August 9th, 2016

नेपाली बजारमा नक्कली नोटको विगविगी : होस् गर्नुस्, ठगिनुहोला !

moneyनक्कली नोटको कारोबार वर्षेनि फस्टाउँदै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, बैंक तथा वित्तीय संस्था र व्यक्ति विशेषको हातमा नक्कली नोट पर्ने क्रम बढेको छ । गत आर्थिक वर्ष२०७२/०७३ मा हजार दरका १ सय ५२ थान, ५ सय दरका ५७ थान र सय दरका २ थान नक्कली नोट नेपाल राष्ट्र बैंकमा पुगेको छ । जबकी अघिल्लो आर्थिक वर्ष ०७०/०७१ मा हजार दरका ४९ थान र सय रुपैयाँ दरका ११ थान नक्कली नोट राष्ट्र बैंकमा आइपुगेका थिए । पछिल्लो ३ वर्षको तथ्यांक हेर्ने हो भने नक्कली नोट बैंक तथा वित्तीय संस्था र व्यक्ति विशेषको हातमा पर्ने क्रम ३ गुणाले बढेको छ । आफूसँग भएको नोट सक्कली हो वा नक्कली हो भनेर छुट्ट्याइ माग्न सर्वसाधारणहरु नेपाल राष्ट्र बैंक धाउने गर्दछन् । राष्ट्र बैंकले सो नोटलाई सक्कलीसँग दाँजेर सक्कली या नक्कली पहिचान गर्ने गर्दछ । 

राष्ट्र बैंकमा मात्रै हैन, प्रहरी प्रशासनले पनि उत्तिकै मात्रामा नक्कली नोट जफत गरेर आफ्नै तरिकाले नष्ट गर्ने गरेका छन् । त्यस्तै, बैंकका क्षेत्रीय स्तरका कार्यालयमा पनि यस्ता नोटहरु आउने क्रम बढिरहेको पाइएको छ । उनीहरुले यस्ता नोटलाई संकलन गरेर वर्षको एकपटक जलाउने गरेका छन् । 

बढी भिडभाड हुने र धेरै जनासँग एकैसाथ कारोबार हुने व्यस्त ठाउँहरुमा यस्ता नक्कली नोटको प्रयोग बढी हुने गरेको राष्ट्र बैंकको भनाइ छ । प्रहरी प्रधान कार्यालयको एक अध्ययनका अनुसार बढी भिडभाड हुुने क्षेत्र, जुवाको खाल, हाटबजार, इँटा भट्टाका मजदुरलाई ज्याला दिँदा, गाउँघरमा खसी–बोका किन्दा, होटल र भारतीय बजारमा लागू औषध तथा इन्धन खरिद हुने क्षेत्रमा नक्कली नोट प्रयोग हुने गरेको छ । त्यस्तै, ५ सय र हजार दरका नक्कली नोट सबैभन्दा बढी कारोबार हुने गरेको राष्ट्र बैंकले जनाएको छ ।