हरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तीय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यस साता, शेयर बजारमा अत्याधिक गिरावट आयो । यसैको कारण र परिणामको सेरोफेरोमा सञ्चारमाध्यमहरु केन्द्रित भए । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
शेयर बजारमा गिरावट : कारण र परिणाम
यो साता शेयर बजारमा ठूलो गिरावट देखियो । १९ सय अंक छुन लागिसकेको बजार १७ सयको रेञ्जमा ओर्लियो । बजार घटेसँगै लगानीकर्ताहरु मनोबल कमजोर भएको देखियो । फलस्वरुप कारोबार रकम पनि ओरालो लाग्यो । एउटै कम्पनीको ३५ करोडसम्म कारोबार हुने बजारमा १० करोडसम्म पनि कारोबार हुन छाड्यो । यसको कारणका रुपमा सञ्चार माध्यम तथा विश्लेषकहरु कसैले सरकार परिवर्तनलाई लिए भने कसैले शेयर बजारमा कालोधनको कारोबार हुनुलाई लिए ।
शेयर निष्काशन तथा विक्रि
यसै सातादेखि नेपाल बैंकले आफ्नो स्वामित्वमा रहको नागरिक लगानी कोषको झन्डै ४ लाख कित्ता संस्थापक शेयर लिलामीमा राख्यो । साताको विहीबारदेखि सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन खुल्यो । मिथिला लघुवित्त विकास बैङ्क लिमिटेडको १ सय रुपैयाँ अंकित दरका १ लाख ६९ हजार ७ सय ४० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री यसै साताको बुधबारदेखि खुल्यो । सोही दिनदेखि अल्पाइन डेभलपमेण्ट बैङ्क लिमिटेडको ८ लाख २० हजार कित्ता हकप्रद शेयर खुल्यो ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली शेयर बजार
नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारको नियमकहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशल अर्गनाइजेशन अफ सेक्युरिटिज कमिसन्सको सदस्यता पायो । यससँगै नेपालको पूँजी बजार सुधारमा अन्तर्राष्ट्रिय सीपको प्रयोग तथा क्रस बोर्डर ट्रेडिंग र सुचिकरण गर्ने बाटो खुलेको छ ।
तरलता व्यवस्थापनमा राष्ट्र बैंक
यो साताको सोमबार राष्ट्र बैंकले ९१ दिने अवधिको १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्यो । त्यस्तै, साताको बुधबार १० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्यो ।
फेरि सुरु भयो 'शैक्षिक प्रमाणपत्र ऋण'को चर्चा
नेपाल राष्ट्र बैंकले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण उपलब्ध गराउने सरकारी योजनामाथि औपचारिक छलफल सुरु गर्यो । ओली सरकार ढलेपछि गठित प्रचण्ड सरकारले पनि यो व्यवस्थालाई निरन्तरता दिने घोषणा गरिसकेका छन् ।
सेवा, सुविधा र प्रविधि विस्तारमा बैंक तथा वित्तीय संस्था
एनआईसी एसिया बैंकले आफ्नो नयाँ भिसा क्रेटिड कार्ड बजारमा ल्यायो । काठमाडौँको कालीमाटीस्थित सोल्टीमोडमा केन्द्रिय कार्यालय रहेको बूम रेमिट्यान्स प्रालीले सेवा बिकास बैक लि र मुक्तिनाथ बिकास बैक लि लाई आफ्नो एजेन्ट नियूक्त गर्यो । यसै साताको सोमबारदेखि प्रभु बैंकले काठमाडौँको गौशलास्थित तिलगंगा आँखा अस्पताल परिसरमा आफ्नो एक्सटेन्सज काउन्टर सञ्चालनमा ल्यायो । ग्लोबल आइएमई बैंकले बैंकिङ्ग पहुच नपुगेका ग्रामीण क्षेत्रका बासिन्दालाई आधारभूत बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बाग्लुङ्ग जिल्लाको भिमगिठेमा र अर्घाखाँची जिल्लाको ठुलापोखरामा शाखारहित बैकिङ्ग सेवा संचालन सुरु गर्यो । सिभिल बैंक र इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडले मर्जरमा जाने घोषणा गरे ।
बीमासम्बन्धि व्यवस्थामा परिमार्जन
प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २० औ वर्ष पुरा गरी २१ औ वर्षमा प्रवेश गर्यो । बीमा समितिले बाली तथा पशुपक्षी बीमा लेखमा परिमार्जन गर्दै नयाँ र आकर्षक व्यवस्थाहरु ल्यायो ।
सहकारीलाई थप जिम्मेवारी
विभिन्न क्षेत्रमा संलग्न भएका सहकारीलाई सरकारले आवास निर्माणमा समेत सहभागी गराउने योजना अघि सार्यो ।
सहकारीको नियमनमा खटिँदै राष्ट्र बैंक
अब ठूला बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षण राष्ट्र बैंकले गर्ने गरी सहकारीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तयार गरियो । सहकारी संस्थाहरु अव्यस्थित भएको गुनासाहरु बढिरहँदा यो निर्णयले सर्वसाधारणमा केही आशा भरिदिएको छ ।
अन्य
लक्ष्मी भ्यालु फण्ड १ ले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव अघि सार्यो ।
