Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

फेरि खुल्यो मलेशिया : रेमिट्यान्समा उज्यालो संकेत

२०७३ श्रावण २३ गते

malasiaमलेसियाले पुनः विदेशी कामदार लिने निर्णय गरेपछि त्यसले नेपालको रेमिट्यान्समा सकारात्मक प्रभाव पार्ने देखिएको छ । झन्डै सात महिनादेखि मलेसियाले कामदार लिन बन्द गरेपछि नेपाल सबैभन्दा बढी मारमा परेको थियो । नेपालबाट सबैभन्दा धेरै नेपाली मलेसिया कामका लागि जाने मुलुक हो । रेमिट्यान्स पनि सबैभन्दा धेरै यही देशबाट आउने गरेको छ । वार्षिक ६ खर्ब हाराहारीमा रेमिट्यान्स आउने गरेकोमा मलेसियाको मात्रै ३० देखि ४० प्रतिशतको योगदान रहने गरेको छ ।

रेमिट्यान्समा अबको चुनौति
मलेसियाले विदेशी कामदार लिन बन्द गरेपछि त्यसको नकारात्मक प्रभाव रेमिट्यान्समा पर्ने प्रक्षेपण गरिएको थियो । अझैपनि आर्थिक वर्ष २०७२÷७३ मा वैदेशिक रोजगारीमा जानेको संख्या झन्डै एक लाख जनाले घटेकाले यसको असरले आगामी वर्षदेखि रेमिट्यान्समा भारी गिरावट आउन अनुमान गरिएको छ । रेमिट्यान्स घट्दा त्यसले समग्र मुलुकको अर्थतन्त्रमा जोखिम पैदा गर्ने अवस्था आउँछ । पछिल्लो तथ्यांक अनुसार अर्थतन्त्रमा रेमिट्यासको हिस्सा करिब ३० प्रतिशत रहेको छ ।

८ लाख नेपाली मलेसियामा
राष्ट्र बैंकका अनुसार गएको आर्थिक वर्षमा रेमिट्यान्स आयको वृद्धिदर खुम्चिएको छ । अघिल्लो आव २०७१/७२ मा रेमिट्यान्स वृद्धिदर १२.४ प्रतिशत रहेकामा आव २०७२/७३ मा वृद्धि दर जम्मा ८.६ प्रतिशतमात्र छ । भर्खरै सकिएको आर्थिक वर्षको ११ महिनामा कुल पाँच खर्ब ९८ अर्ब ९५ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकको अध्ययनले पनि आगामी वर्षदेखि रेमिट्यान्स वृद्धिर खुम्चिने देखाएको छ । वैदेशिक रोजगारीमा ४३ लाखभन्दा बढी नेपाली सरकारको अनुमति लिएर गइसकेका छन् । तीमध्यै मलेसियामा मात्रै करिब आठ लाख नेपालीले काम गरिरहेका छन् ।
 
चुनौतिसंगै खुलाइएको अवसर
मलेसियाले विदेशी कामदार लिन खुला गरेपनि यसपाली बंगलादेशलाई पनि रोजगारीको लागि अवसर प्रदान गरेको छ । नेपालले अव बंगलादेशसंग पनि प्रतिष्पर्धा गर्नुपर्नेछ, जसलाई वैदेशिक रोजगार व्यवसायीहरु चुनौतिका रुपमा देखिरहेका छन् । यसअघि १४ वटा देशलाई स्रोत मुलकमा राखिएकामा बंगलादेश थपेर १५ वटा पुर्याइएको छ । बंगलादेश खुला गरेपछि नेपालीलाई भने कामदार पठाउन खुला भए पनि तुलनात्मकरूपमा घाटा हुने व्यवसायीहरु बताउँछन् । विगतमा मलेसियाले बंगलादेश बन्द गरेकै कारण नेपाली कामदारले अधिक अवसर पाएका थिए ।