July 25th, 2016

उदीयमान बजारतर्फ फर्किए लगानीकर्ता, अमेरिकी र युरोपेली धितोपत्रप्रति घट्दै आकर्षण 

investmentपछिल्लो समय नगद उदीयमान बजारतर्फ सर्न थालेको छ । धितोपत्र र ऋणपत्र खरिदका लागि पैसा उदीयमान बजारतर्फ जान लागेको बैंक अफ अमेरिका र अनुसन्धानमूलक फर्म ईपीएफआरले जनाएको छ । जुलाई १४ देखि २० सम्मको अवधिमा उदीयमान बजारमा ४.९ अर्ब डलर प्रवाह भएको छ । अर्को ४.७ अर्ब डलर विकासशील मुलुक ब्राजिल, दक्षिण अफ्रिका र भारतमा प्रवाह भएको छ । यो वर्षभरिकै सबैभन्दा ठूलो एकहप्ते प्रवाह हो ।

उदीयमान बजारबाट भएको वर्षौंसम्मको बाह्य प्रवाहपछि नगद भित्रिएको हो । तेल, फलाम, तामालगायतका वस्तुहरूको मूल्यमा आएको कमीका कारण उदीयमान बजारबाट नगद बाह्य प्रवाह भएको थियो । हाल आएर भने केही लगानीकर्ता उदीयमान बजारतर्फ नै फर्किएका छन् । हाल यसको अवस्था १ वर्षअगाडिको तुलनामा राम्रो भएको टिरा फन्डका प्रबन्धक जामी एन्डर्सनले बताए । पछिल्लो समयमा भित्रिएको प्रवाहले १ वर्षअगाडि भएको बाह्य प्रवाहको पूर्ति गर्न पर्याप्त हुने देखिँदैन ।

धेरैजसो बाह्य प्रवाह जनवरी र फेबु्रअरीमा भएको थियो । तेलको मूल्य ओरालो लागेसँगै बाह्य प्रवाहमा वृद्धि भएको हो । त्यसयता तेल र अन्य वस्तुको मूल्यमा सुधार आएको छ । लगानीकर्ताहरू अमेरिका र युरोपेली धितोपत्रप्रति उदासीन देखिएका छन् । यी दुवै धितोपत्र बजारबाट यो वर्षको अहिलेसम्मको अवधिमा ६७ अर्ब डलर बाह्य प्रवाह भएको छ । अमेरिकी फेडरल रिजर्भले वसन्त ऋतुमा सुरुमा गरिएको अनुमानको तुलनामा लामो समयसम्म ब्याजदर न्यून राख्ने संकेत गरेको थियो । एजेन्सी