May 31st, 2020

दैनिक ३५ करोड घाटा बेहोर्दै कृषि क्षेत्र

सरकारले कृषिमा आत्मर्निरतालाई प्राथमिकता दिइरहँदा आत्मनिर्भर भइसकेको र आत्मनिर्भरउन्मुख कृषिका मुख्य दुई क्षेत्रले भने लकडाउनयता दैनिक करिब ३५ करोड रुपैयाँ क्षति बेहोरिरहेको पाइएको छ ।
पोल्ट्री र दुग्ध क्षेत्रको तथ्यांकीय हिसाब सहज भए पनि तरकारी उत्पादनको क्षेत्रमा पनि करोडौंको क्षति भएको अनुमान छ । “कुखुरा र अण्डा उत्पादनको क्षेत्र बजार चलेन भने सबैभन्दा बढी क्षति हुने क्षेत्र हो, हामीले पोल्ट्रीमा मात्र दैनिक २२ देखि २५ करोड प्रत्यक्ष क्षति बेहोरिहरेका छौं,” पोल्ट्री फर्म नेपालका अध्यक्ष गुणचन्द्र विष्टले भने । यो क्षतिले कृषक तथा उत्पादकमा मार परेकाले आगामी वर्ष आत्मनिर्भर उद्योगको रूपमा नहुन सक्ने जोखिम बढेको उनको भनाइ छ । दुई महिनाको अवधि जोड्ने हो भने हालसम्म २३ अर्ब रुपैयाँको क्षति भइसकेको छ ।

दुग्ध क्षेत्रमा देखिएको घाटा किसानतर्फको बढी छ । दूध बिक्री नहुँदा आवश्यक पर्ने धुलो दूध र बटर उद्योगले स्टकमा रहेकाले जोखिम बढेको बताए । हाल सरकारी स्वामित्वको दुग्ध विकास संस्थानको करिव एक अर्व र नीजि क्षेत्रको कुल ५ अर्व बरारबरको धुलो दूध र बटर स्टकमा रहेको छ । “अबको पाँच महिनामा स्टक विक्री गर्न सकिएन भने म्याद गुज्रेर जान्छ, सबै घाटा हुने हो,” डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालको गुनासो छ, “सरकारले दुग्ध पदार्थलाई राहतमा बाँडिदिए पनि राहत हुने थियो, बिक्री गर्न सकिएन भने किसानको भुक्तानी दिन गाह्रो पर्छ ।”
सबैभन्दा धेरै क्षति भएको अर्को क्षेत्र दुग्ध क्षेत्र हो । दुग्ध क्षेत्रको दैनिक क्षति करिव १० करोडको रहेको छ । “मुलुकभर दैनिक ६२ लाख लिटर दूध उत्पादन हुदै आएको छ, जसमध्ये ५० प्रतिशत किसाले उपभोग गर्छन् भने बाँकी बजारमा जाने हो,” नेपाल डेरी एशोसिएसनका महासचिव प्रह्लाद दाहाल भन्छन्, “दैनिक ३१ लाख लिटर बजारमा जानुपर्नेमा ३५ प्रतिशत हिस्सा मात्र बजारमा गइरहेको छ, यसले दैनिक १० करोड रकम घाटा भइरहेको छ ।”
अण्डा, चिया, कुखुराको मासुलगायत आत्मनिर्भर भएका क्षेत्र हुन् । तर पोल्ट्री क्षेत्रको लागि दानामा भने परनिर्भर हुनुपर्ने अवस्था छ । दूध, माछा र अन्य मासुजन्य क्षेत्र तथा तरकारी जन्य क्षेत्र आत्मनिर्भर उन्मुख छ । आत्मनिर्भरउन्मुख अर्को क्षेत्र पुष्प व्यवसायको क्षेत्र पनि धरासयी बनेको गुनासो उत्पादकको छ । कोरोना भाइरसका कारण आत्मनिर्भर तथा आत्मनिर्भर उद्योगमै बढी असर गरेको पाइएको छ ।
“कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर गराउँदै खाद्य सुरक्षा र सम्प्रभूता कायम गर्दै लगिनेछ,” बजेट वक्तव्यको ८२ नम्बर बुँदामा भनिएको छ, “आगामी वर्ष दूध, तरकारी र मासुजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर हुने गरी लक्षित कार्यक्रम सञ्चालन गरिनेछ ।” बजेट भाषणमा बोलिए पनि कार्यक्रम र बजेट कृषि क्षेत्रमा कम भएको गुनासो बढको छ । कृषि मन्त्रालयमार्फत् जाने बजेट गत वर्ष भन्दा करिव ७ अर्बमात्र बढाइएको छ ।
सरकारले कृषि उद्योगलाई हेर्ने दृष्टिकोण नै सही नभएको गुनासो विष्टको छ । “हामीले सरकारको नियम अनुसार कर तिर्छौं, रोजगारी दिएका छौं, सरकारको नीति नियम सबै मानेका छौं” उद्यमी विष्ट भन्छन्, “परेको बेला सरकारको साथ होला भनेर हामी इमान्दारितापूर्वक उद्योगहरू चलाइरहेका छौं तर सरकारले उद्योगीहरू सामान्त र शोषकको हिसाबले हेर्छ अनि कसरी हुन्छ आत्मनिर्भर ?” कुखुराको दानामा प्रयोग हुने पीनामै ९ प्रतिशत भन्सार बढाएको भन्दै उनले सरकारप्रति आक्रोश पोखे ।
यस विषयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले भने आधिकारिक धारणा दिएको छैन । “कृषि क्षेत्रको क्षतिको हिसाब हामीलाई छ, सोही अनुसार क्षतिपूर्तिको लागि समेत पटक पटक प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालयमा पठाएका छौं,” मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, “बजेटमा पनि हाम्रा प्राथमिकताका कुरा परका छ्र्रैनन्, कृषि मन्त्रालयलाई बेवास्ता गरेको महसुस गरेका छौं ।” मन्त्रालयले ९ अर्व ५० रकम बराबरको थप बजेट प्रस्ताव गरेकोमा अर्थले नकारेको कृषिको आरोप छ । आरोप र प्रत्यारोपबीच कृषि क्षेत्रलाई गम्भीरतापूर्वक नहेरिएको गुनासो कृषिका जानकारहरूको छ ।

कारोबार दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]