गत आर्थिक बर्षमा अधिकांस बैंक तथा वित्तीय संस्थाहरुको नाफा उल्लेख्य रुपमा बढेको पाइएको छ । राष्ट्र बैंकको नीतिअनुरुप पुँजी पुर्याउन पुँजीवृद्धि गरिरहेका बैंक तथा फाइनान्स कम्पनीहरुको नाफा उल्लेख्य रुपमा बढिरहेको छ । पुँजी बढाउँदा कम्पनीको विश्वसनियता पनि बढ्दै जाने हुँदा स्वतः कम्पनीको व्यवसाय पनि विस्तार हुँदै जान्छ । यसले कम्पनीले गर्ने नाफालाई प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । यसैको प्रभाव साना किसान विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकको प्रगती विवरणमा पनि देखिएको छ । हेरौँ, यीनै तीन बैंकको समग्र प्रगती विवरण :
साना किसानको नाफा २२ करोड ३४ लाख
साना किसान विकास बैंक लिमिटेडले गत आर्थिक बर्षमा २२ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो वर्षमा १५ करोड ४० लाख रुपैयाँ नाफा गरेको बैंकले गत वर्ष ४४ दशमलव ८० प्रतिशतले नाफा बढाएको हो । ४० करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ९१ करोड ६१ लाख रुपैयाँ राखेको छ । बैंकले यसअवधिमा ११ अर्ब ३ करोड ४१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । ०.७ प्रतिशत खराब कर्जा रहेको बैंकले प्रोभिजनमा ६ करोड ८३ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिशेयर आम्दानी ५५.५३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ३ सय २७ दशमलव ६३ रुपैयाँ,मुल्य आम्दानीको अनुपात ४५ गुणा र तरलता अनुपात ८ दशमलव ४३ प्रतिशत रहेको छ ।
साइन रेसुङ्गाले कमायो २७ करोड
साइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षमा २७ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक बर्षमा १८ करोड २२ लाख रुपैयाँ नाफा गरेको बैंकले गत आर्थिक बर्षमा झण्डै ९ करोड रुपैयाँ नाफा बढाएको हो । बैंकले एक वर्षमा खुद ब्याज आम्दानी ३६ करोड ७३ लाख रुपैयाँबाट बढाएर ४७ करोड ३१ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक बर्षमा यस्तो थियो । बैंकले २ करोड २९ लाख रुपैयाँ राइट ब्याक गरेको छ । अघिल्लो बर्ष ४८ लाख रुपैयाँ मात्रै राइट ब्याक गरेको थियो ।
एक्सेल डेभलपमेन्ट बैंकको नाफा १० करोडमाथि
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा १० करोड ६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ७ करोड १३ लाख रुपैयाँ मुनाफा कमाएको बैंकले गत वर्ष ४१ प्रतिशतले बढी नाफा कमाएको हो । ३० करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडामा १६ करोड ३२ लाख रुपैयाँ राखेको छ । यसअवधिमा बैंकले ३ अर्ब ६३ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरेर ३ अर्ब ६३ करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । एक वर्षमा २ करोड ६७ लाख रुपैयाँ खराब कर्जा उठाएर १.०९ प्रतिशतमा झारेकोे बैंकले प्रोभिजनमा ३ करोड ८४ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिशेयर आम्दानी वार्षिक ३२ दशमलव ७२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २१ दशमलव २७ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५३ दशमलव ०८ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ५८ प्रतिशत रहेको छ ।