केन्द्रीय निक्षेप तथा क्लियरिङ कम्पनी (सीडीएससी)ले थप क्लियरिङ बैङ्क तोक्ने प्रक्रिया तीव्र गतिमा अघि बढाएको छ । पुँजी बजार झन्झन् विस्तारित हुँदै गएपछि सोको भुक्तानी राफसाफ सहज बनाउन क्लियरिङ बैंक जतिसक्दो चाँडो थप्ने तयारी भइरहेको हो । दुई साताअघि नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएससीलाई क्लियरिङ बैङ्कको सङ्ख्या बढाउन पत्र पठाएको थियो । सोही बमोजिम सीडीएससीले काम अघि बढाएको हो ।
हाल नेपालमा ग्लोबल आईएमई बैङ्कले मात्र राफसाफ बैङ्कको रूपमा कार्य गर्दै आएको छ । यसअघि बोर्डले २०७२ सालभित्रै २ वटा क्लियरिङ बैङ्क थप्न निर्देशन दिएकोमा नेप्सेले प्रक्रिया अघि बढाएको थिएन । बोर्डले लगातार बढिरहेको पुूँजी बजारको आकारलाई मध्यनजर गर्नै पुनः निर्देशन दिएपछि भने सीडीएससी प्राविधिक विश्लेषणमा जुटेको छ ।
सफ्टवेयर निर्माण भएपछि कारोबार राफसाफ गर्न चाहने बैङ्कका लागि टेण्डर आह्वान गरिनेछ । आशय पेश गर्ने बैङ्कहरूको वित्तीय तथा प्राविधिक क्षमता अध्ययन गरेपछिमात्र कारोबार राफसाफ गर्ने जिम्मा बैंकलाई दिइन्छ । ब्रोकर कम्पनीहरूले पनि आफूले गरेको कारोबार राफसाफ गर्न क्लियरिङ बैङ्कमा अनिवार्य खाता खोल्नुपर्ने हुन्छ । ब्रोकरले खोलेका यी खातामा शेयर कारोबारपछि कारोबार क्लियर गर्न अर्थात् रकमान्तर र राफसाफ गर्न बैङ्कले सहयोग गर्छ ।