माओबादी केन्द्रको नेतृत्वमा सरकार गठनसँगै सेयर बजार घटेको टिप्पणी आएपछि मंगलबार उपप्रधान एवम् अर्थमन्त्रि कृष्णबहादुर महराले सरोकारवालालाई बोलाएर छलफल गरेका छन् । महराले धितोपत्र बोर्ड, नेप्से, लगानीकर्ता, विश्लेषक, राष्ट्र बैंकका अधिकारीहरुलाई अर्थमन्त्रालयमै बोलाएर छलफल गरेका हुन् । छलफलका क्रममा उनले माओबादी नेतृत्वको सरकारलाई सेयर बजारसंग जोडेर टिप्पणी गरेकोप्रति दुखे व्यक्त गरेका थिए । सेयर बजारलाई माओबादी सरकारले नकारात्मक दृश्टिकोणले नहेरेको उनले स्पष्ट पारेका छलफलमा सहभागी एकले बताए । ‘म सुन्दै छु, हाम्रो पार्टीको नेतृत्वमा सरकार बनेपछि सेयर बजार ओरालो लाग्यो’ माओबादीका केन्द्रका महासचिव समेत रहेका अर्थमन्त्रि महराको भनाई उदृत गर्दै श्रोतले भन्यो, ‘तर यो सब भ्रम हो, हामीले सेयर बजारलाई त्यसरी नकारात्मक दृश्टिकोणबाट हेरका छैनौँ ।’
छलफलमा सहभागी धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले सेयर बजार घटाउन ब्रोकर र ‘व्ल्याक मनि होल्डर’ हरुको ठूलो हात रहेको बताएका श्रोतले जानकारी दिएको छ । ‘यहाँ धितोपत्र बोर्ड र हामीलाई दोष लगाइएको छ’ छलफलमा सहभागी उनको भनाई उदृत गर्दै श्रोतले भन्यो, ‘तर यहाँ सेयर बजारमा एउटा गलत ह्वीम ल्याएर बोर्ड र मलाई अप्ठेरो पार्ने चाल हो ।’
छलफलमा सहभागी लगानीकर्ताका प्रतिनिधि र विश्लेषकहरुले बोर्डको भुमिकालाई अझै प्रभावकारी र निष्पक्ष बनाउनुपर्नेमा जोड दिएका थिए । बोर्डले कसैलाई सल्लाह दिने काम भन्दा पनि नियमन पक्ष बलियो बनाउनुपर्नेमा उनीहरको जोड थियो ।
गतसातादेखि सेयर बजार निरन्तर ओराले लागेपछि लगानीकर्ताहरुले धितोपत्र बोर्डको भूमिकाप्रति प्रश्न उठाउँदै आएका थिए । सोमबार त सर्किट ब्रेक भएर बजार बन्द भएको थियो । धितोपत्र बोर्डले बजारमा ब्ल्याक मनि लगानी भएको भन्दै त्यसको छानवीनका लागि एउटा समिति गठन गरेयता बजार ओरालो लागेको थियो । छानवीन समिति गठनलगत्तै लगानीकर्ताहरुले आफुहरुलाई कालोधनको भूत देखाएर बोर्डले सेयर बजार घटाउन खोजेको आरोप लगाउँदै आएका थिए । सोमबार राति बोर्डले सो समिति खारेज गरेपछि मंगलबारबाट सेयर बजारमा सकारात्मक संकेत देखिएको छ ।