Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मलेसिया रोजगारीमा नेपाली कोटा खोसिँदै : रेमिट्यान्स झन्–झन् घट्दै

२०७३ श्रावण २ गते

klcc 0001नवराज कुँवर – मलेसिया सरकारले विदेशी कामदारलाई नयाँ रोजगारी दिन बन्द गरेपछि त्यसले प्रत्यक्ष रुपमा नेपालको रेमिट्यान्समा असर गर्ने भएको छ । अहिलेसम्म त मलेसियामा रहेका नेपालीहरु नफर्किएकाले त्यसको असर त्यति धेरै देखिएको छैन । तर नयाँ रोजगारी दिन बन्द भएकाले केही समयपछि त्यसको ठूलो असर नेपाल भित्रिरहेको रेमिट्यान्समा देखिने निश्चित भएको हो । हाल मलेसियामा आठ लाख नेपाली कामदार रहेको बताइन्छ ।

मलेसियाले बंगलादेशसँग १५ लाख कामदारको लागि सम्झौता गरिसकेकाले नेपाली कोटा समेत खोसिएको छ । हाल नेपालमा भित्रिने कुल विप्रेषणको ३७ प्रतिशत बिप्रेषण मलेसियामा कार्यरत कामदारहरुबाट आउने गरेको छ । बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले अबको २÷३ महिनापछि मलेसियाबाट आइरहेको रेमिट्यान्स क्रमशः घट्दै जाने बताए । ‘मलेसिया सरकारले नयाँ एप्रुभल लिन बन्द गरिसकेको छ ।’ उनले बैंकिङ खबरसंग भने, ‘पुरानाहरु फर्किन थालेपछि क्रमश मलेसियाबाट आउने रेमिट्यान्स घट्दै जानेछ ।’

मलेसियामा विदेशी कामदारलाई तत्काल नयाँ रोजगारी नदिने भएपछि नेपालबाट रोजगारीका लागि मलेसिया जाने नयाँ नेपाली श्रमिक समेत प्रत्यक्ष प्रभावित भएका छन् । जसका कारण पनि विप्रेषण आयातमा ठूलो असर पर्ने देखिएको हो । नेपालमा सरकारले निः शुल्क टिकट र भिसामा मात्र कामदार पठाउन पाउने व्यवस्था गरेपछि मलेसियाका रोजगारदाता र एजेन्टले नेपाली कामदार लिन आनाकानी गरिरहेको बैदेशिक रोजगार व्यवसायीहरुले बताउँदै आएका छन् ।

नेपालले फ्रि भिसा फ्रि टिकेटको व्यवस्था गरेको केही महिनापछि मलेसियाका उपप्रधानमन्त्री अहमद जाहिद हमिदिले तत्कालका लागि कुनै पनि देशबाट नयाँ कामदार नलिने घोषणा गरेका थिए । ‘फ्रि भिसा र फ्रि टिकेटकै कारण मलेसियाले अप्रत्य रुपमा नेपाली कामदार लिन नमानेको हो ।’ ढकालले भने, ‘त्यतिबेला सरकारले गल्ती गर्यो तर सच्याउन ढिला भईरहेको छ ।’
 
केही दिनअघि मलेसियाका श्रममन्त्रीसंग भेटेका श्रममन्त्री दीपक बोहोराले अर्को चरणमा छलफल गरी समस्या सुल्झाउने सहमति भएको बताए । ‘मैले उहाँहरुसंग हाम्रो तर्फबाट कुराहरु राखेँ ।’ मन्त्री बोहोराले बैंकिङ खबरसंग भने, ‘उहाँहरु नेपालप्रति सकारात्मक पनि हुनुहुन्छ तर दुवै पक्षको आवश्यक गृहकार्यपछि अर्को चरणमा छलफल गरी टुंग्याउने सहमति भएको छ ।’ मन्त्री बोहोराले केही दिनमै मलेसियासंग अर्को चरणको छलफल हुने बताए । 

तर सरकार परिवर्तनको प्रक्रिया अघि बढेसंगै सो प्रभावित हुने देखिएको छ । कुल रेमिट्यान्सको ३७ प्रतिशत हिस्सा ओगटेको मलेसियामा नेपाली कोटा खोसिने सम्भावनासंगै नेपाली अर्थतन्त्रमा अर्को चुनौति थपिने देखिएको छ । ग्लोबल आइएमइ रेमिटका कार्यकारी अधिकृत सुमन पोखरेल भन्छन्, ‘यो गम्भिर समस्या हो यसलाई समाधान गर्न सरकाले विशेष पहल तत्कालै अघि बढाउनुपर्छ ।’

अझै पनि सरकारले कुट्नीतिक पहल अघि बढाउने र मलेसियासंग सहमति गर्ने हो भने केही सकारात्मक सम्भावनाहरु रहेको बताइन्छ । केही दिनअघिमात्रै अवैधानिक रुपमा बस्दै आएका आप्रवासी कामदारलाई वैधानिक बनाउने कार्यक्रम ल्याएको मलेसियाले काम गरिरहेका आप्रवासीलाई वैधानिक रुपमा रोजगारी दिन नयाँलाई रोजगारी बन्द गरेको बताएको छ । मलेसिया सरकारले अवैधानिक रुपमा रहेका आप्रवासी कामदारलाई फेब्रुअरी १५ बाट वैधानिक बन्न अवसर दिएको थियो ।