वाणिज्य बैंकहरु वर्षेनि मजबुद बन्दै गएका छन् । नेपाल राष्ट्र बैंकको पुँजी वृद्धिसम्बन्धि नीतिअनुरुप पुँजी बढाउँदै गएका वाणिज्य बैंकहरुले नाफामा पनि उल्लेख्य प्रगती गरेका छन् । यति बेला बैंक तथा वित्तीय संस्थाहरु गत वर्षको प्रगती विवरण सार्वजनिक गर्ने क्रममा छन् । हाल सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुमध्ये यसपाली ९ वटा बैंकहरु अर्बमाथिको मुनाफा कमाएर अर्बपति क्लबमा प्रवेश गर्दैछन् । तीमध्ये, हालसम्म ६ वटा बैंकले अर्बमाथिको मुनाफा गरेको विवरण सार्वजनिक गरिसकेका छन् ।
एनआईसी एसिया बैंकको नाफा १ अर्ब ७ करोड
एनआईसी एशिया बैंक पहिलो पटक अर्बपति क्लवमा प्रवेश गरेको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब सात करोड रुपैयाँ खुद नाफा कमाएर बाणिज्य बैंकहरुको अर्बपति क्लवमा प्रवेश गरेको हो । गत वर्ष बैंकले ६८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यो वर्ष दुई वटा बाणिज्य बैंक( एनआईसी र बैंक अफ एशिया) गाभिएर बनेको एनआईसी एशियाको नाफा तुलनात्मक रुपमा कम देखिएको थियो । यस वर्ष बैंकले रेकर्ड बनायो । व्यापार बढाएरै बैंकले नाफामा उल्लेख्य बृद्धि गरेको हो । गत वर्ष बैंकले निक्षेपमा १६ अर्ब रुपैयाँ बढाएर ६९ अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै कर्जा पनि १६ अर्ब रुपैयाँ नै बृद्धि गरेको छ । निक्षेप र कर्जामा गरेको बृद्धिले आम्दानीमा सकारात्मक प्रभाव परेको हो । बैंकले खुद व्याज आम्दानी नै ४० करोड रुपैयाँ बढाएको छ । गत आर्थिक वर्षमा बैंकले व्याज आम्दानी एक अर्ब ९७ करोड रुपैयाँ पुर्यायो । त्यस्तै अन्य सञ्चालन आम्दानी ३४ करोड रुपैयाँ, ३२ करोड रुपैयाँ राइट व्याक पनि गरेको छ । विदेशी विनिमय कारोबारबाट १६ करोड रुपैयाँ कमाएको छ ।
सिटिजन्स बैंकको नाफा १ अर्ब ८ करोड ९९ लाख
सिटिजन्स बैंक इन्टरनेशनलले आर्थिक वर्ष २०७२÷७३ मा १ अर्ब ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले एक वर्षमा खुद नाफा करिब ३७ करोड रुपैयाँ बढाएको हो । अघिल्लो वर्ष बैंकको खुद नाफा ७२ करोड ३ लाख रुपैयाँ थियो । एक वर्षमा निक्षेप करिब १२ अर्ब र कर्जा करिब ११ अर्ब रुपैयाँ बढाएको छ । जसअनुसार, गत असार मसान्तसम्म ५५ अर्ब ९९ लाख रुपैयाँ निक्षेप संकलन भएको छ भने कर्जा लगानी ४० अर्ब ५६ लाख रुपैयाँ छ । बैंकले खुद व्याज आम्दानी ३५ करोड रुपैयाँ बढाएको छ । करोड रुपैयाँ अन्य सञ्चालन नाफाबाट प्राप्त भएको छ भने विदेशी विनिमय कारोबार बाट बैंकले १४ करोड रुपैयाँ कमाएको छ । बैंकले यो वर्ष ४३ करोड रुपैयाँ राइटव्याक गरेको छ । त्यस्तै गैरसञ्चालन आम्दानी १४ करोड रुपैयाँ छ । बैंकले ३२ करोड रुपैयाँ संभावित नोक्सानीका लागि प्रोभिजन पनि गरेको छ ।
सानिमा बैंकको नाफा झन्डै १ अर्ब ५ करोड
गत आर्थिक वर्षमा सानिमा बैंकले झन्डै १ अर्ब ४ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गैरआवासीय नेपालीहरुको मुख्य लगानी रहेको बैंकले खुद नाफामा ६७ प्रतिशतले बढोत्तरी गरेको हो । सानिमाले अघिल्लो आर्थिक बर्षको चौथो त्रैमाससम्ममा जम्मा ६२ करोड ४१ लाख खुद नाफा कमाएको थियो । सानिमाले गत वर्षभरिमा निष्कृय कर्जा ०.०२ प्रतिशतमा झारेको छ, जुन सबै वाणिज्य बैंकहरुको तुलनामा कम हो । जोखिम कोषमा भने बैंकले अघिल्लो बर्ष भन्दा बढी रकम राखेको छ । ब्याज आम्दानी र संचालन नाफामा उल्लेखनीय बढोत्तरी गरेको बैंकले निक्षेप संकलन भन्दा कर्जा विस्तारको दरलाई बढाएको छ । कम्पनीको प्रति शेयर मूल्य र प्रति शेयर आम्दानीको आधारमा मूल्य आम्दानी अनुपात २१.६५ गुणा रहेको छ । बैंकको प्रति शेयर नेटवर्थ १४६ र पूँजी कोष १२.६५ प्रतिशत रहेको छ ।
ग्लोबल आईएमईको नाफा १ अर्ब ३८ करोड
ग्लोबल आइएमइ बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ग्लोबल आईएमई बैंक पहिलोपटक विलेनियर क्लवमा प्रवेश गरेको हो । अघिल्लो आर्थिक बर्षमा बैंकले ९६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले अघिल्लो बर्ष दुई अर्ब २८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यसपाली बढाएर दुई अर्ब ८८ करोड ९५ लाख रुपैयाँ पुर्याएको छ । यसवाहेक विदेशी विनिमयबाट हुने आम्दानी पनि वढेको छ । अघिल्लो बर्ष ५४ करोड ८६ लाख नोक्सानी व्यवस्थापन गरेको बैंकले यसपाली ५९ करोड रुपैयाँ गरेको छ । बैंकले ७४ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी कुल कर्जा लगानी १० अर्ब रुपैयाँबाट बढाएर ६० अर्ब ८४ करोड रुपैयाँ पुर्याएको छ । बैंकले डुबेकोमध्ये २५ करोड २२ लाख रुपैयाँ उठाएको छ । बैंकको खराव कर्जा २.२३ प्रतिशतबाट घटेर १.८७ प्रतिशतमा झरेको छ । ६ अर्ब १६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको पुँजी कोष अनुपात १२.३५ प्रतिशत छ । बैंकको प्रतिशत सेयर आम्दानी साढे २२ प्रतिशत छ भने मूल्य आम्दानी अनुपात २२.८९ गुणा छ ।
एनबी बैंकको नाफा १ अर्ब १९ करोड
गत आर्थिक वर्षमा नेपाल बंगलादेश (एनबी) बैंकले १ अर्ब १९ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा ३८ करोड ४३ लाख रुपैयाँ नाफा बढाएर यो बैंक पहिलोपल्ट अर्बपति क्लबमा प्रवेश गरेको हो । अघिल्लो बर्ष एनबी बैंकले ८१ करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
बैंकले ३७ करोड रुपैयाँले खुद ब्याज आम्दानी गरेको छ भने खुद व्याज आम्दानी १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । ऋण लगानी २५ अर्ब ८२ करोड रुपैयाँबाट बढाएर ३२ अर्ब ५२ करोड रुपैयाँ पुर्याएको बैंकले खराव कर्जा १.३३ प्रतिशतबाट झारेर ०.७१ प्रतिशतमा ल्याएको छ । बैंकसँग सर्वसाधारणको ३९ अर्ब ८७ करोड रुपैयाँ निक्षेप छ । तीन अर्ब तीन करोड चुक्ता पुँजी रहेको बैंकको प्रति सेयर आम्दानी ३९ रुपैयाँ छ । साढे चार प्रतिशतभन्दा वढीको स्प्रेडमा काम गरेको बैकको सेयरको मूल्य आम्दानी अनुपात २२ गुणा छ ।
प्रभु बैंकको नाफा १ अर्ब १४ करोड
प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब १४ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको तुलनामा १२ दशमलव ७२ प्रतिशतले बढी नाफा कमाएको हो । गत वर्षको सोहि अवधिमा बैंकले १ अर्ब १ करोड ८२ लाख रुपैयाँ मुनाफा गरेको थियो । ५ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले बैंकले निक्षेपमा ४४ दशमलव ६० प्रतिशतले वृद्धि गरि ६० अर्ब ९४ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जामा ६२.४२ प्रतिशतले बढाएर ४८ अर्ब २१ करोड २७ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै, खुद व्याज आम्दानी २७ दशमलव ५४ प्रतिशतले वृद्धि गरी १ अर्ब ९६ करोड ८४ लाख रुपैयाँ पुर्याएको छ भने सञ्चालन मुनाफामा पनि ३ सय ८५ प्रतिशतले वृद्धि गरी ८७ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकको प्रोभिजनमा २७ करोड रुपैयाँ नोगेटिभमा रहेको छ भने १ अर्ब ५ करोड रुपैयाँ खराबकर्जा उठाउन बैंक सफल भएको छ । बैंकको प्रति शेयर आम्दानी १९ दशमलव ५१ रुपैयाँ रहेको छ । त्यस्तै निष्कृय कर्र्जा १ दशमलब ०५ प्रतिशतले बढेर ८ दशमलव ३८ प्रतिशतमा पुगेको छ भने जोखिम युक्त सम्पति १ दशमलव ५२ प्रतिशतले बढेर १२ दशमलव १३ प्रतिशत रहेको छ ।
सिद्धार्थ बैंकको नाफा सवा १ अर्ब
बिजिनेश युनिभर्सल डेभ्लपमेन्ट बैंकलाई आफुमा गाभेको सिद्धार्थ बैंकले गत आर्थिक बर्षमा १ अर्ब २६ करोड खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्षमा बैंकले ७७ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो । सो अवधिमा बैंकले ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । चुक्ता पूँजी ३ अर्ब २ करोड रहेको बैंकको जगेडा कोषमा ३ अर्ब २३ करोड छ । सिद्धार्थको निस्क्रिय कर्जा अनुपात १.४१ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी ४१ रुपैयाँ रहेको बैंकको मूल्य आम्दानी अनुपात २२ र प्रतिशेयर नेटवर्थ २ सय ६ रहेको छ ।
यसबाहेक नेपाल बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक र बैंक अफ काठमाडौं लुम्बिनी पनि यसपटक अर्बपति क्लबमा प्रवेश गर्ने भएका छन् । सनराइज बैंकले १ अर्बमाथिको नाफा गर्ने आँकलन गरिएकोमा बैंकले ९५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको विवरण सार्वनिक गरेको छ । राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक र नेपाल एसबीआई बैंक यसअघि नै अर्वपति क्लवमा थिए । यससँगै एक अर्बभन्दा बढी नाफा गर्ने बैंकको संख्या यस वर्ष १९ वटा पुग्नेछ ।