कोरोना भाइरस नियन्त्रणका लागि देशभर लकडाउन भएको छ । लकडाउनका बीच स्मार्ट लाइसेन्स छपाइको काम भने निरन्तर चलिरहेको छ ।
१५ महिनादेखि स्मार्ट लाइसेन्स वितरण गर्न नसकेको यातायात व्यवस्था विभागले लकडाउनका वेला लाइसेन्स छपाइको रफ्तार बढाएको जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले लकडाउनको समय पारी सडक निर्माणको कार्यलाई तीव्रता दिइरहेकै वेला उनीमातहत रहेको विभागले पनि आफ्नो काममा तीव्रता दिएको हो ।
११ चैतपछि लागू गरिएको लकडाउन लगत्तै लाइसेन्सको छपाइ रोकिएको थियो ।
तर, यातायात व्यवस्था विभागले मन्त्री नेम्वाङको निर्देशनपछि स्मार्ट लाइसेन्स छपाइको कामलाई निरन्तरता दिएको हो ।
त्यसपछि विभागले अहिलेसम्म एक लाख ६० हजार स्मार्ट लाइसेन्स छापेकाे यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले जानकारी दिए ।
‘लकडाउन भएसँगै छपाइको काम केही समय राकियो, पुनः निरन्तरता दियौँ अहिले छपाइ गर्ने व्यक्तिहरूले सुरक्षा सामग्री अपनाएर काम गरिरहेका छन्,’ हमालले भने ।
अहिले भने दैनिक ३० देखि ४० हजार थान लाइसेन्स छपाइ भइरहेको हमालले बताए ।
‘छाप्न पर्ने स्मार्ट लाइसेन्स अझै दुई लाख ७० हजार जति रहेको छ, हामीले लकडाउन खुलेपछिको अवस्थामा सहज रूपमा लाइसेन्स वितरण गर्ने गरी काम गरिरहेका छौँ,’ हमालले भने ।
मन्त्री नेम्वाङको अग्रसरता
तत्कालीन भौतिक पूर्वधारमन्त्री रघुवीर महासेठको बर्हिगमनपश्चात् मन्त्रालयकाे जिम्मेवारी पाएका मन्त्री वसन्त नेम्वाङले सडक सञ्जालदेखि यातायातभित्रको क्षेत्रलाई सुधार्दैै ल्याएका छन् ।
वर्षौंदेखि अल्झिरहेको स्मार्ट लाइसेन्सको समस्यालाई चाँडो समाधान गर्न उनकाे सक्रियता देखिन्छ ।
सेवाग्राहीले आवेदन दिएको १५ महिनासम्म पनि लाइसेन्स नपाएको गुनासो बढेको छ ।
महासेठ मन्त्री हुँदा यातायात व्यवस्था विभागले झन्डै १८ करोडमा कार्डसहित खरिद गरेको ‘मासप्रिन्टर’ ल्याएको थियो ।
तर पनि सेवाग्राहीले लाइसेन्स सहज ढंगबाट पाउन भने सकेका थिएनन् ।
गत भदौमा ल्याएको ‘मासप्रिन्ट’ पनि दक्ष जनशक्तिको अभाव र मेसिनमा समस्या भएको बहाना बनाएर दुई महिनासम्म रोकेर राखिएको थियो । हाल सोही ‘मासप्रिन्ट’बाटै छपाइको काम भइरहेको छ ।
नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।
