August 5th, 2016

पदभार सम्हाल्दै प्रम प्रचण्डले भने : अनुदानको पहिलो किस्ता ४५ दिनभित्रै  

moneyप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपीडित जनतालाई पहिलो किस्ताबापतको रकम ४५ दिनभित्र प्रदान गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै उनले भूकम्पबाट प्रभावित ३१ जिल्लाका पाँच लाख ३३ हजार परिवारलाई अनुदानको पहिलो किस्ता प्रदान गर्दै पुनर्निर्माण कार्यलाई शीघ्र रुपमा अघि बढाउन निर्देशन दिएका हुन् । 

यस्तै पहिचानका क्रममा रहेका गरिब घरपरिवारको पहिचान कार्य सम्पन्न गर्न उनीहरुको जीवनस्तर उकास्न ‘गरिबका लागि सरकार’ विशेष अभियान सञ्चालन गरी आय आर्जन, शिक्षा, स्वास्थ्य, बिमा, तालिम र प्रविधि हस्तान्तरण, रोजगार तथा स्वरोजगार, बैङ्क तथा बजारसँग एकीकरण र खाद्यसुरक्षा जस्ता कार्यक्रम कार्यान्वयन गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । 

उनले चिकित्सक नपुगेका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा आगामी तीन महीनाभित्र चिकित्सक पठाई सक्ने साथै जिल्ला तथा सोभन्दा माथिल्लास्तरका सरकारी अस्पतालले एकै छातामुनी सुबै सुविधा दिने नीतिअन्तरगत गुणस्तरीय औषधि उपलब्ध गराउन औषधि कक्ष चालु आवमा नै सञ्चालन गर्न निर्देशन दिएका छन् ।