एक सय ग्रामसम्मको टुक्रा सुन पनि आयात गरिने
विदेशबाट अब एक सय ग्रामसम्मको टुक्रा सुन पनि ल्याइने भएको छ । यसअघि वाणिज्य बैंकहरुले १ किलोग्रामको सुनको ढिक्कामात्र ल्याउने गरेका छन् । एक किलोग्राम सुन आयात गर्दा साना व्यापारीले सिधै बाणिज्य बैंकमार्फत खरिद गर्न नसक्ने भएकाले यस्तो व्यवस्था गर्न लागिएको हो । साना व्यापारीको मागअनुसार भन्सार विभागले नेपाल राष्ट्र बैंकका अधिकारीसहित सुनचाँदी व्यवसायीहरुसंग छलफल गरेको थियो । सो त्रिपक्षीय छलफलमा १ सय ग्रामको टुक्रा सुन ल्याउने सहमति भएकाले सो व्यवस्था मिलाउन भन्सार विभागले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको जनाएको छ ।
राष्ट्र बैंकले सुन आयात गर्ने अधिकार वाणिज्य बैंकलाई मात्र दिएपछि उनीहरुले १ किलोग्रामको ढिक्का सुनमात्र ल्याउने गरेका छन् । राष्ट्र बैंकले एक सय ग्रामको सुन ढिक्का ल्याउन वाणिज्य बैंकलाई सर्कुलर गर्नेछ । बैंकले सुनको ढिक्का नकाट्ने भएकाले स–साना सुनाचाँदी व्यापारीले ठूला व्यापारीमार्फत खरिद गर्दै आएका छन् । ठूला सुन व्यवसायीले केही नाफा राख्ने भएकाले साना व्यापारीले आफुहरु मर्कामा परेको गुनासो गर्दै वाणिज्य बैंकलाई स–सानाटुक्रामा सुन ल्याउन आग्रह गर्दै आएका छन् ।