अमेरिकाले जुन महिनामा ४४.५ अर्ब डलर व्यापार घाटा व्यहोरेको छ । जुन, १० महिना यताकै उच्च व्यापारघाटा हो । जुनको व्यापारघाटा मे महिनाको ४१ अर्ब डलरको दाँजोमा ८.७ प्रतिशतले बढी हो । यसअघि अगस्टमा पनि अमेरिकाले ४४.६ अर्ब डलर घाटा बेहोरेको थियो ।
तेलका साथै चीनमा निर्मित कम्प्युटर, मोबाइल फोन र लत्ताकपडा आयातमा वृद्धिका कारण व्यापारघाटा बढेको बताइएको छ । सो अवधिमा निर्यातको तुलनामा आयातमा ठूलो अन्तरको वृद्धि देखिएको छ । कुल निर्यातमा ०.३ प्रतिशतको वृद्धि भई १८३.२ अर्ब डलर कायम भएको छ भने आयात १.९ प्रतिशतले बढेर २२७.७ अर्ब डलर कायम भएको छ । विशेष गरी पेट्रोलियम पदार्थको आयातमा १९.४ प्रतिशतले वृद्धि भएको छ ।
चीनसँगको व्यापारघाटा ७ महिनाकै उच्च
राजनीतिक रूपमा संवेदनशील मानिँदै आएको चीनसँगको व्यापारघाटा २९.८ अर्ब डलर पुगेको छ । यो सात महिनाकै उच्च हो । चीनसँगको अमेरिकाको व्यापारघाटा गत नोभेम्बरमा भएको ३१.३ अर्ब डलरपछिकै ठूलो हो । वर्षको सुरु ६ महिनाको अवधिमा अन्य मुलुकको दाँजोमा बढी घाटा बेहोर्दै आएको चीनसँगको घाटा गत वर्षको समान अवधिको तुलनामा ६.५ प्रतिशत बढीमा चलिरहेको छ ।
ट्रम्पको नीतिले खतरा बढाउँदै
मजबुत डलर र विश्वव्यापी कमजोर अवस्थाका कारण निर्यात संघर्षरत अवस्थाबाट गुज्रँदै आएको छ । रिपब्लिकनबाट राष्ट्रपतिको मनोनयनमा परेका डोनाल्ड ट्रम्पले ओबामा प्रशासनमा चीन र अन्य मुलुकले गर्दै आएको पक्षपातपूर्ण व्यापार अभ्यासका कारण गुमेको अमेरिकी रोजगारीको रक्षा गर्न असफल भएको आरोप लगाउदै आएका छन् । ट्रम्पले पुनः छलफल नगरिए क्यानडा र मेक्सिकोसँगको उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताबाट बाहिरिने र ‘ट्रान्स–प्यासिफिक पार्टनरसिप’ व्यापार सम्झौता हटाउने बताइसकेका छन् । उनले चीनसँग बढी आक्रामक व्यवहार गर्ने पनि जनाएका छन् । उनले चीनलाई मुद्रा तोडमोड गर्ने मुलुकको संज्ञा दिने पनि बताएका छन् । व्यापारमा रिपब्लिकनको सहयोगी मानिँदै आएको यूएस चेम्बर अफ कमर्सले पनि ट्रम्पको नीतिले ३५ लाख अमेरिकी रोजगारीमा क्षति पुग्ने, अमेरिकी उपभोक्ताले उच्च मूल्यको सामना गर्नुपर्ने र अर्थतन्त्र कमजोर हुने तर्क गर्दै आएको छ ।




