैंकिङ तथा वित्तीय क्षेत्र अगाडि बढिरह्यो । बैंकिङ तथा वित्तीय क्षेत्रका प्रमुख सात विषयको कसीमा तौलिँदा वर्ष २०७७ कस्तो रह्यो त ?

१. कोभिड १९ महामारीको प्रभाव

२०७७ सालमा अन्य क्षेत्रलाई जस्तै कोरोना महामारीले बैंकिङ तथा वित्तीय क्षेत्रलाई पनि प्रभाव पा¥यो । कोरोना महामारीको उपज लकडाउनका बीच बैंक तथा वित्तीय क्षेत्र ठप्प रहे ।
दैनिक रूपमा सर्वसाधारणको भिडभाड हुने बैंकिङ क्षेत्रमा कोरोनाको जोखिम उत्तिकै रह्यो । धेरै बैंकका कर्मचारी कोरोना संक्रमित हुन पुगे । करिब ८० प्रतिशत कर्मचारी ‘वर्क फ्रम होम’मा थिए । उपत्यकाबाहिर र भित्र पनि बैंकका शाखाहरूमा कोरोना संक्रमण देखियो ।
उपत्यकाबाहिरका धेरै कर्मचारीमा संक्रमण देखिएपछि कतिपय शाखा कार्यालय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो । चाहे जेसुकै होस्, बैंकमा पैसाको कारोबार गर्नु नै पर्छ । नगदको कारोबारले संक्रमण फैलाउने जोखिमका बीच कर्मचारी धेरै प्रभावित हुन पुगे, यद्यपि लेनदेनका क्रममा पैसाबाटै भाइरस संक्रमण भएको एभिडेन्स भने आधिकारिक निकायबाट पुष्टि भएको सुनिएन ।

२. राष्ट्र बैंकमा नयाँ गभर्नर

वर्ष २०७७ मा नेपाल राष्ट्र बैंकको नेतृत्व नयाँ गभर्नरको हातमा रह्यो । सरकारले अघिलो वर्षको चैत अन्तमा राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त ग¥यो । मन्त्रिपरिषद् बैठकबाट १७औँ गभर्नरका रूपमा नियुक्त अधिकारीको परिणाममुखी कामको सुरुवात भने यसै वर्षबाट भयो । गभर्नर अधिकारीले आफ्नो एक वर्षको कार्यकालमा कोरोनाले थिलथिलो बनाएको नेपाली अर्थतन्त्रलाई लयमा फर्काउन कुशल नेतृत्व दिनुभयो । डिजिटलाइजेसनलाई आक्रामक रूपमा अघि बढाउन उहाँको सक्रियता अभूतपूर्व रह्यो ।

३. सबै क्षेत्रबाट प्रशंसित मौद्रिक नीति २०७७

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति २०७७ सार्वजनिक ग¥यो । गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा राष्ट्र बैंकले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ मौद्रिक नीति २०७७ ल्यायो । मौद्रिक नीतिले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानीमा विशेष जोड दिइएको छ । कृषि विकास बैंकलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैंकका रूपमा अगाडि बढाउने लक्ष्य छ । यस्तै, बैंक तथा वित्तीय संस्थालाई कृषि क्षेत्रमा लगानीका लागि थप प्रोत्साहन गर्ने नीति लिइएको छ ।

४. लगानी प्रतिकूल वातावरणले अत्यधिक बैंकिङ तरलता, तर वर्षान्तमा संकुचनउन्मुख
२०७७ को मध्यतिर बैंकिङ तरलता (कर्जायोग्य रकम) अध्यधिक बढ्यो । महामारीको उपजका रूपमा लगानीको वातावरण प्रतिकूल बन्दा बैंक तथा वित्तीय संस्थामा तरलता चुलिन पुग्यो । यस अवधिमा अधिक तरलता २ खर्बसम्म पुग्यो ।

महामारीको पहिलो लहर साम्य हुँदै जाँदा पुनः वातावरण लगानीमैत्री बन्दै गएपछि कर्जाको माग बढ्न थाल्यो, जसले अधिक तरलताको अवस्थालाई सन्तुलनमा ल्यायो । चैत महिनामा आइपुग्दा कर्जायोग्य रकम कम हुने संकेत देखा परिसकेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अर्थतन्त्र चलायनमान हुँदै जाँदा कर्जाको मागभन्दा निक्षेप रकम बढ्न नसकेपछि तरलता अभाव सिर्जना हुने संकेत देखिन थालेको हो । हाल बैंकको सिसिडी अनुपात ७८ प्रतिशत नाघिसकेको छ । यस हिसाबले नेपालका बैंक तथा वित्तीय संस्थामा कर्जायोग्य रकम करिब ३५ अर्ब मात्र छ । तर, बैंकहरूले हालै मात्र कर्जाको ब्याजदर घटाउनुलाई महामारीको सन्निकट दोस्रो लहरले निम्त्याउने अधिक तरलताको पूर्वानुमानका रूपमा लिन सकिन्छ ।

केन्द्रीय बैंकले हालसम्ममा १ खर्ब १२ अर्ब ५० करोड रूपैयाँ आन्तरिक ऋण उठाएको छ भने केन्द्र, प्रदेश र स्थानीय तहका सरकारको खातामा ३ खर्ब रूपैयाँ थन्किएको छ । यो रकम सरकारले खर्च गर्न नसक्दा पनि अन्तका केही महिनामा बैंकिङ तरलतामा असर परेको हो ।

५. डिजिटलाइजेसनमय बैंकिङ क्षेत्र
कोरोना महामारीपछि बैंकिङ कारोबार बढीभन्दा बढी डिजिटल प्रणालीतर्फ गएको छ । यस वर्ष बैंकका आन्तरिक काम र सेवाप्रवाहमा डिजिटलाइजेसनले प्रतिस्पर्धात्मक रूपमै स्थान पायो । समग्र बैंकिङ गतिविधि डिजिटल प्रणालीअन्तर्गत ल्याउने अभियान वर्षैभरि चल्यो । यसमा नियामक निकाय केन्द्रीय बैंकको सक्रिय भूमिका रह्यो। गभर्नर अधिकारीको डिजिटलाइजेसन अभियानमा बैंक तथा वित्तीय संस्थाले भरपूर साथ दिए । ठूला व्यापारिक कम्प्लेक्सदेखि रिक्सा वा तरकारी बजारसम्म पनि क्युआर कोड प्रदान गर्ने कार्यले दिनहुँजसो चर्चा पायो । इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, विद्युतीय भुक्तानी बढे । कार्ड देखाएर, फेस रिड गरेर अथवा स्क्यान गरेर भुक्तानी गर्ने प्रणालीले गति पाए । वर्ष २०७७ ले डिजिटल प्रणालीमा धेरै सुधार ल्यायो, जुनक्रम नयाँ वर्षमा पनि निरन्तर रहने देखिन्छ ।

६. वर्षैभरि चर्चाको केन्द्रमा मर्जर, तर ठूला बैंकको हकमा निस्किएन परिणाम

२०७७ सालमा बैंक तथा लघुवित्तका बीच मर्जर तथा एक्विजिसन वित्तीय क्षेत्रमा प्रमुख चर्चाको विषय रह्यो । सबैभन्दा बढी चर्चा कमाएका ठूला वाणिज्य बैंकबीचको मर्जर प्रयासले भने मूर्त रूप लिन सकेन । आजभोलिमै परिणाम निस्कन्छ भनेजसरी चर्चा गरिएका ठूला मर्जर यस वर्षका लागि हल्ला सावित हुन पुगे । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रयास यस वर्ष पनि निष्कर्षमा पुग्न सकेन । त्यस्तै अवस्था ठूला घरानियाँ बैंकहरूको रह्यो ।
विकास बैंक तथा लघुवित्ततर्फ भने मर्जर र एक्विजिसनको प्रक्रिया वर्षैभरि चलिरह्यो । धेरै संस्थाहरूले एकीकृत कारोबार थालिसके भने केही एकीकरणको प्रक्रियामा छन् ।

७. नेप्सेको कीर्तिमानी उचाइसहित वर्षको अन्त, दर्जन कम्पनीको आइपिओ निष्काशन

प्रायः लगानीका क्षेत्रहरू महामारीको चपेटामा आएको वर्ष २०७७ सेयर लगानीकर्ताका लागि भने ऐतिहासिक रूपमा फलदायी रह्यो । नेप्सेले कीर्तिमानी रूपमा ‘अलटाइम हाई’को रेकर्ड बनाउँदै यो वर्षलाई बिदा ग¥यो । चैत मसान्तको दिन मंगलबार नेप्से परिसूचक २३.२३ अंकले बढेर २७१४.७९ विन्दुमा उक्लियो, जुन नेपाली सेयर बजारको इतिहासमा उच्चतम विन्दु हो । यस वर्ष नेप्सेले करिब दोब्बर अंकमा छलाङ मा¥यो । सबैजसो उपसमूहमा उल्लेख्य वृद्धि आउँदा महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी र दीर्घकालका लागि प्रभावित भएका कारण होटेल समूह भने तंग्रिन सकेन ।

वि.सं २०७७ मा १२ वटा कम्पनीले ११ अर्ब ५८ करोड ८८ लाख ७२ हजार १०० बराबरको ११ करोड ५८ लाख ८८ हजार ७ सय २१ कित्ता आइपिओ निष्कासन गरे । ती कम्पनीमध्ये सबैभन्दा बढी संख्यामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आइपिओ निष्कासन ग¥यो । कम्पनीले नेपालको धितोपत्र बजारमा कुनै पनि आवेदकको हात खाली नहुने गरी ८ करोड कित्ता आइपिओ निष्कासन ग¥यो । यसले डिम्याट खाता खोल्ने र प्राथमिक सेयरमा लगानी गर्ने सर्वसाधारणको संख्यामा समेत उल्लेख्य वृद्धि ग¥यो । यस कम्पनीको सेयर करिब १५ लाख व्यक्तिको हातमा प¥यो । यसपछिका निष्कासनमा आइपिओमा आवेदन दिने ग्राहकको संख्या क्रमिक रूपमा बढ्दै हाल करिब २० लाखको आसपास पुगिसकेको अवस्था छ ।

यसै वर्ष पाँचवटा नयाँ इन्स्योरेन्स कम्पनी, तीनवटा हाइड्रोपावर कम्पनी, दुईवटा लघुवित्त कम्पनी, चन्द्रागिरि हिल्सले समेत आइपिओ निष्कासन गरे । यीमध्ये धेरैजसो कम्पनीको द्वितीय बजारमा समेत उच्च माग देखियो, जसले सूचीकृत भएको एक महिना नपुग्दै केही नयाँ कम्पनीको प्रतिकित्ता सेयर मूल्य अस्वाभाविक गतिमा ३ हजार छुनेक्रममा पनि देखियो ।

समग्रमा २०७७ साल बैंकिङ अन्य क्षेत्रको तुलनामा  महामारीको चपेटाबाट चाँडो बाहिर निस्कियो । नयाँ वर्ष बैंकिङसँगै सबै क्षेत्र र व्यक्तिका लागि सुखद बनोस्, बैंकिङ खबरको तर्फबाट सबैलाई शुभकामना

 

 

 


सोसिअल मेडिया