August 15th, 2016

सिनर्जी पावरको आईपीओमा २५ प्रतिशत मात्रै आवेदन, थपियो समय र गाविस

ipoसिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले निष्काशन गरेको ७ लाख कित्ता साधारण शेयर (आईपीओ) मा कम आवेदन परेपछि शेयर निष्काशन अवधि थप गरिएको छ । साउन ३० मा समाप्त हुने सङ्कलन मिति भदौ १८ गतेसम्म थप गरिएको हो । 

गत साउन १६ गतेबाट आयोजना प्रभावित ६ गाविसका बासिन्दाहरुको लागि कम्पनीले ७ लाख कित्ता बराबरको आईपीओ निष्काशन गरेको थियो । आयोजना प्रभावित गाविस उत्तरी दोलखाको गौरीशंकर, खारे, लामाबगर, ओराङ, बुलुङ र लादुकबाट आवेदन सङ्कलन गर्ने गरी प्राथमिक शेयर निष्काशन गरिएको थियो । सिभिल क्यापिटल मार्केट लिमिटेडले निष्काशन गरेको आईपीओ अरनिको डेभलपमेण्ट बैङ्कको सिंगटी शाखा र लामाबगर गाविसको जगतमा आयोजनाका कर्मचारीले शेयर आवेदन फारम सङ्कलन गरेका थिए । निष्काशन खुला गरेको १३ दिनमा ६ गाविसका ५ सय ५४ जनाले मात्र शेयर आवेदन भरेको अरनिको डेभलपमेण्ट बैङ्क सिंगटी शाखाले बताएको छ । ६ गाविसका करीब २० हजार जनसङ्ख्यामध्ये ५ सय ५४ जनाले कुल रू. १ करोड ७७ लाख मूल्य बराबरको १ लाख ७७ हजार कित्ता शेयर आवेदन भरेका हुन् । यो कूल माग गरिएको सेयर संख्याको २५ प्रतिशत मात्र हो । अरनिको बैङ्क सिंगटी शाखाले ४ सय ७४ जनाबाट रू. १ करोड ४० लाख र आयोजनाको कर्मचारीले ८० जनाबाट रू. ३७ लाख सङ्कलन गरेको छ । आयोजनाले निष्काशन गरेको बराबरको शेयरमा अत्यन्त न्यून आवेदन परेको भन्दै सिप्रीङखोला सरोकार समितिले आयोजना प्रभावितमा मार्बु, चंखु, सुरी र लामिडाँडा गाविस समेत थप गरेको छ ।