August 11th, 2016

कसरी साटिन्छन् नेपालमा विदेशी मुद्रा ? हेर्नुस् रिपोर्टमा

money 1विदेशी मुद्रा सटही गर्ने कार्य नै मनी एक्सचेन्ज हो । हाम्रो देशमा संचालन भइरहेका विभिन्न व्यवसाय मध्ये यो पनि एक प्रकारको सानो व्यवसाय हो । नेपालीहरु विदेशबाट फर्केपछि या विदेशीहरु नेपालमा भित्रीएपछि विदेशि करेन्सी साटेर नेपाली रुपैंया लिनका लागि मनी एक्सचेन्ज कम्पनीहरुको सहायता लिन सकिन्छ । नेपालमा राष्ट्र बैंकले विनिमय दर तोकेका २१ ओटा देशका करेन्सीको सटहिको कार्य मनी एक्सचेन्ज कम्पनीले गर्न पाउँछन् । 

राष्ट्र बैंककै नियमन
जसरी  बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैंकबाट रेगुलेटेड हुन्छन् । त्यसैगरि मनी एक्सचेन्जको काम गर्ने संस्थाहरुको नियमनकारी निकाय पनि नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंक नै हो । नेपाल राष्ट्र बैंकले मनी एक्सचेन्ज बजारमा जस्तो नीति लागु गर्छ त्यहि आधारमा नेपालका मनी एक्सचेन्जर कम्पनीहरु संचालित हुन्छन् ।

मुद्रा साट्न केके चाहिन्छ ?
मनी एक्सचेन्ज कम्पनीहरुको नियमनकारी संस्था नेपाल राष्ट्र बैंकले मनी एक्सचेन्जर कम्पनीहरुका लागि ल्याएको नीति अनुरुप, १ देखि ५०० सम्मका विदेशी करेन्सीहरु साट्ने हकमा पैसा सटही गर्न चाहने व्यक्ति वा संस्थाको परिचय खुल्ने कागजातहरु (जस्तै, आइडी कार्ड, नागरिकता, भेहिकल लाइसेन्स आदि) साथमा लिएर आएको खण्डमा उसले ५०० सम्मको विदेशी करेन्सी साट्न पाउँछ । तर ५०० भन्दा माथिका विदेशी करेन्सीहरु साट्ने हकमा भने पैसा सटही गर्न लागेको व्यक्तिको भिसा लागेको पासपोर्ट, कुन प्रयोजनको लागि करेन्सी एक्सचेन्ज गर्न लागेको यसको विस्तृत विवरण सहितको कागजात र यदि विदेशबाट कमाएर ल्याएको करेन्सी भए त्यहाँ रहँदा काम गरेको कम्पनीको विवरण समेतको कागजात पैसा साट्न लागेको व्यक्तिको साथमा भएमा मात्र ५०० भन्दा माथिको करेन्सी साट्न पाउने प्रावधान नेपाल राष्ट्र बैंकले मनी एक्सचेन्जर कम्पनीहरुलाइ दिएको छ । अहिले नेपलमा राष्ट्र बैंकले तोकेको विनिमय दरको संख्या जतिओटा छन्, ति सबै देशका करेन्सीहरु साट्न सक्ने इजाजत राष्ट्र बैंकले मनी एक्सचेन्जर कम्पनीहरुलाई दिएको छ ।

छाता संगठन : मनी एक्सचेन्ज एसोसियसन अफ फिन
“मनी एक्सचेन्ज एसोसियसन अफ फिन” मनी एक्सचेन्ज कम्पनीहरुको छाता संगठन हो । देशभरका मनी एक्सचेन्ज कम्पनीहरुको हक हितको लागि काम गर्ने र मनी एक्सचेन्ज कारोबारलाई व्यवस्थित बनाउने उद्देश्य अनुरुप यो संगठनको स्थापना गरिएको हो । संगठनका अध्यक्ष केशव कुमार बस्नेतको नेतृत्वमा यो संगठनले काम गर्दै आएको छ । तर पनि आजका दिनसम्ममा मनी एक्सचेन्ज कम्पनीहरुका लागि एसोसिएसनले जति पनि कार्य गरिनुपर्ने हो, क्रियासिल भएर काम नगरेको गुनासो मनी एक्सचेन्ज कम्पनीका संचालकहरुको छ ।

राष्ट्र बैंकको अनुगमन
मनी एक्सचेन्जर कम्पनीहरु पुर्ण रुपमा राष्ट्र बैंकको नियन्त्रणमा हुने भएकाले राष्ट्र बैंकले चाहेको जुनसुकै समयमा पनि यी कम्पनीहरुको अनुगमन गर्न सक्छ । यसअघि राष्ट्र बैंकले धेरै पटक मनी एक्सचेन्ज कम्पनीहरुको अनुगमन कार्य गरिसकेको छ । राष्ट्र बैंकले देहाएको ऐन विपरित काम गर्ने मनी एक्सचेन्ज कम्पनीहरुलाई ऐन बमोजिमको कारबाहि गर्ने काम राष्ट्र बैंकले अनुगमनका समयमा गर्ने गरेको छ । अनुगमनको कार्य राष्ट्र बैंकले फिल्डमै गएर वा राष्ट्र बैकको कार्यालयबाटै गर्न सक्ने व्यवस्था बैंकको ऐनमा छ ।