गत आर्थिक वर्ष २०७२/०७३ मा वैदेशिक रोजगार बचतपत्र सरकारी लक्ष्यको ५५ प्रतिशत बिक्री भएको छ । गत आवमा सरकारले ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र जारी गर्ने लक्ष्य राखेकोमा २७ करोड ५ लाख १५ हजार रुपैयाँको बचतपत्र बिक्री भएको हो । अघिल्लो आवमा जम्मा २९ प्रतिशतमात्रै बचतपत्र बिकेको थियो । बचतपत्रको निष्काशन गर्ने विधिलाई केही सरलीकरण गरेपछि बचतपत्र विक्रि बढेको हो । साथै, पछिल्लो समयवैदेशिक रोजगार बचतपत्रप्रतिको जनचेतनामा पनि वृद्धि भएको छ ।
केन्द्रिय बैंकले वर्षभरीमा चैत २९, बैशाख २९ र असार २४ गते गरी ३ पटक वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको थियो । चैत २९ गते २५ करोडको बचतपत्र निष्काशन गर्दा ८ करोड २० लाखको बिक्री भएको थियो भने बैशाख २९ मा २५ करोडकै निष्काशन गरिएकोमा ८ करोडको मात्रै बिक्री भएको राष्ट्र बैंकले जनाएको छ ।
बैदेशिक रोजगार बचतपत्र किन ?
यो बचतपत्रमा राष्ट्र बैंकले ९ प्रतिशत व्याज दिने घोषणा गरेको छ । अहिले बैंकहरुले मुद्दति निक्षेपमा पनि ४/५ प्रतिशतमात्रै व्याज दिइरहेका छन् । त्यसैले यसमा गरेको लगानीको प्रतिफल धेरै हुन्छ । सरकार ग्यारेन्टी भएको बचतपत्र भएकाले यसमा गरिएको लगानी डुब्ने खतरा रहँदैन ।