नेपाल देश क्षेत्रफलको आधारमा सानो भएतापनि प्राकृतिक स्रोत तथा साधनको हिसाबले निक्कै नै ठुलो र धनि देश हो । हाम्रो देशमा उपलब्ध स्रोत र साधनहरुको उचित प्रयोग हुने हो भने आज नेपाली जनता विश्वको गरिबहरुको समुहमा चिनिनुपर्ने थिएनन् । यदि यी प्राकृतिक स्रोत र साधनहरु विदेशी मुलुकका हात लाग्ने हो भने उक्त देशमा लगानीका स्रोतहरु धेरै नै सिर्जना हुन्थे । तर नेपाल यस्तो राष्ट्रको रुपमा विश्वमा चिनिएको छ, जसले आफ्नो देशका जनतालाई भोकै राखेर अन्य मुलुकका लाई धनि बनाउन श्रम र दिमाग खर्चिरहेको छ । यसकारण पनि हाम्रो देशमा लगानीका स्रोतहरु अति न्युन संख्यामा छन् ।
अहिलेको नेपाली लगानीको सिनारिओका बारेमा कुरा गर्दा नेपालीहरुको मुख्य लगानीको क्षेत्र नै शेयर बजार भएको छ । व्यक्ति या संस्था, धनी या गरिब, बुढाबुढि या बालबच्चा, गाउँ या सहर, स्वदेशमा रहेका या विदेशमा रहेका नेपाली नागरिक जो कोसैलाइ पनि सेयर कारोबारले नतानेको भने छैन । यसमाथि पनि सेयर किनबेचलाई नै आफ्नो पेशाको रुपमा लिएर काम गर्ने नेपालीहरु पनि धेरै संख्यामा छन् । तर यसमध्ये सेयर बजार र कारोबारको बारेमा ज्ञान नै नभइकन बजारमा मच्चिएको हल्लाकै भरमा सेयरमा लागानी गर्नेहरु धेरै छन् । त्यस्तै, आफुले लगानी गर्न लागेको संस्थाको वित्तीय अबस्था र नीति नियमहरुका बारेमा कुनै अध्ययन अनुसन्धान नगर्ने र पछि घाटा बेहोर्नु परेमा अरुलाई दोष थोपर्ने बानी नेपाली सेयर लागानीकर्ताहरुमा छ । त्यसैले, लगानीकर्ताहरु कुन क्षेत्रमा लगानी गर्ने भन्ने विषयमा सधैँ अन्योलमा रहन्छन् ।
नीति नियम र पुँजी योजनाका आधारमा नेपाली सेयर लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्था नै सुरक्षित र भरपर्दो क्षेत्र हुन् भन्ने विश्लेषण नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष तथा नविल इन्भेष्टमेन्टका सिईओ प्रविणरमण पराजुलीको छ । उनी भन्छन्, “संस्थाको हालको मुनाफा, पुँजी र भविश्यमा आउनसक्ने डिभिडेन्ट बढि छ भनेर यो क्षेत्र चाहिँ लगानीका लागि बलियो छ भन्ने भन्दा पनि संस्थाको नीतिगत कुराहरुमा ध्यान दिनु उचित हुन्छ । सामान्यतः बीमा, हाइड्रोपावरहरुमा देखिने लाभांश अनिश्चित प्रकृतिको हुन्छ । तर बैंक तथा वित्तिय संस्थाहरुको क्षेत्रमा क्लियर नीति छ । राष्ट्र बैंकले ल्याउने मैद्रिक नीतिले अझ यसमा सहयोग गर्छ । बैंक तथा वित्तिय संस्थाहरुमा आज लगानी गरेमा कति वर्षमा के आउँछ र कुन माध्यमबाट प्राप्त गर्न सकिन्छ, भन्ने विषयमा स्पष्ट रुपमा संस्थाकै वेभसाइटमा जानकारी दिएको हुन्छ । बैंक तथा वित्तिय संस्थाले २ वर्षको लागि त पुँजी योजना नै अघि सारेका हुन्छन । आजसम्मको शेयर बजार र कारोबारको अध्ययन गर्दा बैंक तथा वित्तिय संस्था वाहेक अन्य संस्थाहरुबाट जारी भएको सेयर कारोबार बढ्नुमा बजार हल्ला नै हो भन्ने मलाइ लाग्छ । जस्तै इन्स्युरेन्स कम्पनीहरुको सेयर मुल्य आज बढ्छ भन्ने हल्ला बजारमा फैलन्छ, अनी भोलि थाहा छैन भन्ने हल्ला हुन्छ तर बजार मुल्य घट्छ । यसर्थ ः एक त बैंक तथा वित्तिय संस्थाहरुको नियमनकारी संस्था नेपाल राष्ट्र बैंक एक बलियो संस्था छ र विगतको सेनारीयोलाइ मुल्याङकन गर्दा पनि शेयर बजारमा अन्य संस्था भन्दा बैंक तथा वित्तिय संस्थाकै प्रभाव राम्रो हुन्छ । मुख्य कुरा यो छ कि बैंक तथा वित्तिय संस्थाहरुमध्ये पनि कुन बैंक या वित्तिय संस्था लगानीका लागि मजबुत छ भन्ने हुन्छ । यसका लागि लगानीकर्ताहरु आफैँले सेयर कारोबार गर्न लागेको बैंक तथा वित्तिय संस्थाहरुको वित्तिय अबस्थाका बारेमा विषेश अध्ययन गर्नुपर्ने हुन्छ ।”
यद्यपि नेपालमा लगानीका अन्य प्रशस्त स्रोतहरु भइदिएको भए सर्वसाधारण नेपाली लगानीकर्ताहरुका लागि आफुलाई ज्ञान नै नभएका क्षेत्रहरुमा लगानी गनुपर्ने अवस्थाको सृजना हुँदैनथ्यो । बजारी हौवाका भरमा लगानी गरेर पछुताउनुपर्ने अवस्थामा पनि सुधार हुन्थ्यो ।