July 25th, 2016

विश्वव्यापी वित्तीय संकटको जोखिम न्युनीकरणका लागि आईएमएफले औँल्यायो यस्तो उपाय

economicअन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्वव्यापी अर्थतन्त्रमा जोखिम देखिएको जनाएको छ । विश्वव्यापी वृद्धि कमजोर भएको र ओरालोको जोखिम असाधारण रूपमा देखापरेको कोषले जनाएको छ । सो जोखिम न्युनीकरणका लागि कोषले जी–२० का मुलुकहरूलाई सरकारी खर्च बढाउन आग्रह गरेको छ । कोषले 
बेलायतले युरोपेली संघ (ईयू) छोड्ने पक्षमा मतदान गरेपछि उत्पन्न अनिश्चिततामा मन्द बनेको विश्वव्यापी अर्थतन्त्रसँग जुझ्ने उपायको खोजीका लागि शीर्ष २० मुलुकका केन्द्रीय बैंकका प्रमुख र वित्तमन्त्रीहरूबिचको एक भेलामा यस्तो आग्रह गरेको हो । 

कोषले जर्मनी र अमेरिकाजस्ता ठूला मुलुकहरूलाई विश्वव्यापी वृद्धि उकास्न सहयोग गर्नका लागि पूर्वाधार लगानीमा खर्च बढाउन आग्रह गरेको छ । “पूर्वाधार लगानी बढाउन सुविधा पुर्याउने सुधारले उत्पादकत्व क्षमता बढाउन, अल्पकालीन माग बढाउन र निजी लगानीलाई प्रेरित गर्छ,” कोषले भनेको छ । कोषको यो वक्तव्यले जी–२० का सदस्यहरूलाई विभाजित बनाएको छ । 

ब्रेक्जिटको पक्षमा मतदानपछि उत्पन्न आर्थिक तथा राजनीतिक अनिश्चितताले निरन्तरता पायो भने वृद्धि न्यून हुन सक्छ । अप्रिलको अद्यावधिक प्रक्षेपणमा कोषले यो वर्ष र आगामी वर्षका लागि विश्वव्यापी वृद्धि प्रक्षेपण ०.१ प्रतिशतले घटाएर क्रमशः ३.१ र ३.४ प्रतिशत कायम गरेको छ । ब्रेक्जिटबाहेक अन्य चुनौती पनि देखापरेका छन् । अधिकारीहरूले यसलाई तीन टी— टेरोरिजम (आतंकवाद), टर्की र ट्रम्पको संज्ञा दिएका छन् । ८४ जनाको ज्यान जाने गरी फ्रान्सको निसमा भएको पछिल्लो आक्रमणले वित्तीय बजारलाई प्रभावित पारेको छ । शुक्रबार म्युनिखमा पनि बन्दुकधारीले ९ जनाको गोली हानी हत्या गरेको छ । राष्ट्रपति रिसेप टाइप एरडोगानलाई अपदस्थ गर्ने गरी टर्कीमा भएको असफल ‘कु’ र विपक्षीमाथिको उनको प्रतिकारले अंकाराको पश्चिमा गठबन्धनसँगको सम्बन्धमा चिन्ता पैदा गरेको छ । अमेरिकी राष्ट्रपतीय चुनाव नजिकिएसँगै अनिश्चित अवस्था पनि सिर्जना भएको छ । फेबु्रअरीमा भएको जी–२० को बैठकमा वित्तमन्त्रीहरूले आर्थिक वृद्धिलाई सहयोग गर्न सबै नीतिगत औजार— मौद्रिक, वित्त र संरचनात्मकतालाई प्रयोग गर्न आग्रह गरेका छन् ।