August 2nd, 2016

पशुपालक कृषकले पाए ५८ लाख अनुदान

moneyपशुपालक कृषकले गत आर्थिक वर्षमा ५८ लाख ३ हजार रुपैयाँ अनुदान पाएका छन् । गत आवमा भेडाबाख्रा, गाईभैँसी, बङ्गुर र कुखुरापालक गरी ८ सय ९६ कृषकलाई सो अनुदान रकम वितरण गरिएको म्याग्दीका पशुसेवा प्राविधिक डिल्लीराम रेग्मीले बताए । 

व्यावसायिक पशुपालन फार्ममा पूर्वाधार विस्तार, उपकरण खरिद, गोठसुधार, उन्नत जातका बोका, राँगो खरिद, औषधि उपचार कोष स्थापना, पशु आहरा व्यवस्थापन र पशुजन्य पदार्थको व्यवसाय सुधार गर्न किसानलाई अनुदान सहयोग गरिएको हो ।

बाख्रापालन कार्यक्रमअन्तर्गत पिप्ले, शिख र कुहुँका एकसय ५० किसानले बाख्रा खरिद र खोर सुधारका लागि १३ लाख ५० हजार अनुदान पाएका छन् । यस्तै १० गाविसका १५ बाख्रापालक किसानलाई प्रजननयोग्य बोका खरिद गर्न रु १५ हजारका दरले रु दुई लाख २५ हजार अनुदान दिएको बताइएको छ । 

यस्तै तीस जनालाई गोठ सुधार गर्न एक लाख ५० हजार र चारजनालाई घाँस टुक्रा पार्ने च्यापकटर मेसिन खरिद गर्न ५५ हजार, कालीगण्डकी भेडापालन किसान समितिका ५० जनालाई भेडा स्रोत विकास कार्यक्रमअन्तर्गत छ लाख पाँच हजार, एकसय ६५ जनालाई ३३ हजार मूल्य पर्ने उन काट्ने मेसिन र एकसय ५० जनालाई एक लाख मूल्य बराबरको बडिजो क्यासटेटर मेसिन वितरण गरेको पशु विकास अधिकृत नरबहादुर बानियाँले जानकारी दिए । रासस