नेपाल स्टक एक्सचेन्जले क्लियरिङ बैंक थप्ने प्रक्रिया अगाडि बढाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै नेप्सेले यस्तो जानकारी दिएको हो । नेप्सेका अनुसार हाल नेप्से र भेन्डर कम्पनी टिसिएसबिच छलफल भइरहेको छ । हालको प्रणालीले एउटा बैंकको राफसाफलाई मात्रै समेट्ने स्पष्ट पार्दै कुनै पनि सफ्टवेयर मोड्युलमा असर नपर्ने गरी भेन्डरसँग छलफल भई प्राविधिक विश्लेषण र अध्ययन प्रतिवेदन तयार भएको नेप्सेले जनाएको छ ।
पछिल्लो समय दोस्रो बजारमा कारोबारको संख्या बढ्दै गएको र बजार विस्तार हुँदै गएको तथा लगानीकर्ताको संख्या पनि बढ्दै गएको तथ्यप्रति गम्भीर रहेको बताएको छ । हाल ‘चेन्ज रिक्वेस्ट’को चरणमा रहेकाले यसलगत्तै प्रणाली विकासको कार्य अगाडि बढ्ने नेप्सेले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेप्सेमा हाल ग्लोबल आइएमई बैंकले क्लियरिङ बैंकको रुपमा कार्य गर्दै आएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्रहरुको दोस्रो बजार कारोबारलाई सहज बनाउन क्लियरिङ बैंक थप गर्न निर्देशन दिएको थियो ।




