October 27th, 2020

जाली नोट कसरी चिन्ने ? हेर्नुस् ७ सरल उपाय

कुनैपनि देशमा नोट छपाई तथा निष्काशनको कानुनी अधिकार त्यस देशको सरकार वा केन्द्रिय बैंकलाई मात्र हुन्छ । कानुनी अधिकार प्राप्त नगरी कुनै व्यक्ति, संस्था वा निकायले कुनै पनि प्रकारले गैरकानुनी तवरबाट ठगी गर्ने मनसायले बनाएको नोटको प्रतिलिपीलाई जाली नोट भनिन्छ । मुलुकी ऐनको खोटा चलनको महल (१) ले जाली नोटको सम्बन्धमा “ सरकारी टक लागेको सिक्का, नोट इत्यादी स्थिति चलनका कुरा कसैले बाहिर टकमारी छाप नम्बर, निशाना इत्यादी बनाउन लगाएमा बनाउन उद्योग  गर्न र त्यस्ता माल कसैले जानी जानी खरीद गरेमा खोटा चलन गरेको ठहर्छ “ भनि ब्याख्या गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ६ को दफा ५२ ले नोट तथा सिक्काको छपाई गरि निसष्काशन गर्ने एकाधिकार नेपाल राष्ट्र बैंकलाई प्रदान गरेको छ । यस बाहेक अरु कसैले जालसाँजी वा किर्ते गरी वा रुप फेरी वा अन्य कुनै प्रकारले नोट बनाएमा त्यस्ता नोटहरु जाली अथवा नक्कली हुन् ।

कसरी छुट्याउने जाली नोट ?
कुनै नोट जाली हो वा होइन भनि पहिचान गर्ने प्रमुख आधार नोटमा रहेको सेक्युरिटी फिचर्स नै हो । सक्कली नोटहरुमा हुने यस्तो फिचर्स जाली नोटहरुमा पाइँदैनन् । केहीमा भएपनि ज्यादै कमशल खालको हुने हुँदा छुट्याउन सकिन्छ । केन्द्रिय बैंकले नै आफूले जारी गर्ने नोटहरुमा सकभर जाली बनाउन नसक्ने र बनाएमा पनि सहजै छुटाउन सकिने खालका यस्ता फिचर्सहरु राखेको हुन्छ । जालीनोट परिक्षण गर्न सुरक्षात्मक उपायहरुका माध्यमबाट केन्द्रिय बैंकको नीति र निर्देशनको अधिनमा रही विभिन्न तालिम, गोष्ठी तथा कार्यपत्र प्रस्तुति मार्फत बैंक तथा बित्तिय संस्था र नोटकोष रहेका बैंकहरुलाई दिने निर्देशन बमोजिम ब्यबहारिक ज्ञानका माध्यमबाट परिक्षण गरी सक्कली वा नक्कली नोट छुट्टाउन सकिने हुन्छ । यसबाहेक बैंक तथा बित्तिय संस्था तथा मुद्राको कारोबार हुने स्थानहरुमा म्यानिफाइङ ग्लास, स्टेप वाचर, अल्ट्रा भ्वायोलेट लाइट, फ्लोरिसिन इंकजस्ता उपकरणको माध्यमबाट परिक्षण गरी सक्कली वा जाली नोट छुट्टाइन्छ ।

यसबाहेक आफैँ पनि कुनै पनि नोट जारी हो या होइन भन्ने जान्न सकिन्छ । यसरी आफैँले जाली नोट थाहा पाउन सके ठगीबाट बच्न सकिन्छ । हेर्नुस्, जाली नोट चिन्ने ७ सहज तरिका :
   

  1. सक्कली र जाली नोटलाई कान नजिकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खड खड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ । 
  2. सक्कली नोटको कागज स्तरीय, अलि खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो, लुलो र मोटो हुन्छ । जाली नोट सक्कली नोट जस्तो चहकिलो पनि हुँदैन ।
  3. सक्कली नोटको रंग स्पष्ट र सफा गाढा हुन्छ भने जाली नोट हल्का, अस्पष्ट र फुङ्ग उडेको जस्तो देखिन्छ ।
  4. सक्कली नोटलाई उज्यालो तिर फर्काएर हेरेमा नोटको दायातर्फ रहेको भागमा पानी छाप स्पस्ट देखिन्छ भने जलि नोटमा केहि कालो दले जस्तो अस्पष्ट देखिन्छ ।
  5. सक्कली नोटमा रहेको सुरक्षा धागो नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ भने नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।
  6. नोटको दायातर्फ रहेको सेतो भागको बायातर्फ भएको रंगीन आधा अक्षर नेपाल राष्ट्र बैंकलाई उज्यालोतर्फ फर्काएर हेर्दा नेपाल राष्ट्र बैंक स्पष्ट देखिन्छ भने जाली नोटमा सो अक्षर स्पष्ट देखिँदैन ।
  7. सक्कली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाबाया पार्दा एउटा छुटै चहक आउछ भने जाली नोटमा यस्तो हुँदैन ।

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]