July 28th, 2016

प्रिमियम मूल्य निर्धारणसम्बन्धी स्पष्ट नीति ल्याउँदै धितोपत्र बोर्ड   

dhitopatraनेपाल धितोपत्र बोर्डले प्रिमियम मूल्य निर्धारणका लागि स्पष्ट नीति ल्याउन लागेको बताएको छ । बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता ल्याउने उद्देश्यले बोर्डले विज्ञहरुलाई अन्तर्राष्ट्रिय अभ्यासमा आधारित रिपोर्ट तयार पारिरहेको र त्यो आगमी १० दिनभित्र बोर्डबाट पारित भई सार्वजनिक हुने जनकारी दिए । धितोपत्र बोर्डले चाटर्ड एकाउन्टेन्ट्स संघका उपाध्यक्षको अध्यक्षतामा धितोपत्र बोर्डका विज्ञ सञ्चालक, निर्देशक र अन्तर्राष्ट्रिय विज्ञ सम्मिलित अध्ययन समिति गठन गरेको थियो । सो कमिटिले छिट्टै प्रतिवेदन बुझाउने जानकारी दिएकाले त्यो पाएलगत्तै आवश्यक छलफल गरी बोर्डले उचित निर्णय लिने कार्कीले जनाए ।

अहिलेसम्म प्रिमियम मुल्य निर्धारण कसरी गर्ने भन्नेबारे स्पष्ट नीति नहुँदा एफपीओमा समस्या हुँदै आएको छ । यसैबीच नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको फर्दर पब्लिक अफरिङ (एफपीओ) पनि टुंगो लाग्ने भएको छ । कम्पनीले धितोपत्र बोर्डको स्वीकृति बिनै एफपिओको मुल्य तोकेर नेपाल स्टक एक्सचेञ्जबाट सूचना सार्वजानिक गरेको थियो । कम्पनीले १ सय रुपैयाँ अंकित मुल्यमा २८५१ रुपैयाँ प्रिमियम मुल्य थपेर प्रतिकित्ता २९५१ रुपैयाँका दरले ३१ लख कित्ता एफपीओ जारी गर्ने बताएको थियो । विहिबार नेपाल स्टक एक्सचेञ्जमा कम्पनीको एक कित्ता सेयरको मुल्य ४ हजार ४० रुपैयाँ छ । त्यसले दोस्रो बजार प्रभावित गरेको भन्दै बोर्डले केही मय कम्पनीको कारोबारसमेत रोकिदिएको थियो । बोर्डले असार १६ गते कम्पनीको शेयर फुकुवा गरी मोडालीटी नदिएसम्म एफपीओ जारी नगर्न सो कम्पनीलाई निर्देशन दिएको थियो ।

तर धितोपत्र बोर्डले नै यही साउन २३ गतेभित्र सो कम्पनीको एफपीओ बारे टुंगो लगाउने जानकारी दिएको छ । धितोपत्र बोर्डका अध्यक्ष कार्कीले सो कम्पनीको एफपीओबारे यही साउन २२/२३ गतेसम्म मोडालिटीसहितको निर्णय दिने तयारी गरिएको जानकारी दिएका छन् । अध्यक्ष कार्कीका अनुसार प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता ल्याउने उद्देश्यले बोर्डले विज्ञहरुलाई अन्तर्राष्ट्रिय अभ्यासमा आधारित रिपोर्ट तयार पारिरहेको र त्यो आगमी १० दिनभित्र बोर्डबाट पारित भई सार्वजननिक हुनेछ ।