नागरिक लगानी कोषलाई संस्थागत लगानीकर्ताको रुपमा शेयर बजारमा भित्र्याउन अन्तिम तयारी भईरहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बुधबार बोर्डले आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा बोर्डका अध्यक्ष डा रेवत बहादुर कार्कीले समितिको सुझाबको आधारमा कोषलाई संस्थागत लगानीकर्ताको रुपमा बजारमा भित्र्याउने तयारी भएको बताए । डा. कार्कीका अनुसार बोर्डले कोषलाई संस्थागत लगानीकर्ताको रुपमा बजारमा भित्र्याउन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिन लागेको हो ।
धितोपत्र बोर्डका आगामी योजनाहरु
कार्यक्रममा डा. कार्कीले फर्दर पब्लिक अफरिङ् अर्थात एफपिओको मूल्य निर्धारणसम्बन्धि व्यवस्था छिट्टै ल्याउन लागेको समेत जानकारी गराए । पूँजी बजार सम्बन्धि बाह्य विज्ञहरुको सहभागितामा गठन भएको कमिटिले एफपिओको मूल्य निर्धारण विधि तयार पारिसकेको र यो विधि लागु भएपछि सबै कम्पनीहरुको एफपिओ एउटै मापदण्ड अनुसार निर्धारण हुने बोर्डले प्रष्ट पारेको छ । साथै, क्लियरिङ् बैंक थप गर्न, सफ्टवेयर सुधार गर्न, सेटलमेन्ट फण्ड र अक्सन मार्केटको व्यवस्था गर्न नेप्सेलाई निर्देशन दिएको जानकारी समेत गराएको छ । त्यस्तै बोर्डले काठमाडौँ उपत्यका बाहिर धितोपत्र दलाल व्यवसायिको कार्यालय विस्तार गर्न आवश्यक कार्य भईरहेको उल्लेख गरेको छ । धितोपबजारमा स्रोत नखुलेको रकम प्रशस्त लगानी भएको आशंका गर्दै बोर्डले यससम्बन्धमा अध्ययन तथा छानबिन समिति समेत गठन गरेको समेत जानकारी गरायो ।
धितोपत्र बोर्डका प्रगतीहरु
सो पत्रकार भेटघाटमा बोर्डले पछिल्लो दुई महिनामा गरेको कार्य प्रगति विवरण समेत प्रस्तुत गरेको थियो । बोर्डले पूर्णरुपमा अभौतिकिकरण प्रणाली लागु गर्ने, ब्रोकर कमिशन ४० प्रतिशतले घटाउने, ओटिसी कारोबार शुल्कमा ९० प्रतिशत कटौति लगायतका कामलाई आफ्नो सफलता मानेको छ । बोर्डले यसअवधिमा ब्रोकर ब्याक अफिस सुधार, राफसाफ तथा फछ्यौट सुधार गरेको जनाएको छ ।