July 22nd, 2016

स्प्रेड रेटमाथि पुनर्विचार गर्न माइक्रोफाइनान्स कम्पनीहरुको आग्रह

nrbलघुवित्त विकास बैंकर्स संघले राष्ट्र बैंकसंग मौद्रिक नीतिमा व्यवस्था गरिएको स्प्रेड रेटमा पुनर्विचार गर्न आग्रह गरेको छ । शुक्रबार बिहान राष्ट्र बैंक पुगेका संघका पदाधिकारीले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई भेटेर अहिले लागु गर्न लागिएको सात प्रतिशत स्प्रेड रेटमा काम गर्न आफुहरुलाई गाह्रो पर्ने भन्दै त्यसमा पुनर्विचार गर्न आग्रह गरेका हुन् । ‘हाम्रो लेण्डिङ कस्ट बढी हुन्छ । त्यसैले यति स्प्रेड रेट हाम्रो लागि गाह्रो हुन्छ ।’ डेपुटी गभर्नर शिवाकोटीसंगको भेटमा लघुवित्त विकास बैंकर्स संघका अध्यक्ष धर्मराज पाण्डेको भनाईलाई उदृत गर्दै संघका एक सदस्यले भने, ‘हामी १७/१८ प्रतिशतभन्दा तल गर्न सक्ने अवस्थामा छैनौँ ।’

जवाफमा डेपुटी गभर्नर शिवाकोटीले राष्ट्र बैंकले संघको मागलाई सकारात्मक रुपमा लिएको बताएका छन् । ‘तपाईहरुको माग र सुझाव अनुसार हामी उचित निर्णय लिने बारेमा छलफल गर्छौँ ।’ डेपुटी गभर्नर शिवाकोटीको भनाई उदृत गर्दै ती सदस्यले भने ।

राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको मौद्रिक नीतिमा लघुवित्त संस्थाहरुले कर्जा लगानी गर्दा ग्राहकसँग लिने ब्याजदर सम्बन्धित संस्थाको कोषको लागतमा बढीमा ७ प्रतिशत स्प्रेड कायम गरी ब्याजदर निर्धारण गर्ने व्यवस्था गरेको छ । लघुवित्त संस्थाहरुले यस्तो व्यवस्था आफुहरुको लागि निकै चुनौतिपूर्ण रहेको भन्दै यो व्यवस्था लागु भए लघुवित्त कम्पनीहरु संचालन हुन गाह्रो हुने बताउँदै आएका छन् ।