साना किसान विकास बैंकले आगामी बर्षका लागि फेरि चार सय युवालाई आधुनिक कृषि तालीमका लागि इजरायल पठाउन लागेको छ । बैंकका अनुसार यही अगस्ट १५ तारिख पहिलो चरणमा इजरायलस्थित आस्केलन कलेजका लागि ५१ जना विद्यार्थीहरु इजरायल जाँदैछन् । अघिल्लो वर्ष गएका विद्यार्थीहरु पनि समूहगत रुपमा फर्काउन सुरु गरिएको इजरायलस्थित किन्नरेट एकेडेमिक कलेजका कृषि तालीम संचालन निर्देशक ओरेन डेभिडले जानकारी दिए ।
तीन वर्षअघि नेपालका लागि इजरायली दूतावास, साना किसान विकास बैंक र साना किसान कृषि सहकारीको समन्वय तथा अर्थ र परराष्ट्र मन्त्रालयको सहमतिमा नेपालका साना किसान परिवारका युवाहरुलाई इजरायल पठाउन सुरु गरिएको थियो । यसअघि पहिलो चरणमा दुई सय चार, दोस्रो चरणमा पाँच सय २५ र तेस्रो चरणमा चार सय २५ गरी ११ सयभन्दा बढी युवाले उक्त अवसर प्राप्त गरिसकेका बैंकले जनाएको छ । इजरायल सरकारको सहयोगमा तीन वर्षअघि सुरु भएको ’लर्न् एण्ड अर्न्’ कार्यक्रमअन्तर्गत चौथो चरणमाका विद्यार्थीहरु त्यसतर्फ जान लागेका हुन् ।
मुलुकलाई कृषि प्रधान मुलुक भनिएपनि कृषिमा औद्योगिकरण र व्यवसायिकता विकास नभएको भन्दै इजरायली कृषि प्रविधि सिकाउन उक्त कार्यक्रम सुरु गरिएको हो । संसारमै इजरायली कृषि प्रविधिलाई उत्कृष्ट मानिन्छ । इजरायलले चार प्रतिशत जनसंख्याले कृषिलाई पेसा बनाएर बाँकी रहेको जनसंख्याको लागि आवश्यक पर्ने खाद्यान्नको जोहो गर्नुको साथै कतिपय उत्पादन बाहिरी देशमा निर्यात गर्ने गरिरहेको छ । यो पटक ४० जिल्लाका साना किसान परिवारका युवाहरुलाई इजरायल लैजान लागेको छ ।
साना किसान विकास यो पटक इजरायल जाने विद्यार्थीहरुका लागि नेपालमै प्राविधिक शिक्षा उपलब्ध गराएको छ । कृषि पढ्न इजरायल जाने विद्यार्थीलाई यसअघि यस्तो प्राविधिक ज्ञान दिने व्यवस्था थिएन । पहिलो पटक प्राविधिक शिक्षा उपलब्ध गराइएको हो । इजरायल पुगेका नेपाली विद्यार्थीहरु त्यहाँका विभिन्न कृषि कलेजमा अध्ययन गर्नेछन् भने विभिन्न कृषि फार्ममा काम गर्ने अवसर समेत पाउनेछन् ।


