हरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । त्यस्तै, व्याजदर करिडोर कार्यान्वयनको विषयले पनि यो साता चर्चा पायो । यस साता, पनि शेयर बजारकै समाचार चर्चामा रह्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
शेयर बजारको अस्थिरता
यो साताको सुरुवातमा शेयर बजारमा अघिल्लो साताकै गिरावटले निरन्तरता पायो । केही समयअघि शेयर बजार अत्याधिक बढिरहँदा शेयर बजारमा कालोधन भित्रिएको हो कि भन्ने शंक उपशंकाले ठाउँ पाए । सोहीको छानविनका लागि धितोपत्र बोर्डले सम्पित्ति शुद्धिकरण छानविन गर्न एक समिति गठन गर्यो । बोर्डको सोही निर्णयप्रति लगानीकर्ता असन्तुष्ट रहे । फलस्वरुप शेयर बजार ह्वात्तै घट्यो । एकै सातामा १०९ अंकले घटेको बजार दोस्रो साताको २ दिनसम्म पनि घटि नै रह्यो । यसै कारण धितोपत्र बोर्डले यो साताको सोमबार बेलुका समितिलाई खारेज गरेको जानकारी गरायो । फलस्वरुप, मंगलबार शेयर बजार सवा १ घण्टामा नै ५ प्रतिशतले बढ्यो भने बुधबार पनि दोहोरो अंकले बढ्यो । विहीबार भने सामान्य गिरावटसँगै बजार बन्द भयो । यो बीचमा धितोपत्र बोर्ड र नेप्सेले लगानीकर्तालाई हतोत्साहित नहुन अनुरोध गर्दै विज्ञप्ति जारी गरे ।
व्याजदर करिडोर
विगत ४ वर्षदेखि कागजमै मात्रै सीमित भएको व्याजदर करिडोर यसै साताको बुधबारदेखि लागू भयो । करिडोर लागु गर्न बुधबारै दुई हप्ताका लागि तरलता संकलन उपकरण जारी गर्यो । बजारमा रहेको २५ अर्ब रुपैयाँ अधिक तरलतामध्ये २० अर्ब रुपैयाँ बराबरको उपकरण जारी गरिएको हो ।
रेमिट्यान्स : एकातिर खुसी, अर्कातिर दुःख
मलेसियाले पुनः विदेशी कामदार लिने निर्णय गर्यो । यससँगै नेपालको रेमिट्यान्समा सकारात्मक प्रभाव पर्ने देखिएको छ । तर, अर्कातिर साउदी अरबको अर्थतन्त्रको मूख्य स्रोतका रुपमा रहेको कच्चा तेलको मूल्यमा ऐतिहासिक गिरावट आएपछि त्यहाँको रोजगारी कटौती हुने सम्भावना प्रवल बन्दै गइरहेको छ । ठूलो संख्यामा नेपाली कामदारहरु पनि त्यहाँ रहेकाले नेपालको रेमिट्यान्समा ठूलो धक्का लाग्ने संकेत देखिएको छ ।
बीमा क्षेत्रका नयाँ खबर
गरीबी निवारण कोषले लगानीमा बीमा गर्न शुरू गर्यो । छिटै २२ वटा जिल्लामा विस्तार गर्ने भनिएको सरकारको स्वास्थ्य बीमा कार्यक्रम जनशक्ति अभावमा कारण आगामी फागुनमा सर्यो । सगरमाथा इन्स्योरेन्स कम्पनीले नेपाली बीमा बजारमा ‘सगरमाथा भिआईपी अन द स्पष्ट’ नामक नयाँ बीमा योजना ल्यायो ।
शेयर निष्काशन तथा वितरण
मेगा बैङ्क नेपाल लिमिटेडको हकप्रद शेयर निष्काशन तथा बिक्री विहिबारदेखि भदौ २९ गतेसम्मका लागि खुल्ला गरियो । अपि पावर कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई बोनश शेयर तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सार्यो । फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले पनि आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव अघि सार्यो । सिन्धु विकास बैंकले एक सय रुपैयाँ अंकित दरका १२ लाख कित्ता हकप्रद शेयर यसै साताको आइतबारदेखि निष्काशन गर्यो । सोही दिनदेखि मनास्लु बिकास बैंकले पनि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्यो । एभरेष्ट बैंक लिमिटेडले ४५ करोड रुपैंया बराबरको फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने जानकारी गरायो । स्टान्डर्ड चार्टर्ड बैंकले यसै साताको आइतबारदेखि आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्यो ।
शाखा सेवा तथा प्रविधि विस्तार
सनराइज बैंकले रेमिट्यान्स सेवा बिस्तार गर्ने क्रममा कोरियाका इन्टरनेशनल बैंक अफ कोरिया (आईबीके)संग विप्रेषण सम्बन्धी सम्झौता गर्यो । नेपाल बैंक लिमिटेड र सेवा युनाइटेड रेमिटबीच भुक्तानीसम्बन्धि सम्झौता भयो । कृषि विकास बैंक लि. र एफ वन सफ्ट प्रा.लि. बीच एसएमएस अलर्ट सेवा सञ्चालनमा ल्याउने सम्झौता भयो ।
अन्य : तर, उत्तिकै महत्वपूर्ण
स्टाण्डर्ड चाटर्ड बैंक, नेपालले सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड एसिया २०१६ को उपाधि जित्यो । विराटनगर उपमहानगरपालिकाले यसै आर्थिक वर्षदेखि लागू हुने गरी घर जग्गा करको दस्तुरमा चार गुणाले वृद्धि गर्यो । नेपाल राष्ट्र बैकले विदेशी मुद्रामा खाता खोल्ने नेपालीले बर्षभरीमा खर्च गर्न पाउने रकममा ५ हजार बढायो ।
बागलुङ जिल्लाका सात सहकारी एकीकरण भए । ग्लोबल आइएमई बैंकले कालीकोटका विभिन्न सरकारी विद्यालयहरुलाई १२ थान कम्प्युटर सहयोग गर्यो ।




