२०७३ श्रावण ३१ गते

पश्चिमका चार सहकारी : जसले गरे पाँच अर्बभन्दा बढी बचत

depositधौलागिरि अञ्चलका चारवटा जिल्लामा रहेका सहकारी संस्थामा कुल बचत रकम पाँच अर्ब चार करोड ८५ लाख रुपैयाँ रहेको छ । बढी ब्याज पाइने हुँदा सहकारीमा बचतकर्ताको आकर्षण बढेको हो । सहकारीले समुदायमा बचत गर्ने बानीको विकाससमेत गराएको छ । सहकारीमा जम्मा भएको बचत रकमले लगानीवृद्धि गरेको छ ।

डिभिजन सहकारी कार्यालयका अनुसार गत आवमा सबैभन्दा बढी बागलुङका सहकारीमा २ अर्ब ५७ करोड ७६ लाख ३६ हजार रुपैयाँ बचत छ भने म्याग्दीका सहकारीमा २ अर्ब ११ करोड २६ लाख ४४ हजार रुपैयाँ, पर्वतका सहकारीमा ३५ करोड ७९ लाख ४७ हजार र मुस्ताङका सहकारीमा २ लाख ७३ हजार रुपैयाँ बचत छ । 

सहकारीमा बचत भएको रकम व्यापार, कृषि, पशुपालन, जग्गा, साना उद्योग लगायतका क्षेत्रमा लगानी हुने गरेको छ । लगानीको ठूलो हिस्सा व्यापार, व्यवसायले ओगटेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक समिति सदस्य रामबहादुर जिसीले बताए । अन्य वित्तीय संस्थाको तुलनामा ब्याजदर बढी हुने हुँदा सहकारीमा बचत वृद्धि हुँदै गएको उनको भनाइ छ । 

धौलागिरि क्षेत्रका सहकारीले अधिकतम १४ प्रतिशतसम्म ब्याजमा बचत लिने गरेका छन् । ऋण लगानी भने ४ प्रतिशतसम्म ब्याज बढाएर गर्ने गरेका छन् । लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, वित्तीय प्रगतिजस्ता क्षेत्रमा सहकारीले ठूलो योगदान पुर्याएको डिभिजन सहकारी कार्यालयका सहकारी निरीक्षक दिलबहादुर केसीले बताए । ग्रामीण अर्थतन्त्रको मुख्य हिस्सेदारी सहकारीले लिँदै गएको छ ।

बचत बढेसँगै ऋण लगानी पनि वृद्धि भएको छ । धौलागिरिभरिमा सहकारीमार्फत करिब ७ अर्ब ऋण लगानी भएको छ भने सबैभन्दा बढी बागलुङका सहकारीले ४ अर्ब २३ करोड ११ लाख १२ हजार रुपैयाँ ऋण लगानी गरेका निरीक्षक केसीले जानकारी दिए । म्याग्दीका सहकारीले २ अर्ब ३० करोड १४ लाख २हजार र पर्वतका सहकारीले ४६ करोड ३४ लाख ५७ हजार रुपैयाँ ऋण लगानी गरेका छन् । मुस्ताङका सहकारीले २ लाख ४० हजार रुपैयाँ ऋण लगानी गरेका छन् । सेयर वृद्धि, बचत, लगानीलगायत सहकारीले वर्षमा अर्बौंको कारोबार गर्ने गरेका छन् । 

बागलुङमा ४ सय ६१, पर्वतमा ३ सय ३१, म्याग्दीमा २ सय १३ र मुस्ताङमा ३८ गरी धौलागिरिमा १ हजार ४३ सहकारी दर्ता छन् ।