August 16th, 2016

बीमा गर्दा तपाईलाई हुने सात फाइदाहरु

bimaगत वर्षको महाभूकम्पपछि बीमाबारे नेपालीहरुले सोच्ने विचारमा ‘सकारात्मक’ परिवर्तन भएको छ । नेपालीहरुमा यसप्रतिको आकर्षण बढेको छ । तर पनि जति अघि बढ्नुपर्ने हो त्यो गतिमा अझै बीमा व्यवसाय अघि बढ्न सकेको छैन । बीमा व्यवसाय शुरु भएको ६५ वर्ष भईसकेको छ । तर एक दशकयता मात्र यो व्यवसायले विस्तारै ‘पिकअप’ लिइरहेको छ । तर एक दशकयताको अवस्थामा पनि जीवन बीमा गर्नेको सङख्या एकदमै न्युन छ, जुन निराशाजनक भएको विज्ञहरु बताउँछन् । दक्षिणी छिमेकी भारत र नेपालमा बीमाको काम सँगै शुरु भएको हो । तर भारतीयले बीमालाई प्राथमिकतामा राखेका छन्, नेपालमा भने जम्मा ५/७ प्रतिशत बिमितमा सीमित छ । 

सरकारी तथ्यांकलाई नै आधार मान्ने हो भने नेपालमा झण्डै ९५ प्रतिशत नेपालीले बीमा गरेका छैनन् । नेपालमा बीमा व्यवसाय फस्टाउन नसक्नुको प्रमुख कारणहरु नेपाली समुदायमा बीमा सम्बन्धी आवश्यक जानकारीको अभाव नै भएको जानकारहरुको तर्क छ । बीमा भनेको के हो ? यसबाट के फाईदा हुन्छ भन्ने जानकारी सर्वसाधारणमा प्रभावकारी ढंगबाट बुझाउन अझै सकिएको छैन । पश्चिमी मुलुकहरुमा हेर्ने हो भने त्यहाँ हरेक जसो नागरिकले बीमा गर्नैपर्ने व्यवस्था छ । तर नेपालमा त्यस्तो व्यवस्था छैन ।

गत वर्षको बैशाख १२ गते आएको महाभूकम्पपछि बीमाको महत्व अझ बढेको छ । मानिसको जीवनको कुनै टुंगो हुँदैन भन्ने कुरा भूकम्पले सिकाएर गएको छ । आफ्नो र परिवारको भविष्य सुरक्षित गर्ने माध्यमका रुपमा पनि बीमालाई महत्वपूर्ण मानिन्छ । किनभने सामान्य हिसाबले भन्दा जीवन बीमाको मुख्य आधार भनेकै आर्थिक जोखिमको हस्तान्तरण हो । हरेक व्यक्तिको जीवनमा एक प्रकारको आर्थिक जोखिम हुन्छ । कुनै पनि व्यक्तिले आफ्नो जीवनको योजना बनाउँदा परिवारको भविष्यका बारेमा पनि सोच्नुपर्छ । 
विभिन्न विज्ञहरुको विश्लेषण्मा आधारित बुँदामा हेरौँ बीमा गर्दाका सात फाइदाहरु :
 
१. आर्थिक जोखिमको हस्तान्तरण
हरेक व्यक्तिको जीवनको आर्थिक मूल्य हुन्छ । अर्थात्, कुनै व्यक्तिले जुन किसिमले आम्दानी गरिरहेको हुन्छ । त्यो कमाइले उसको परिवारको पालनपोषण, शिक्षादीक्षा भइरहेको हुन्छ । आम्दानीबाट उसको समाजमा केही योगदान पनि भईरहेको हुन्छ । सरकारलाई उसले कर तिरेको हुन्छ । यदि ऊ नहुँदा यो सबै कुरामा एउटा ‘भ्याकुम’ सिर्जना हुन्छ । त्यो हुन नदिनलाई नै जीवन बीमा गर्नुपर्ने हुन्छ । अरू सबै सामानको मूल्य निर्माण गर्दा नै तोक्न सकिन्छ । तर, मान्छेको मूल्य भने उसले आफैँ तोक्ने हो । कसरी, कस्तो परिवेशमा के काम गरिरहेको छ, त्यो अनुसार उसको आफ्नो जीवनको मूल्य हुन्छ । त्यही आधारमा हामीले बीमा गरेको हुनुपर्छ । कुनै घटना वा दुर्घटनाका कारण उसको परिवारले ठूलो दुखको सामना गर्नु नपरोस् भन्ने यसको भावना हो । त्यसैले आर्थिक जोखिमको हस्तान्तरण गर्दा बीमाबाट फाइदा लिन सकिन्छ ।

२. व्यक्ति स्वयम्को लागि
मानिसले जीवन वा परिवार धान्न कमाई गरिरहेको हुन्छ । उसको आकस्मिक मृत्यु भयो भने आम्दानी बन्द हुन्छ । यसले परिवारको जीवनशैलीलाई एकैपटक ठूलो अप्ठ्यारोमा पार्छ । त्यसलाई बिस्तारै व्यवस्थापन गर्ने र अर्को स्रोतको खोजी गरी परिवारले कमाउन थालुन्जेल बीमाले महत्वपूर्ण सहयोग पुर्याउँछ । 
 
३. भविष्यको योजना निर्माण गर्न
हाम्रो इच्छा र आकांक्षा आवश्यकताभन्दा माथि नै हुन्छ । हामीसंग भविष्यका योजनाहरु पनि हुन्छन् । सोही अनुसार हामी काम गरिरहेका हुन्छौँ । उदाहरणका लागि तीन वर्षपछि एउटा स्कार्पियो किन्छु वा ८ वर्षपछि घर बनाउँछु । यस्ता योजनामा हामीले आँखा चिम्लेर सोचेर मात्र पुग्दैन । यसका लागि हामीले बचत गर्न थाल्नुपर्छ, काम गर्नुपर्छ यस्तै यस्तै । कुनै पनि व्यक्तिका तीनै सपना वा योजनाहरुलाई कायम गर्न र आफ्नो अनुपस्थितिमा योजना असफल नहुने गरी जीवन बीमामार्फत भविष्यको योजना बनाउन सक्छौँ ।
 
४. दीर्घकालीन पुँजी निर्माण
तपाईँ हामी सबैलाई आफ्नो उच्च आर्थिकस्तर, गुणस्तरीय जीवनको चाहना हुन्छ । जुन आजको भोलि हुन सक्दैन । त्यसमा निश्चित समयसम्म धैर्य गर्नुपर्छ, संगै मिहिनेत गर्नुपर्छ । योजना निर्माण गरेर बचत पनि हुनुपर्छ । एउटा अनुशासित जीवन बाँच्नु धेरै गाह्रो कुरा हो । जीवन बीमामा अनुशासित बचत गर्ने प्रक्रिया हुन्छ । जीवन बीमाका विभिन्न योजनाअनुसार निश्चित समयसम्म हामीले शुल्क तिर्दै जान्छौँ । त्यही आधारमा बचत हुँदै जान्छ । यदि नियमित तिरेन भने त्यो खारेज हुन्छ । यसले बिमाशुल्क तिर्न अनुशासित बनाउँछ । यो अनिवार्य बचतका रूपमा हामी सोच्न थाल्छौँ । त्यसले भविष्यमा पुँजी निर्माण गर्छ । जब बीमा परिपक्व हुन्छ, त्यसबेला त्यो रकमले दैनिक जीवनयापनभन्दा फरक आवश्यकता पूरा गर्छाैं ।

५. राष्ट्र निर्माणमा भूमिका
हरेक राष्ट्रभक्त नेपालीले देश विकासमा आफ्नो पनि सानो योगदान होस् भन्ने चाहना राख्छ । पूर्वाधार निर्माणमा सबैभन्दा बढी पुँजी जीवन बीमाले निर्माण गर्न सक्छ । देश विकासमा अलिकति पनि योगदान गर्न कसैले चाहन्छ भने जीवन बीमा उपयुक्त माध्यम हो ।

६. छारोछोरीको शिक्षा
हरेक व्यक्तिले आफ्ना सन्तान शिक्षीत बनुन् भन्ने चाहना राखेका हुन्छन् । सन्तानको शिक्षाका लागि हरेक व्यक्तिले चाहेअनुसारका बीमा गर्न सक्छन् । कसैले बालबालिकाको भविष्यका बारेमा सोच्छ भने जीवन बीमा उसको शिक्षाको निरन्तरता र सही उपलब्धिकै लागि अत्यावश्यक बन्न सक्छ । कुनै घटना वा दुर्घटनाको कारण आज गुणस्तरीय निजी शिक्षण संस्थाबाट भोलि सस्तो र सामान्य विद्यालय खोज्दै हिँड्नुपर्ने दुर्भाग्यबाट पनि जीवन बीमाले जोगाउँछ । परिवार चलाउन पनि व्यवस्थापन चाहिन्छ भन्ने यसैले देखाउँछ ।

७. ऋणको समस्याबाट मुक्ति
हाम्रो मुलुकमा सबैभन्दा ज्यादा नेपाली ऋणको समस्याबाट गुज्रिएको पाइन्छ । कुनै व्यवसाय वा काम पर्दा मानिसले सरसापट वा ऋण लिन्छ । कसैले घर बनाउनुपर्यो भने ऋण लिने र मासिक किस्ता (इएमआई) तिरी ढुक्कले बसेको हुन्छ । उसले आफ्नो कमाइसँग जोडेर यतिसम्म तिर्न सक्छु भनेर काम गरेको हुन्छ । मैले १० वर्षको ऋण लिएको छु, सजिलै तिरिहाल्छु । यहाँ ९० प्रतिशत परिवारमा एकजना मात्र कमाउनेछन् । आज किनेको घर भोलि परिवारका लागि ठूलो तनाव हुन सक्छ । यो तनावबाट बाँच्न जति ऋण लिएको छ, सोहीबराबरको जीवन बीमा गर्ने हो भने उसलाई केही भइहालेमा पनि उसको परिवार घरबाट निकालिनुपर्ने अवस्था आउँदैन । बैंकले घरको बीमा गरेको हुन्छ । केही भए उसले बीमा पाइहाल्छ । ऋणीलाई केही भएर कर्जा नउठे लिलाम गरेर उठाइहाल्छ । यस्ता समस्याबाट मुक्ति पाउनको लागि बीमा आवश्यक छ ।