निश्चल अधिकारी – बैंकिङ खबर / मुद्राको आविष्कार भएको दिन पक्कै पनि विश्व चकित थियो । मानिसलाई लागेको थियो, अब वस्तुविनिमयका सबै झन्झटबाट मुक्ति पाइनेछ । सही पनि हो, वस्तुविनिमयको ज्यादै अप्ठेरो, अव्यावहारिक र असहज प्रणालीबाट मानिसले मुक्ति पनि पायो । तर, मुद्रा प्राप्तिको खुसी मानिसका लागि आमखुसीजस्तै क्षणिक नै रह्यो । कारण, यसबाट मानिसका झन्झट समाप्त भएनन् । पहिले वरदान मानिएको धातुमुद्रा विस्तारै विनिमयको असहज माध्यम सावित हुँदै गयो । ठूलो परिमाणमा भुक्तानी गर्नुपर्दा यसको प्रयोग निकै असहज थियो । जीवन सरल बनाउन सहज विकल्पको खोजी गर्नु मानवीय स्वभाव नै हो । निरन्तर खोज–अनुसन्धानमा सक्रिय मानव कागजी मुद्राको आविष्कार गर्न सफल भयो ।
कागजी मुद्राको मुद्रण बैंकिङ क्षेत्रको क्रान्तिकारी कदम थियो । तर, आज त्यही क्रान्तिकारी छलाङ लगाएर आएको नोटको प्रयोग मानिसलाई झन्झटिलो लाग्न थालेको छ र वास्तवमै यो झन्झटिलो बन्दै पनि गएको छ । किन त ? जबाफको केन्द्रमा समय रहन्छ । यसको केन्द्रीय कारण समय हो, जसका परिधिमा समयानुकूल समाजको विकासक्रम, असीमित र अतृप्त मानवीय आवश्यकता, तिनको पूर्तिका लागि भइरहेका खोज–अनुसन्धानमा मानवले प्राप्त गरेको अपार सफलता, आवश्यकताको निरन्तर बदलिरहने लोचदार चरित्र, मानवको जीवन सरल बनाउने चाहना र सुविधाभोगी गुण, नवीन प्रविधिको उपयोगमा मानिसको बढ्दो आकर्षणलगायत रहन्छन् ।
मुद्राको महत्त्वबारे बुझ्न धेरै लामो इतिहास केलाइरहनु आवश्यकता छैन । हाम्रै पुस्ताले पनि कहीँ कतै, कुनै न कुनै प्रकारको वस्तुविनिय प्रणालीको अभ्यास स्वयम् गरेको वा आफन्तले गरेको देखेको हुनुपर्छ । आज पनि देशका विकट स्थनहरूमा यदाकदा वस्तुविनिमयको अभ्यास प्रचलनमा रहेको भेटिन्छ, यद्यपि यसलाई सामान्यीकरण गरेर हेर्न भने मिल्ने अवस्था छैन । आजको परिस्थितिमा वस्तुविनिमय प्रणालीलाई बाध्यात्मक मान्न सकिँदैन । मुद्राको आविष्कारपूर्व विनिमय कति असहज थियो होला ? यसको अनुमान हामी सहजै लगाउन सक्छौँ । जब वस्तु तथा सेवाको मूल्य नै निश्चित वा निर्धारित हुँदैन, त्यतिवेला विनिमय असहज, अव्यावहारिक र असन्तुलित हुनु नौलो भएन ।
कुनै पनि देश, समाज वा व्यक्ति पूर्णतः आत्मनिर्भर हुन सम्भव छैन । यदि हुँदो हो त आन्तरिक वा अन्तर्राष्ट्रिय व्यापार चल्ने नै थिएन । जतिसुकै शक्तिशाली देश किन नहोस्, ऊ प्रत्यक्ष वा परोक्ष रूपमा अर्को देशसँग निर्भर हुन्छ । यसमा महाशक्ति वा विकसित राष्ट्रहरूले चाहेमा आफूलाई चाहिने सबै वस्तु तथा सेवाको उत्पादन स्वयम् किन गर्न सक्दैनन् वा गर्दैनन् भन्ने जिज्ञासा उत्पन्न हुन सक्छ । तर, यो जिज्ञासा उत्पादनको महत्त्वपूर्ण पाटोलाई नजरन्दाज गरिँदाको उपज हो । उत्पादनको प्रत्यक्ष सम्बन्ध लागत र गुणस्तरसँग हुन्छ । वस्तुको लागत देश, काल, परिस्थिति, प्राकृतिक तथा मानवीय स्रोतसाधन (कच्चापदार्थ र श्रमिक) को उपलब्धता आदिमा निर्भर गर्छ । समान गुणस्तरको वस्तु दुई देश वा स्थानमा उत्पादन गर्दा लागतमा ठूलो अन्तर आउन सक्छ । तसर्थ, आफ्नो देशमा जुन वस्तुको उत्पादन कम लागतमा उच्च गुणस्तरको सम्भव छ, त्यही वस्तुको आफूले उत्पादन गरी उपभोग र निर्यात गर्ने तथा अन्य देशमा कम लागतमा उत्पादन हुने वस्तु तथा सेवाको आयात गर्ने नीति देशहरूले लिएका हुन्छन् । यसरी नै अन्तर्राष्ट्रिय व्यापार चलिरहेको हुन्छ । यही नियम व्यक्तिमा पनि लागू हुन्छ । व्यक्तिको हकमा त झन् परनिर्भरता अधिक हुन्छ । आफूलाई आवश्यक पर्ने अधिकांश वस्तु तथा सेवा व्यक्तिले अरूबाट खरिद गर्नुपर्ने हुन्छ । औद्योगिकीकरण हुनुपूर्व अधिकांश व्यक्ति कृषिमा आश्रित हुँदा यो निर्भरता केही कम थियो । तर, आधुनिक युगमा यो निर्भरता अत्यधिक छ, जसले कालान्तरमा दुर्घटना निम्त्याउन सक्ने आकलनसमेत गर्न सकिन्छ । व्यक्ति, देश वा समाजको एकअर्काप्रतिको निर्भरताले नै वस्तु तथा सेवाको मौद्रिक मूल्य निर्धारणलाई बाध्यात्मक बनाउँछ ।
जब मुद्रा नै थिएन, त्यतिवेला वस्तु तथा सेवाको मूल्यको मापन कति कठिन थियो होला ? अनि वस्तु विनिमयमार्फत वस्तु तथा सेवाको खरिदबिक्री कतिसम्म अप्ठेरो थियो होला ? व्यापार कति असमान, असन्तुलित र असहज थियो होला ? आफूसित भएको धान वा चामल दिएर भैँसी वा गोरु खरिद गर्नुपर्ने अवस्थालाई सम्झियौँ भने हामी तिनको सहजै अनुमान गर्न सक्छौँ । अझ भैँसी मात्र हुने व्यक्तिले त्यसको विनिमयमार्फत एक जोर लताकपडा किन्नुपर्यो भने ? न भैँसीलाई टुक््रयाउन मिल्छ, न पूरै दिन सकिन्छ । जेसुकै किन्नुपरेमा आफूसित भएको सामान बोकेर गाउँ–सहर चहानुपर्ने, त्यति गरेर पनि क्रेता र विक्रेताको अवाश्यकता नमिले के गर्ने ? यही असहज अवस्थाले नै मुद्रालाई जन्म दियो ।
पहिलोपटक धातुमुद्राको प्रयोग गर्न पाएको दिन मानव कति खुसी थियो होला ? उसलाई वस्तुविनिमयका सबै झन्झटबाट मुक्ति पाएको महसुस भएको हुनुपर्छ । आफ्ना वस्तु तथा सेवाको उचित मूल्य पाउने र आफूले खरिद गर्नुपर्नेमा पनि सही मूल्यमा पाइने भएपछि खुसी झन् बढेको हुनुपर्छ । जीवन निकै सरल भएको अनुभूति भएको हुनुपर्छ । तर, मानिसका ती अनुभूति र सोचाइ लामो समय कायम रहेनन् र रहनु पनि हुँदैनथ्यो । एउटा सफलताबाटै सन्तुष्ट भएर जीवनलाई थप सरल बनाउन नवीन प्रयास नथाल्ने हो भने विकास अवरुद्ध हुन्छ, समाज परिवर्तनशील रहन सक्दैन । मानिसले धातुमुद्राका कमजोरीहरू अनुभूत गर्दै गयो । उसले विनिमयको सरल र प्रभावकारी विकल्पको खोजी गरि नै रह्यो । फलस्वरूप ऊ कागजी मुद्रा प्रतिपादन गर्न सफल भयो, जुन अत्यन्त न्यून अवगुणयुक्त विनिमयको साधन थियो, परिणामस्वरूप लामो कालखण्डसम्म यसले विनिमयको नेतृत्व ग¥यो र आज पनि प्रचलनमा छ । यसअघिका मुद्राको तुलनामा विनिमयको उत्तम साधन भएकैले यो लामो समय टिकेको हो ।
कागजी मुद्रा विनिमयको सरल माध्यम भएर पनि मानिसमा असुरक्षाको डर कायमै थियो । मानव मस्तिष्कले बैंकिङ प्रणालीको परिकल्पना र विकास गर्यो । बैंकिङ प्रणालीले मुद्राको असुरक्षाको डर धेरै हदसम्म हटाइदियो । अब मानिसको मुद्राको सुरक्षा बैंकले गरिदिने भयो । आवश्यक परेको खण्डमा चेकमार्फत आफूले जम्मा गरेको रुपैयाँ निकाल्न र चेकमार्फत नै भुक्तानी गर्न सकिने भयो । यसका कारण पैसा लिएर हिँड्नुपर्ने झन्झट हट्यो । एउटै चेकमा आफूले चाहेको रकम भरेर बैंकलाई भुक्तानीको आदेश दिन मिल्ने भयो । तर, सीमित स्थानमा अत्यन्त सीमित संख्यामा मात्र बैंक हुँदा यो पनि विस्तारै असहज बन्न थाल्यो । यसले बैंकिङ क्षेत्रमा निजी क्षेत्रलाई प्रवेश गरायो ।
सरलीकृत बैंकिङको सुरुवात

बैंकको एउटा शाखामा रहेको खाताको कारोबार अन्य जुनसुकै शाखाबाट गर्न मिल्ने भयो । खातामा रहेको पैसा निकाल्न तथा खातामा पैसा राख्न सम्बन्धित शाखामै धाउन नपर्दा मानिसको झन्झट निकै साँघुरियो, तर समाप्त भने भएन । यतिवेला बैंकिङ क्षेत्र प्रतिस्पर्धात्मक बनिसकेको थियो । अब नयाँ सुविधाको खोजी उपभोक्ताले भन्दा बढी व्यवसायीले गर्ने परिस्थिति निर्माण भयो । प्रतिस्पर्धात्मक बजारमा टिकिरहन र आफ्नो व्यवसाय विस्तार गर्न ग्राहकलाई नयाँ–नयाँ सुविधा दिन व्यवसायीले निरन्तर खोज–अनुसन्धानमा लाग्नुपर्ने अवस्था बजारले आफैँ सिर्जना गर्यो । यसले बैंकिङ प्रणालीमा अकल्पनीय छलाङ ल्यायो, जसलाई अत्याधुनिक प्रविधिको विकासमा विज्ञानले हासिल गरेको चामत्कारिक सफलताले साकार तुल्यायो ।
समय बदलियो, अवसरको प्रचुरताका कारण मानिस व्यस्त बन्दै गयो । अब उसलाई चेक लिएर बैंकसम्म पुग्न वा चेकमा लिखित आदेश दिएर भुक्तानी गर्न झन्झट लाग्न थाल्यो । सञ्चार जगत्ले छोटो समयमा मारेको क्रान्तिकारी छलाङका कारण हात–हातमा स्मार्ट फोन पुगिसकेको छ । इन्टरनेटको विकासले समग्र विश्वलाई साँघुरो बनाइसकेको छ । व्यक्ति अनेकौँ सामाजिक सञ्जालमा आबद्ध छ । देश–विदेशका खबर तथा नवीनतम आविष्कारबारे व्यक्ति जानकार छ । तर, अझै कुनै भुक्तानी गर्नुपर्दा चेक बोकेर बैंक धाउनुपर्छ । हिजो जीवनलाई सरल बनाउने चेक अब उसलाई झन्झटको भारी लाग्न थाल्यो । उपभोक्ताको यही मनोविज्ञानलाई बुझेर वित्तीयसंस्थाहरूले नयाँ प्रविधि भित्र्याउन थाले । डेभिड तथा क्रेडिट कार्डको विकास भयो । बैंकले आफ्ना ग्राहकलाई ‘एटिएम’ सुविधा प्रदान गर्न थाले । अब कार्डको सुविधा लिने ग्राहक आफ्नो खाताबाट पैसा निकाल्न चेक लिएर बैंक धाउनुपर्ने झन्झटबाट मुक्त भयो । पैसाको कारोबार बढी हुने चिकित्सालय, शिक्षालय, सपिङ मल, पार्कलगायतमा एटिएम मेसिन राख्न बैंकहरूबीच होडबाजी नै चल्यो । यसले बैंक र ग्राहक दुवैलाई सहजता दियो । यसैबीच अन्तरबैंकिङ नेटवर्कको विकास भयो । अब एउटा बैंकको एटिएम प्रयोग गरी जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्न सकिने भयो । एउटा बैंकको चेक अर्को बैंकमा जम्मा गर्न सकिने सुविधा यसअघि नै विकसित भइसकेको थियो ।
नवीनतम प्रविधिको बलमा बैंकहरूले अनेकखाले सुविधा विस्तार गर्दै लगे, जसमा केही दशकअघि मात्र पनि असम्भव मानिएका सुविधासमेत सामेल थिए । सुविधाविस्तारसँगै झन्झटको परिभाषा र उपभोक्ताको आवश्यकता पनि बदलिँदै गयो, जसले कागजी मुद्रा वा त्यसको वैध सांकेतिक चिह्न चेकलाई पनि झन्झटको भारी सावित गरिदियो । आजको युगले विद्युतीय भुक्तानीलाई अङ्गीकार गरिसकेको छ । जागरुक उपभोक्ता यसमा अभ्यस्त भइसकेका छन् । विकसित मुलुकहरूले ‘क्यासलेस सोसाइटी’को अवधारणालाई साकार तुल्याइसकेका छन्, यद्यपि मुद्राशून्य अवस्था भने कतै पनि छैन । विकासशील तथा अल्पविकसित देशहरू पनि मुद्रामाथिको समाजको निर्भरता घटाउन अभियान चलाइरहेका छन् । नेपाल सरकार पनि यही अभियानमा छ, जसको कार्यान्वयनका लागि राष्ट्र बैंक आक्रामक रूपमा लागिरहेको छ । केन्द्रीय बैंकको यो सक्रियतामा सेवाप्रदायक वित्तीयसंस्थाहरूले यथासम्भव साथ दिइरहेका छन् । सरकारी कार्यालयदेखि निजी संघसंस्थासम्म, ठूला सपिङ मलदेखि तरकारी बजारसम्म, हवाईजहाजको टिकटदेखि स्थानीयस्तरका छोटा दूरीमा चल्ने टेम्पोको भाडासम्म विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने सुविधा विस्तार भइसकेको छ र द्रुत गतिमा हुँदै छ । यद्यपि, अहिलेकै विस्तारलाई पर्याप्त भने मान्न सकिँदैन, यसलाई क्रान्तिकै रूपमा गाउँ–गाउँसम्म पु¥याउनु आवश्यक छ ।
दिनहुँजसो दर्जनौँ स्थानमा ‘क्युआर कोड’ प्रदान गरिएका खबर आउँछन् । नगद वा डिम्याटको खाता खोल्न बैंक तथा क्यापिटल धाइरहनुपर्दैन । खाता सञ्चालनका लागि घरबाटै विद्युतीय आवेदन दिएर अनलाइन सुविधा लिन सकिन्छ । आफ्नो खाताको पैसा मोबाइलबाटै अरूको खातामा स्थानान्तरण (ट्रान्स्फर) गर्न सकिन्छ । अनलाइनमार्फत नै ‘आइपिएस’ सुविधा लिन सकिन्छ, जसको प्रयोगले जुनसुकै बैंकमा रहेका जुनसुकै खातामा घर बसी बसी मोबाइल, ट्याबलेट वा कम्प्युटरबाट पैसा पठाउन सकिन्छ । आफ्नो खातामा पैसा घटबढ भएको विवरणको जानकारी लिन बैंक धाइरहनुपर्दैन, न त इन्टरनेट बैंकिङमार्फत स्टेटमेन्ट लिइरहनु नै पर्छ, मोबाइल बैंकिङ/एसएमएस बैंकिङको सुविधा लिएपछि कारोबारलगत्तै खातामा भएको परिवर्तनको विवरण मोबाइलले एसएमएसमार्फत सूचित गर्छ । प्रायः प्रसिद्ध बजार तथा सेवाकेन्द्रहरूमा विद्युतीय भुक्तानी गर्न सकिन्छ । यसमा न क्यास बोक्ने झन्झट रहन्छ, न त खुद्रा पैसाका लागि भौँतारिनुपर्छ । समय र श्रमको खर्चविना रुपैयाँमा मात्र नभएर पैसामा समेत ‘एक्युरेट’ भुक्तानीको सुविधा विद्युतीय भुक्तानीमा छ । अर्को महत्त्वपूर्ण पक्ष नगद भुक्तानीभन्दा विद्युतीय भुक्तानीमा विशेष छुटसमेत दिइने गरेको छ । तथापि, बैंक तथा वित्तीय संस्थामा चेक वा पैसा बोकेर घण्टौँसम्म लाइनमा बस्ने प्रचलन कायमै छ । किन त ? यहाँ यसका कारणहरू खोतल्नु वाञ्छनीय छ किनकि जनसाधारणमा जागरण नआएसम्म र उनीहरूले विद्युतीय भुक्तानीको ज्ञान हासिल गरी त्यसको व्यावहारिक कार्यान्वयनमा अभ्यस्त नभएसम्म र यसलाई दैनिक जीवनको अङ्ग नबनाएसम्म सेवाप्रदायक, नियामक निकाय, सरकार, सञ्चारमाध्यम वा अन्य कुनै पक्षले जति नै जोड गरे पनि भौतिक मुद्रामाथिको निर्भरतालाई निरुत्साहित गर्न सकिँदैन ।

विद्युतीय भुक्तानीप्रति सामाजिक उदासीनताका कारणहरू
– वित्तीय साक्षरताको कमी
नेपाली समाज पछिल्लो समय निकै शिक्षित बनिसकेको छ, तर वित्तीय साक्षरताको दृष्टिले भने अझै पनि अनपढप्रायः नै छ । वित्तीय क्षेत्रमा संलग्न व्यक्तिहरूका अतिरिक्त केही प्रतिशत व्यक्ति मात्र वित्तीय क्षेत्र र त्यससँग सम्बन्धित नवीनतम प्रविधिबारे जानकार छन् । तसर्थ, विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरी भौतिक मुद्रामाथिको निर्भरता घटाउन सर्वप्रथम सहरदेखि ग्रामीण क्षेत्रसम्म वित्तीय साक्षरता अभिवृद्धिका कार्यक्रम तय गरी तिनको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक छ । यसको कार्यान्वयनमा सञ्चारमाध्यम तथा सामाजिक संघ–संस्थाको भूमिका महत्त्वपूर्ण बन्न सक्छ ।
– विद्युतीय भुक्तानीको महत्त्वबोध नहुनु
भुक्तानीका नवीनतम विद्युतीय माध्यमबारे जानकारमध्ये पनि कतिपय व्यक्तिलाई विद्युतीय भुक्तानीको बहुआयामिक महत्त्वबोध नभएको पाइएको छ । भुक्तानीमा विद्युतीय प्रणालीको व्यापकताले उपभोक्ता, सेवाप्रदायक, समाज र समग्र राष्ट्रलाई समेत पु¥याउने फाइदाबारे जानकार हुने हो भने अधिकांश व्यक्ति यसप्रति प्रोत्साहित हुने सहजै अनुमान गर्न सकिन्छ । विद्युतीय भुक्तानीले उपभोक्ताको समय र श्रमको दैनिक बचत हुने कुरा त चेक वा पैसा बोकेर भौँतारिनु नपर्ने, आफ्नो साथमा हमेसा हुने मोबाइलबाटै इच्छाएको वेला भुक्तानी गर्न सकिने उदाहरणले नै बुझाउन सकिन्छ । खुद्रा पैसाका लागि चिन्ता गर्नुनपर्ने, सधैँ वास्तविक मूल्यमा कारोबार गर्न सकिने, पैसा हराउने, चोरिने वा बोक्न बिर्सिने समस्याबाट मुक्ति पाइनेजस्ता प्रत्यक्ष फाइदाका विषय पनि बुझाउन कठिन छैन । कोभिड १९ महामारीको अभूतपूर्व अवस्थाको स्मरण र अनुभूति यसको महत्त्वबोध गराउने उपयुक्त उदाहरण बन्न सक्छ । परिवार, आफन्त वा नजिकका, चिनेजानेका मानिसको निकट हुनु वा जुनसुकै वस्तु छुनु जोखिमपूर्ण हुने अवस्थामा सबैभन्दा बढी व्यक्तिको हातमा पुग्ने नगदको दैनिक कारोबार वास्तवमै जोखिमपूर्ण र संशयदायक थियो । यदि हामी विद्युतीय भुक्तानीमा अभ्यस्त थियौँ भने नछोईकनै भुक्तानी आदान–प्रदान गर्न सक्थ्यौँ । यीबाहेक विद्युतीय भुक्तानीले व्यक्ति वा समाजलाई अनेकौँ अप्रत्यक्ष लाभ दिइरहेको हुन्छ ।
विद्युतीय भुक्तानीले समाजमा आपराधिक क्रियाकलापलाई धेरै हदसम्म निरुत्साहित गर्छ । भ्रष्टाचारको त यो शत्रु नै हो । अवैध आर्थिक लेनदेन विद्युतीय माध्यमबाट गर्नु ज्यादै जोखिमपूर्ण हुने हुँदा नगद वा भौतिक सम्पत्तिमै गरिन्छ । त्यसैले भौतिक मुद्राको प्रयोगलाई निरुत्साहित गरी विद्युतीय भुक्तानीको प्रवर्धन गर्न सकिएमा भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्छ । विद्युतीय भुक्तानीले सार्वजनिक सेवाप्रवाहलाई छिटो–छरितो, चुस्त–दुरुस्त र पारदर्शी बनाउँछ । यसले अन्ततः उपभोक्तालाई नै बढी फाइदा पु¥याउँछ । विद्युतीय माध्यमबाट गरिएको भुक्तानीमा व्यापारीले नियमानुसार राज्यलाई तिनुपर्ने कर छल्ने सम्भावना न्यून रहन्छ । यसले देशको ठूलो समस्याको रूपमा रहेको करछलीलाई निरुत्साहित गर्छ, परिणामस्वरूप राज्यको आय बढ्न गई विकासले गति लिन सक्छ । यसले सेवाप्रदायकहरूलाई पनि दिनहुँ पैसा जम्मा गर्न बैंक जानुपर्ने झन्झटबाट मुक्ति दिनुका साथै लेखाव्यवस्थापनमा समेत ठूलो राहत दिन्छ । यसले राज्यलाई देशमा चलिरहेको आर्थिक क्रियाकलापको निगरानी तथा नियमन गर्न तथा आवश्यक नीति–नियम तर्जुमा र कार्यान्वयनमा समेत सघाउँछ ।
अर्को महत्त्वपूर्ण पक्ष विद्युतीय भुक्तानीले मुद्राको मुद्रणमा बर्सेनि राज्यले खर्चने अर्बौं रुपैयाँ जोगाउँछ । हजार रुपैयाँको नोट छाप्दा झन्डै साढे तीन रुपैयाँ खर्च हुन्छ । एक रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ खर्च गर्नुपर्छ । नगदरहित कारोबार सुशासित समाज विकासको महत्त्वपूर्ण आधार हो । संसारका सुशासित मुलुकहरूमा नगदरहित कारोबार हुने गरेको छ । व्यक्ति र समाज दुवैलाई सभ्य र आधुनिक तुल्याउन यो प्रविधिको अभ्यास जरुरी छ । विद्युतीय भुक्तानीका यी र यस्ता उपभोक्ता र राज्यसँग जोडिएका फाइदाको बोध गराउन सकिएमा यसप्रति आकर्षण बढ्न गई समाज क्यासलेस सोसाइटीतर्फ अग्रसर हुन सक्छ ।
– प्राविधिक विषयमा रुचि र ज्ञानको अभाव
नेपाली समाज आज जति शिक्षित छ, त्यस अनुपातमा अत्यावश्यक तथा दैनिक कामका लागि उपकारक प्रविधि तथा सञ्चारका साधनको प्रयोगबारे जिज्ञासु छैन । परिणाम, समाजको ठूलो तप्का आफ्ना दैनन्दिन व्यवहारलाई सहज बनाइदिने, अनेकन झमेलाबाट मुक्ति दिने अत्याधुनिक प्रविधिसित अनभिज्ञ छ वा अभ्यस्त छैन । यो तप्का इतिहासको हरेक कालखण्डमा करिब करिब उही रूपमा छ, जो आफ्नो क्षमता र समाजको विकाससित प्रत्यक्ष सरोकार राख्ने नवीनतम आविष्कारको ज्ञान र प्रयोगबारे चासो राख्दैन । ऊ परम्परागत जीवनशैलीलाई परिवर्तन गर्न चाहँदैन, या त म पनि केही नयाँ गर्न सक्छु भन्ने विश्वास, त्यसप्रतिको संकल्प र अग्रसरता उसमा छैन । ऊ आफूलाई अत्यावश्यक नपरी आफ्नो नियमित कर्मभन्दा दायाँबायाँ सोच्दैन । जब कामै नचल्ने अवस्था आउँछ, अनि मात्र बाधाअड्काउ फुकाउका लागि प्रविधिसित साक्षात्कार हुने, त्यो पनि सकभर अरूकै सहायता लिएर काम चलाउने प्रवृत्ति यो तप्कामा छ । यो समूह वस्तुविनिमय प्रणालीदेखि आजको अत्याधुनिक प्रविधियुक्त विद्युतीय प्रणालीसम्म समाजको ठूलो हिस्सा ओगटेर बसेको छ । आजको प्रविधिमैत्री युगमा पनि यदाकदा वस्तुविनिमय प्रणालीको अवशेष विद्यमान हुनु यसैको उपज हो । यो समूह नै हरेक कालखण्डमा समतामूलक समाज स्थापना र द्रुततर प्रगतिको बाधक हो । यहाँ सोचविचार गरेरै यो समूहलाई लक्षित गरिँदै छ ।
आज अत्यन्त न्यून जनसङ्ख्या मात्र सञ्चारका कुनै न कुनै माध्यमको प्रयोगबाट वञ्चित छ । के सहर, के गाउँ, अधिकांश मानिस मोबाइल फोनको पहुँचमा छ । समाजको ठूलो हिस्सा स्मार्ट फोन र इन्टरनेटसित अभ्यस्त छ । फेसबुक, मेसेन्जर, टिकटक, युट्युबजस्तै अनेकौँ सामाजिक सञ्जालको टिआरपी बढाउनमा धेरै नेपालीको योगदान छ । कतिपयको त दिनको अधिकांश समय यस्तै सामाजिक सञ्जालको प्रयोगमा बित्ने गरेको छ । अभूतपूर्व रूपमा बैंकिङ क्षेत्रमा पहुँच विस्तार भएको छ । बैंक तथा वित्तीय संस्थामा खाताको सङ्ख्या नियाल्ने हो भने देशका हरेक आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीअन्तर्गत आइसकेझैँ भान हुन्छ, यद्यपि वास्तविक अवस्था त्यो होइन । तर, आफ्ना रुचिका विषयमा विद्युतीय उपकरण तथा प्रविधिको भरपूर प्रयोग गरिहेको यही समूह आफ्ना कामलाई पाइला पाइलामा सरल बनाउने प्राविधिक ज्ञान आर्जन र तिनको प्रयोगप्रति उदासीन छ । सामाजिक सञ्जालमा भएका आधुनिक विकाससित अभ्यस्त यो वर्ग कुनै वेवसाइटमा आफूलाई अत्यावश्यक सूचना हेर्नुपरेमा अरूलाई नै गुहार्छ । केही दिन होइन, केही घण्टा पनि होइन, केही मिनेटको प्रयासमै अभ्यस्त हुन सकिने यस्ता विषयको ऊ उपयोग गर्न चाहँदैन, या त सधैँभरि अरूमा आश्रित हुन्छ । धेरैजसो घरमा परिवारको कुनै न कुनै सदस्य यी विषयमा अभ्यस्त छन्, सिक्न अन्यत्र जानुपर्ने अवस्था पनि छैन । तर, यही सुविधाले परिवारका अन्य सदस्यलाई परनिर्भर बनाइरहेको छ । एउटाले जानेपछि निर्वाह त भएकै छ नि भन्ने सोचले पनि अन्ततः ठूलो हिस्सा प्रविधिमैत्री बन्न सकिरहेको छैन । तसर्थ, सिक्नलाई झन्झट मानेर सधैँभरको झन्झट बोकिरहने यो समूहको सोच परिवर्तन गराउनु आवश्यक छ, जुन निकै चुनौतीपूर्ण पनि छ ।
– इन्टरनेट अत्यावश्यक, तर पहुँचमा छैन
विद्युतीय भुक्तानीका लागि इन्टरनेट आधारभूत सर्त हो । अनलाइन बैंकिङ, विविध ई–सेवाहरू, क्युआर कोड, आइपिएसलागायत सबैखाले विद्युतीय कारोबारका लागि इन्टरनेट अनिवार्य छ । तर, यो अत्यावश्यक साधन आमनागरिकको पहुँचमा आइसकेको छैन । हातहातमा मोबाइल पुगेजसरी इन्टरनेटको विस्तार हुन सकेको छैन । विस्तार भएका स्थानमा पनि यो जनसाधारणले उपयोग गर्न सक्ने मूल्यमा उपलब्ध छैन । अझै मोबाइल डाटाको प्रयोग त यति महँगो छ कि मध्यमवर्गले समेत यसलाई प्रयोग गर्न सक्दैन । इन्टरनेटको पहुँचमा भएको समूह पनि कतिपय अवस्थामा सेवाको न्यून गुणस्तरका कारण आजित बनिरहेको छ । यसले विद्युतीय भुक्तानीको प्रवर्धनमा प्रत्यक्ष र परोक्ष दुवै रूपमा ठूलो बाधा सिर्जना गरिरहेको छ ।
एकातिर प्रविधिसित अभ्यस्त व्यक्तिहरूले पनि इन्टरनेट अभावमा विद्युतीय भुक्तानी गर्न सकिरहेका छैनन् भने अर्कोतर्फ यसको ज्ञान लिन चाहनेले पनि अवसर पाइरहेका छैनन् । तसर्थ, सञ्चारका साधनमाथिको पहुँच विस्तारसँगै तिनको सार्थक प्रयोगमा बहुउपयोगीसिद्ध इन्टरनेटलाई जनसाधारणको पहुँचमा विस्तार गर्नु र सेवाको गुणस्तर अभिवृद्धि गर्नु अति आवश्यक छ । अन्यथा भौतिक मुद्रामाथिको निर्भरता घट्ने छैन र डिजिटलाइजेसनको सपना अधुरै रहने निश्चित छ ।
उपभोक्तालाई अनुरोध
मानव जीवनसँग जोडिएका सरल, सहज, झन्झट, सुविधा, विकासजस्ता यहाँ उठान गरिएका विषयहरू सापेक्ष छन्, अर्थात् यी विषयलाई सापेक्षतामा हेर्नु आवश्यक छ । जीवन कहिल्यै सरल हुँदैन, ‘भन्दा सरल’ हुन्छ । वस्तुविनिमय प्रणालीको युगमा भन्दा धातुमुद्राको युगमा जीवन निकै सरल थियो । तर, आजको विद्युतीय कारोबारको युगको अपेक्षामा त्यही धातुमुद्राको युगमा जीवन कैयौँ गुना कठिन थियो । हिजो जीवनलाई निकै सरल बनाएको कागजी मुद्रा आज झन्झटको भारी बनिसकेको छ । सापेक्षतावादको यही सिद्धान्तमा टेकेर जीवनलाई थप सरल, सहज र सुविधायुक्त बनाउँदै लानु मानवको धर्म र अद्वितीय क्षमता पनि हो । यही नै विकासक्रम हो र व्यक्ति र समाजको प्रगतिको आधार हो । मानवीय आवश्यकता पूर्तिकै लागि विकास हुन्छ र त्यही विकासप्रदत्त नवीनतम ज्ञान र प्रविधिको अभ्यासमै व्यक्ति र समाजको प्रगति निर्भर गर्छ । त्यसैले नवीनतम प्रविधिहरूको प्रयोगमा अभ्यस्त भएर समाज र देशको विकासमा सहयोगी भूमिका खेल्नु हामी सबैको दायित्व हो, जसले सबैभन्दा बढी प्रयोगकर्तालाई नै लाभ पुर्याउँछ ।
विद्युतीय भुक्तानी जटिल विषय बिलकुलै होइन । मोबाइल फोनको सामान्य प्रयोग गर्न जानेका, अक्षर र अङ्क चिनेका र इन्टरनेटको कामबारे सामान्य जानकारी हासिल गरेका हामीमध्ये जोकोही यो सुविधाको सुरक्षित प्रयोग गर्न योग्य छौँ । सिकाइका लागि केही समय खर्चिन झन्झट मानेर जीवनभर झन्झटका अनेकन भारी बोक्नुभन्दा एकपटक सिक्नु उत्तम विकल्प हो । आखिर चाहेर–नचाहेर एकदिन त सिक्नु नै छ । सिकाइ यस्तो विषय हो जुन जन्मेदेखि मृत्युपर्यन्त चलि नै रहन्छ । सिकाइले हामीलाई आत्मनिर्भर बनाउँछ, आफूमाथि विश्वास पैदा गराउँछ जुन प्रगतिको आधार सिद्ध हुन्छ । त्यसैले आजै सिकौँ र विद्युतीय भुक्तानीलाई दैनिक जीवनको अभिन्न अंग बनाऔँ । यसले हाम्रो समय र श्रमको मात्र होइन, पैसको पनि वचत गर्छ । बारम्बार भइरहने यो वचतलाई सिर्जनात्मक कार्यमा लगाउन सकिएमा जीवनमा नसोचेको परिवर्तन आउन सम्भव छ । हामीले आज चालेको यो सानो कदम आफू, समाज र देशको सर्वाङ्गीण विकासमा कोसेढुंगा सावित हुन सक्छ ।
जहाँसम्म पहुँच अभाव र अन्य चुनौतीका प्रसंग छन्, यी विस्तारै न्यून हुँदै जानेछन् । यीमध्ये कतिपय हाम्रै त कतिपय सेवाप्रदायकको सक्रियताले सम्बोधित हुनेछन् । उदाहरणका लागि विद्युतीय भुक्तानीमा हाम्रो सक्रियता बढेसँगै बढ्दो मागले इन्टरनेट सेवाको विस्तार र गुणस्तर वृद्धिका लागि सेवाप्रदायकहरू बाध्य हुनेछन् । सेवाविस्तारसँगै शुल्क पनि कम हुँदै जानेछ । राज्य र तिनका नियामक निकायले पनि यो अभियानको सफलताका लागि उचित कदम चाल्ने नै छन् । हिजो सेवाप्रदायक वित्तीय संस्थाहरू हाम्रो अपेक्षाअनुसारको सुविधा दिन नसक्ने अवस्थामा थिए । आज बैंकिङ क्षेत्रले यति लामो छलाङ लगाइसकेको छ कि सेवाप्रदायकको गतिमा हामी सेवाग्राही हिँड्न सकिरहेका छैनौँ । तसर्थ, लाज नमानी सिकौँ, झन्झटको भारी सावित भइसकेको नोटको प्रयोग यथासम्भव घटाऔँ र डिजिटलाइजेसनको यो महान् अभियानलाई सफल पारौँ ।




