हिमायलयन बैंकले कर्जा नतिरेको भन्दै चलचित्र व्यवसायी उद्धव पौडेलको सम्पत्ति लिलामी गर्न लागेको छ । पौडेल अध्यक्ष भएको नेपाल चलचित्र विकास कम्पनी लिमिटेड (एनएफडीसी)ले कर्जा नतिरेपछि बैंकले भदौ ६ गते एनएफडीसीको नाममा रहेको सबै सम्पत्ति लिलाम गरेर कर्जा असुली गर्ने प्रक्रिया अघि बढाएको हो ।
बैंकले सोमबार सूचना प्रकाशित गरी एनएफडीसीका अध्यक्ष पौडेलले आफ्नो व्यवसाय सञ्चालन गर्न बैंकको न्युरोड शाखाबाट लिएको कर्जा पटक–पटक ताकेता गर्दा पनि नतिरेको भन्दै सम्पत्ति लिलामीको प्रक्रिया सुरु गरेको जनाएको छ । ऋणको साँवा र ब्याज चुक्ता गर्न पटक–पटक ताकेता गर्नुका साथै ३५ दिने सूचना प्रकाशित गर्दा पनि कर्जा चुक्ता गर्नेतर्फ चासो नदेखाएपछि पौडेलको नाममा रहेको एनएफडीसीको सम्पत्ति लिलामी गर्न लागेको बैंकले स्पष्ट पारेको छ ।
एनएफडीसीको बालाजु औद्योगिक क्षेत्रमा निर्माण भएको भौतिक संरचना, प्रशोधनशाला भवन, स्टुडियो भवन, सवारीसाधन तथा अन्य सबै उपकरण लिलामी गरिने बैंकले जनाएको छ । एनएफडीसीलाई बैंकबाट ऋण लिनका लागि पौडेलले व्यक्तिगत जमानी दिएका थिए । त्यस्तै, कर्पोेरेट जमानी ओम्नी होल्डिङ प्रालिले दिएको थियो ।
चलचित्र निर्माता, वितरक, गोपीकृष्ण मुभिज प्रालिका मालिक तथा टिभी फिल्मी टेलिभिजन र रेडियो फिल्मी एफएमका सञ्चालक उद्धव उनी राप्रपा नेपालका केन्द्रीय सदस्यसमेत हुन् ।