August 3rd, 2016

विकास बैंक र फाइनान्स किनेर पुँजी बढाउँदै बैंकहरु

mergerनेपाल राष्ट्र बैंकले पुँजी वृद्धिका लागि तोकेको समय सीमा नजिकिँदै गर्दा बैंक तथा वित्तीय संस्थाहरु पुँजी बढाउनका लागि विभिन्न उपाय अपनाइरहेका छन् । मर्जर, एक्विजिसन, हकप्रद तथा बोनस शेयर निष्काशनमार्फत पुँजी वृद्धि गरिरहेका छन् । पहिले नै मर्जरमा गएर थोरै पुँजी नपुगेका बैंकहरुले हकप्रद निष्काशनको प्रक्रिया थाले्का छन् भने धेरै पुँजी थप्नुपर्ने अवस्थामा रहेका वाणिज्य बैंकहरुले धमाधम क्षेत्रीय स्तरका विकास बैंक तथा फाइनान्स कम्पनीहरुलाई खरिद गर्नेतर्फ हात बढाइरहेका छन् । 

सिभिल बैंकले इन्टरनेशनल लिजिङ एन्ड फाइनान्स (आइएलएफसी) लाई गाभ्दै छ । यसका लागि बैंकले भदौ १० गते विशेष साधारणसभा डाकेको छ । बैंकले आईएलएफसीलाई गाभ्ने प्रस्ताव अघि सारेको बैंकले सोसम्बन्धि औपचारिक निर्णय गर्न विशेष साधारणसभा डाकेको हो ।
 
त्यस्तै, सिभिल बैंकले मंगलबार मात्रै युनिक फाइनान्स खरीद गर्न सम्झौता समेत गरिसकेको छ । मर्जरपछि बैंकको नाम सिभिल बैंक नै रहने तथा बैंकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापन यथावत रहने सम्झौता भएको छ ।
 
यसै साता नेपाल इन्भेष्टमेन्ट बैंकसँग एस डेभलपमेन्ट बैंक खरीद गर्न सम्झौता हुँदैछ । नेपाल राष्ट्र बैंकले पुँजी वृद्धिका लागि तोकेको समयावधि नजिकिँदै गर्दा इन्भेष्टमेन्ट बैंकले यस्तो योजना ल्याएको हो । 

त्यस्तै, सेञ्चुरी कमर्सियल बैंकले तोकिएको चुक्ता पुँजी पुर्याउन क्षेत्रीय रुपमा रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई खरिद गर्दैछ । बैंकले एक्वीजिसनसम्बन्धी कार्य आगामी पुस मसान्तभित्र सम्पन्न गरी एकिकृत कारोबार गर्ने लक्ष्य लिएको छ ।  

ग्लोबल आइएमई बैंकले १० करोड रुपैयाँ पुँजी भएको प्यासिफिक डेभलपमेन्ट बैंकलाई खरिद गर्दैछ । लमजुङ्गको बेशीशहरमा केन्द्रीय कार्यालय रहेको एक जिल्ला कार्यक्षेत्र भएको प्यासिफिक डेभलपेमन्ट बैंकको दश करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

प्राइम कमर्सियल बैंक लिमिटेडले क्षेत्रीयस्तरका विराटलक्ष्मी विकास बैंक लिमिटेड र कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेड खरिद गर्ने प्रक्रिया अघि बढाइरहेको छ । विराटलक्ष्मीको पुँजी ४२ करोड रुपैयाँ छ भने कन्ट्रीको पुँजी ३३ करोड २८ लाख रुपैयाँ छ । यस प्रक्रियाबाट नपुगेको पुँजी हकप्रदबाट पुर्याउने योजनामा प्राइम छ ।