July 24th, 2016

अन्तर्राष्ट्रिय नीति बनाउँदै नेपाली शेयर बजार

stockनेपाल स्टक एक्सचेन्जमार्फत सेयर कारोबार हुन थालेको २३ वर्ष हुन लागिसकेको छ । नेप्से परिसूचक यतिबेला १७ सय माथि छ । यद्यपि, यसरी बढिरहेको पुँजी बजारलाई सपोर्ट गर्ने संयन्त्रहरु नेपालमा छैनन् । अब भने विस्तारै यसको खोजी हुन थालेको छ ।

पुँजी बजारको विस्तारलाई सपोर्ट गर्ने एक महत्वपूर्ण आधार हो – इन्डेक्स ट्रेडिङ अर्थात् परिसूचक कारोबार ।  
विकसित मुलुकमा दशकौं अघिदेखि सेयर बजारमा सामूहिक लगानी कोष, बन्डसँगै इन्डेक्स कारोबार पनि हुने गरेको छ । अब भने नेपालमा पनि यसको आवश्यकता महशूस गरिएको छ । शेयर विश्लेषक र ठूला लगानीकर्ताले इन्डेक्स कारोबार गर्न पाउनुपर्ने माग गर्न थालेका छन् । इन्डेक्स कारोबार सुरू गर्न थालेपछि बजारको दिगो विकासमा थप योगदान पुग्ने भन्दै उनीहरुले यस्तो माग गरेका हुन् ।

अहिले बजार बढिरहँदा यसबारे कुरा त उठेको छ । यद्यपि, नेपालमा यससम्बन्धि कुनै कानुनी प्रावधान छैन । तर, सेयर जस्तै कारोबार गर्न सकिने भएकाले कानुनी प्रावधान तय गर्न पनि गाह्रो नभएको जानकारहरु बताउँछन् । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डका अनुसार इन्डेक्स ट्रेडिङका लागि कानुन तय गर्न विगतमा एकदुईपटक छलफल पनि भइसकेको छ । तर बजार परिपक्व नभएसम्म इन्डेक्स कारोबार खुला गर्नु हुन्न् भन्ने पक्षमा बोर्ड रहेको छ । 
 
एन्डेक्स कारोबारका फाइदा के छन् ?
इन्डेक्स कारोबारबाट सेयर बजारमा लगानीकर्ताको आत्मविश्वास कत्तिको बलियो छ भन्ने पत्ता लगाउन सकिन्छ । बजार लगातार माथि गइरहँदा लगानीकर्ताहरु द्धविद्धाको स्थितीमा छन् । यस्तो बेला इन्डेक्स ट्रेडिङको प्रावधान भएको भए लगानीकर्ताहरु के गर्दैछन् भन्ने कुराको मापन गर्न सहज हुन्थ्यो । जसबाट क्रेताले हाल कायम इन्डेक्सको भाउ बढाएर किन्न चाहन्छ कि चाहँदैन भनेर जान्न सकिन्थ्यो । यदि इन्डेक्सको भाउ बढएर किन्ने समूह ठूलो छन् भने बजारप्रति लगानीकर्ताको आत्मविश्वास अझ बढ्दो क्रममा छ भन्ने थाहा हुन्थ्यो । यसैगरी, माथिल्लो विन्दुमा पुगेको इन्डेक्समा लगानी गर्न तयार नभएमा बजार विस्तारै ओरालो लाग्न सक्ने अनुमान लगाउन पनि यस्तो कारोबारले सघाउँछ । यसको मतलब इन्डेक्स कारोबारबाट बजार कता जाँदैछ भनेर नाप्न सकिन्छ । जसले गर्दा तुलनात्मक रूपमा यसमा गरिने लगानीमा जोखिम पनि कम हुन्छ । इन्डेक्स कारोबार थाल्न सके यसले सरकारलाई समेत फाइदा पुग्छ । कारोबार कमिसनबाट सरकारको ढुकुटीमा जाने राजस्व थपिन्छ । ब्रोकर, नेप्से, धितोपत्र बोर्डको कमाई पनि बढ्छ । 

उपसूचक पनि कारोबार गर्न सकिन्छ
इन्डेक्समात्र होइन, सब इन्डेक्स (उपसूचक) समेत कारोबार गर्न मिल्छ । यस्तो कारोबारले लगानीकर्ताको झुकाव कुन समूह वा उपसमूहतर्फ छ भन्ने पत्ता लगाउन सघाउँछ । अनि, साना र नयाँ लगानीकर्तालाई ठूलाले कुन समूहका सेयर किन्दैछन् भन्ने आँकलन गर्न मद्दत मिल्छ । ठूला र बजार बुझेका लगानीकर्ताले जुन समूहका सेयर खरिद गरेका हुन्छन् सोही समूहको इन्डेक्स पनि किन्ने सम्भवना बढी हुन सक्छ । 
 
कसरी हुन्छ इन्डेक्स कारोबार ? 
यदि नेप्से परिसूचक १७२० विन्दुमा हुँदा लगानीकर्ताले एक युनिट इन्डेक्स खरिद गरे र केही दिनपछि परिसूचक १७१० मा झर्यो भने लगानीकर्तालाई एक युनिटमा १० रुपैयाँ नोक्सान हुन्छ । तर, यदि परिसूचक बढेर १७३० पुग्यो भने उसलाई प्रतियुनिट १० रुपैयाँका दरले फाइदा हुन्छ । सब–इन्डेक्समा पनि यही नियमबाट कारोबार गर्न सकिन्छ ।