म्याग्दी जिल्लाको सदरमुकाम बेनी, दरवाङ, बाबियाचौर र भुरूङ तातोपानीमा शाखा रहेका विभिन्न बैङ्क तथा वित्तीय संस्थाको लगानीसँगै निक्षेप सङ्कलन र मुनाफा पनि बढेको छ । यहाँका व्यापार, व्यवसाय, घरजग्गा, वैदेशिक रोजगार, कृषि, पशुपालन, होटल तथा रेस्टुराँलगायतका क्षेत्रमा बैङ्किङ तथा वित्तीय संस्थाले लगानी गरेका छन् । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार आव २०७१/७२ मा यस जिल्लामा २ अर्ब ६८ करोड रुपैयाँ बैङ्किङ लगानी रहेको थियो । गत आवमा सो बैङ्किङ लगानी बढेर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।
बैङ्क तथा वित्तीय संस्थाका जिल्लास्थित शाखाले उपलब्ध गराएको तथ्याङ्कअनुसार निक्षेप सङ्कलनको तुलनामा कर्जा लगानी बढी छ । गत आवमा निक्षेपभन्दा ७० करोड रुपैयाँलेबढी कर्जा लगानी भएको छ । तथ्यांकअनुसार म्याग्दीमा रहेका बैङ्कका शाखाले गत आवमा मात्रै ३ अर्ब ७६ करोड निक्षेप सङ्कलन गरेका छन् । अघिल्लो आवमा जिल्लामा बैङ्क तथा वित्तीय संस्थाले २ अर्ब २१ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका थिए ।
ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्नु, लगानीको दायरा फराकिलो बनाउनु, राष्ट्र बैङ्कले क्षेत्रनै तोकेर निश्चित प्रतिशत लगानी गर्नुपर्ने नीतिगत व्यवस्था गर्नु र सर्वसाधारणको बैङ्किङ सेवाप्रतीको आकर्षणले लगानी बढेको राष्ट्रिय वाणिज्य बैङ्कको बेनी शाखाका प्रबन्धक धु्रवराज पनेले बताए । लगानी बढाएपछि यहाँका बैंकहरुको नाफा पनि बढेको छ । आव २०७१/७२ मा २० करोड रुपैयाँको हाराहारीमा मुनाफा गरेका म्याग्दीस्थित बैङ्क तथा वित्तीय संस्थाका शाखाले गत आवमा २२ करोड ९० लाख रुपैयाँ नाफा गरेका बताइएको छ ।
१३ ओटा बैङ्कको २० ओटा शाखा रहेको जिल्लाका करीब ४० हजार नागरिकले बैङ्कमा खाता खोली कारोबार गरिरहेका छन् । दरवाङमा वाणिज्य बैङ्कर ताकमको शिवाङबाट ग्लोबल आइएमई बैङ्कले शाखारहित बैङ्किङ सेवा प्रवाह गरेका छन् । गरिमा विकास बैङ्कको बेनी, बाबियाचौर, दरवाङ र भुरूङ तातोपानीमा शाखा छन् । प्रभु बैङ्कले बेनी र दरवाङ शाखाबाट सेवा दिँदै आएको छ । सरकारी स्वामित्वका नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य र कृषि विकाससहित माछापुच्छ्रे, सिटीजन्स, ग्लोबल आइएमई, बैङ्कअफ काठमाडौं लुम्बीनी बेनीमा शाखा सञ्चालन गरेका वाणिज्य बैङ्क हुन् । यसैगरी कैलाश, काष्ठमण्डप, ग्रिन र फेवा विकास बैङ्क तथा पश्चिमाञ्चल फाइनान्स कम्पनीको बेनीमा शाखा छन् । रासस




