August 12th, 2016

एफपीओ मूल्य कसरी निर्धारण गर्ने ? धितोपत्र बोर्डले तयार गर्यो यस्तो विधि

fpo1नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशन गरी सूचिकृत भईसकेका कम्पनीको फर्दर पब्लिक इस्यू (एफपिओ) को मूल्य निर्धारण विधि तथा आधारहरु तयार गरेको छ । बोर्डले एफपिओको मूल्य निर्धारणका आधार र विधिहरु सिफारीश गर्न गठन गरेको समितको प्रतिवेदनका आधारमा मूल्य निर्धारण विधि तयार पारेको हो । 

मूल्य निर्धारणका आधारहरु
अब एफपिओको मूल्य निर्धारण गर्दा सम्बन्धित संस्थाको विगत , वर्तमान र भविष्यको वित्तीय विवरणको मूल्याङ्न तथा औषत बजारमूल्यका आधारमा गरिनेछ । विशेषगरि सम्बन्धित कम्पनीको पूँजीकृत भएको आम्दानी, प्रतिशेयर खुद सम्पतिको मूल्य, १८० दिनको औषत बजारमूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्यको आधारमा एफपिओको मूल्य निर्धारण गरिनेछ । सूचिकृत संस्थाले बोर्डले तय गरेको आधार र विधि अनुसार मूल्य गणना गर्ने र सबैविधिबाट उपलब्ध भएको कुल मूल्यको सामान्य औसत गणनागरि मूल्य निर्धारण गर्नुपर्नेछ ।

साथै सूचिकृत संगठित संस्थाले एफपिओ निष्कासनको लागि साधारणसभाबाट अनुमोदन भएको चार महिनाभित्रमा बोर्डमा आवेदन दिई सक्नुपर्नेछ । त्यसैगरि सम्बन्धीत कम्पनीले मूल्य निर्धारण गर्दा बोर्डले तय गरेको विधी बमोजिम भए नभएको औचित्य समेत प्रष्टयाउनुपर्ने धितोपत्र बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

एफपिओको मूल्य निर्धारणमा एकरुपता ल्याउनको लागि यस्तो विधि ल्याएको बोर्डले जनाएको छ । अंकित मूल्य भन्दा बढी मूल्य तोकी निष्काशन गर्दा मूल्य निर्धारण प्रक्रिया स्वच्छ, निष्पक्ष र पारदर्शी हुने बोर्डले अपेक्षा गरेको छ ।