August 6th, 2016

अवसरवादीले घटाए ‘शेयर बजार’

ashok sitaulaअघिल्लो साताको विहिबार देखि ओरालो लाग्न थालेको सेयर बजारले निरन्तरता कायम गर्दै यस साता कारोबारको अन्तिम दिन विहिबारसम्ममा पनि परिसुचक दोहोरो अंकमा र कारोबार असामान्य रुपमा घटेको छ । लगानीकर्ता, ब्रोकर, धितोपत्र बोर्ड, आर्थिक तथा सेयर विश्लेषक र देशको समग्र आर्थिक पक्षसँग सम्बन्ध जोडिएको सेयर बजारमा आएको असामान्य उतारचढाब अहिले सबै सम्बन्धित पक्षहरुको चासोको विषय बनेको छ । 

करिब २ महिना अघि सेयर परिसुचकले उच्चतम विन्दु र कारोबारले पौने तिन अर्व नाघ्नै लागेको सेयर बजार एकाएक यसको विपरित दिशातर्फ बढ्ने क्रम जारि छ । अघिल्ला वर्षहरुमा वाणिज्य बैंकहरुले नाफासहितको व्यालेन्ससिट सार्वजनिक गर्दा सेयर बजार बढ्ने गरेको तथ्यांक छ । तर अहिले वाणिज्य बैंकहरुले उच्चतम नाफासहित व्यालेन्ससिट सार्वजनिक गरिरहेका बेला सेयर बजार उच्चतम विन्दुमा झरिरहेको छ । 

विभिन्न संचार माध्यम र सामाजिक संजालहरुमा आएका सुचना र प्रतिक्रियालाई आधार मान्ने हो भने सेयर बजारमा देखिएको प्रभाव यसै साता देशमा भएको सरकार परिवर्तन र शेयर बजारमा कालोधन रहेको हल्ला नै हो । लगानीकर्ता र विश्लेषकको भनाइहरुलाई आधार मान्ने हो भने सरकार र कालोधनका कारण यसरी असामान्य रुपमा घटेको सेयर बजारमा कुनै प्रभाव परेको छैन र पर्दैन पनि । क्रमिक रुपमा तलमाथि हुनुमा कुनै न कुनै तत्वले प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । तर रातारात, एक दिनमै या एक हप्तामै सेयर बजार घटेर न्युनतम विन्दुमा पुग्न सक्छ भने त्यो न त सरकार परिवर्तनको प्रभाव हो न त कालोधनको ।

सेयर विश्लेषक अशोक सिटौला भन्छन् “ भ्रष्टाचारीबाट कमाएको धनमध्ये कसैले पनि सबै स्टक मार्केटमा नै लगानी गर्छन् भन्ने हुँदैन । त्यस्तै अवैधानिक कार्यबाट कमाएको धन पनि सबैले सबै रकम स्टक मार्केटमा लगाउँछन् भन्ने मलाई लाग्दैन । अहिले दिनमा १ अर्ब बराबरको सेयर कारोबार भइरहेको छ । यसैबिचमा १ अर्ब बराबरकै कालोधन सेयर बजारमा लगानी भएपनि त्यसले सेयर बजारमा कुनै खाले प्रभाव पर्दैन । बजारमा पकड नजमाएका संस्थाहरुको बजार मुल्य क्रमिक रुपमा बढ्यो भन्दैमा यो कालोधनको प्रभाव हो भन्ने बुझ्ने या संस्था मजबुत हुँदै गइरहेको छ भनेर बुझ्ने ? यहाँ आफुले लगानी गर्ने उद्देश्यका साथ कुनै अवसर पारेर बजार कारोबार घटाइन्छ, अनि जनताको दिमागमा छाप बसिहाल्छ कि देशमा भर्खरै सरकार परिवर्तन भयो या अस्ति मिडियामा सेयर बजारमा कालोधन भित्रिएको बारे हल्ला थियो आदि आदि । त्यसैले मेरो बिचारमा कालोधनको चर्चा एक बाहना मात्र हो । क्रमिक परिवर्तनलाई कुनै न कुनै पक्षले असर पारेको हुन्छ, तर एक्कासि आएको परिवर्तन कसैको चलाखिपन हुनसक्छ ।”
 
बढ्दो सेयर कारोबारका बारेमा बजारमा आएको हल्लासँगै नयाँ लगानीकर्ताहरुको सेयर बजारप्रतिको आकर्षण बढिरहेको र पुराना लगानीकर्ताहरु  बाइङ सेलिङ र होल्डिङको नीति अपनाइरहेको बेलामा अचानक सेयर बजारमा परेको प्रभावका कारण लगानीकर्ताहरु आतिएको समाचार पनि बाहिर आइरहेका छन् । यस विषयमा सामाजिक संजालहरुमा कतिपय लगानीकर्ताहरु आफ्नो लागानी र समग्र सेयर बजारमा प्रभाव परेको भन्छन् त प्रायः लगानीकर्ता सरकारमा आएको परिवर्तन या सेयर बजारको कालोधनले आफ्नो लगानी सहित समग्र सेयर बजारमा प्रभाव नपरेको कुरा गर्छन् ।
 
हाल सेयर बजार र यसको कारोबार ओरालो लाग्दै गएको कारण ठुला लगानीकर्ताहरु त्रसित भएको भन्ने विषयमा सेयर विश्लेषक तथा लगानीकर्ता अशोक सिटौलाको भिन्न मत छ ।

“साना या ठुला लगानीकर्ता जो भएपनि बजार कारोबार राम्रो भए ढुक्क हुन्छन्, बजार कारोबार नराम्रो भए त्रसित हुन्छन् । सेयर बजार परिवर्तनको कारण दुबै लगानीकर्तालाई उत्तिकै उत्साहित र स्तव्ध बनाउँछ । तर सबैभन्दा गारो कुरा भनेको मान्छेले आफ्नो गल्ति नभेटाउनु हो । मेरो विचारमा लगानीकर्ताहरु अन्दाधुन्द रुपमा बजार जसरी चल्यो त्यसरी नै चल्छन् । बजारमा यो कम्पनीको सेयर मुल्य बढ्ने अबस्थामा छ रे, भनेको हल्लाका अधारमा सेयरमा लगानी गर्ने लगानीकर्ता नै हुन् जो आज सरकार परिवर्तन र कालोधनले सेयर बजार ओरालो लागको भनिरहेका छन् । मुख्य कुरा भनेको प्राय लगानीकर्तालाई आफुले लगानी गर्न लागेको संस्थाको बारेमा कुनै जानकारी नै हुँदैन । लगानी गर्न लागेको संस्थाको बारेमा विशेष अध्ययन पश्चातमात्र लगानीको निर्णय गरेमा कसैले पनि आफ्नो लगानीप्रति डराउनुपर्ने या शंका गर्नुपर्ने अबस्था आउँदैन । यसमा लगानीकर्ताले अन्य पक्षलाई दोष दिनुभन्दा पनि आफैँ सचेत भएर लगानीको निर्णय लिनु राम्रो हुन्छ । हामी ५० रुपैंयाको तरकारी किन्दा त यो विग्रेको छ, यो राम्रो छ भनेर छानेर मात्र त्यसलाई खरिद गर्छौँ भने ५० लाखको सेयर किनबेच गर्दा चाहिँ किन अल्छि गर्छौँ लगानी गर्न लागेको संस्थाको बारेमा केलाउन ? यहि नै हामि लगानीकर्ताको समस्या हो । ”