July 22nd, 2016

विपन्न वर्गमाथि लगानी बढाउन डेपुटी गभर्नर श्रेष्ठको आग्रह 

shivaraj shresthaनेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सामाजिक उत्तरदायित्व बोध गरेर विपन्न वर्गमाथि लगानी गर्न बैंकहरुलाई आग्रह गरेका छन् । शुक्रबार प्रभु बैंकको धापासीस्थित शाखाको उद्घाटन गर्दै डेपुटी गभर्नर श्रेष्ठले काठमाडौंमै विपन्न वर्गहरु रहेको भन्दै त्यसको पहिचान गरेर उनीहरुको आर्थिक अवस्था उठाउन जरुरी रहेको बताए । त्यसका लागि बैंकका कर्मचारीको क्षमता अभिबृद्धि गरेर बैंकहरुलाई अग्रसर गराउने अवसर समेत राष्ट्र बैंकले दिएको उनको भनाई थियो । उनले कृषि कर्जाका माध्यमबाट विपन्न वर्गमा लगानी गर्न सकिने औल्याउँदै समग्र मुलुकको विकासका बारे बैंकहरु पनि जिम्मेवार हुनुपर्ने बताए । बैंकहरुले नाफा घट्छ कि भनेर डराउन नहुने तर्क गर्दै नाफा बढाउनका लागि कर्मचारीको स्तर उन्नति गर्न नाफाकै केही रकम कर्मचारीको क्षमता अभिबृद्धिमा लगानी गर्न राष्ट्र बैंकले अबसर दिएको समेत उनले उल्लेख गरे । बैंकहरुलाई  आधुनिक बैंकिङ शेवातर्फ ग्राहकहरुको सक्रियता गराउन पनि डेपुटी गभर्नर श्रेष्ठले आग्रह गरे । उनले विपन्न बर्गमाथि कर्जा प्रवाह गर्नु शेवा पनि हो भन्दै कुल नाफाको ३ प्रतिशत रकम कर्मचारी तालिममा खर्चेर अभिमुखीकरण तालिम संचालन गर्दै क्षमता बढाउँदै जान आग्रह गरे । अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीलाई पच्छाउँदै जानुपर्ने अबस्था उल्लेख गर्दै उनले विपन्न बर्गमाथिको लगानी ग्रामिण तहसम्म बैंकलाई फैलाउने माध्यम भएकोले त्यस कुरालाई सकारात्मक ढंडले लिएर अघि बढन बैंकहरुलाई आग्रह गरे ।