२०७३ श्रावण ३ गते

घरकर्जामा बैंकिङ लगानी २४२ अर्ब, अन्य क्षेत्रमा कति ? हेर्नुस् विस्तृतमा

Real estate conceptगत आर्थिक वर्षको पहिलो ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १५.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वाणिज्य बैंक र विकास बैंकहरूको निक्षेप क्रमशः १४.१ प्रतिशत र ११ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको निक्षेप ०.२ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा २०७३ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १८.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा भने १८.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंक तथा विकास बैंकहरुको कर्जा प्रवाह क्रमशः २१ प्रतिशत र १५.८ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको ८.९ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा २०७३ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २०.९ प्रतिशतले बढेको छ । 

कुन क्षेत्रमा कति कर्जा प्रवाहित ?
यो अवधिमा कृषि क्षेत्रतर्फको कर्जा १८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १३.८ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १६.७ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा १४.५ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा २०.६ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३२.३ प्रतिशतले बढेको छ । २०७३ जेठसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.२ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो । 

२०७३ जेठसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये घरजग्गा क्षेत्रमा २ खर्ब ४२ अर्ब ६१ करोड रुपैयाँ (प्रति ग्राहक १ करोड रुपैयाँभन्दा कमको १ खर्ब ३८ अर्ब ६२ करोड रुपैयाँको आवासीय घरकर्जा समेत) रहेको छ । उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १४.९ प्रतिशत हुन आउँछ । २०७३ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूले सेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जा कुल कर्जाको २.१ प्रतिशत (रु. ३४ अर्ब १९ करोड) रहेको छ भने वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको २.५ प्रतिशत (रु. ३३ अर्ब ३७ करोड) छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट कर्जा (आयात कर्जा) ३६ प्रतिशत (रु. १९ अर्ब ८३ करोड) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १५.८ प्रतिशतले बढेको थियो ।